
पछिल्ला १५–२० वर्षमा नेपालको रिडिङ कल्चर उल्लेख्य रूपमा बढेको देखिन्छ । यसको प्रत्यक्ष संकेत प्रकाशन उद्योगमै देखिन्छ । पहिले नयाँ प्रकाशन गृह सुरु हुँदा एउटा किताबको प्रारम्भिक छपाइ एक हजारप्रति वरिपरि हुन्थ्यो भने अहिले ३०–३५ हजारसम्मको इनिसियल प्रिन्ट सम्भव भएको छ । यसले नेपाली किताबको बिक्री संख्या बढेको स्पष्ट संकेत गर्छ । यो परिवर्तन खासगरी २०६२÷६३ पछि देखिन थालेको हो ।
यसअघि नेपाली प्रकाशन क्षेत्र निकै सीमित थियो । केही स्थापित पुराना प्रकाशक मात्रै सक्रिय थिए, नयाँ प्रकाशन गृहहरू थिएनन् । त्यतिखेर पढ्ने संस्कृति पनि व्यापक थिएन । तर १९९० पछाडि नेपालको जनसंख्या बढ्दै गयो, साक्षरता दर पनि क्रमशः उक्लिँदै गयो । शिक्षामा पहुँच बढेसँगै मानिसहरू ज्ञानको खोजमा किताबतर्फ आकर्षित हुन थाले । यही सामाजिक परिवर्तनले नेपाली पुस्तक बजार विस्तार हुन मद्दत गर्यो ।
पछि सामाजिक सञ्जालको प्रवेशले किताब प्रवर्धनमा ठुलो भूमिका खेल्यो । एउटा यस्तो समय पनि आयो, किताब पढेर सामाजिक सञ्जालमा पोस्ट गर्नु, पुस्तक विमोचनमा जानु, लेखकसँग हस्ताक्षर लिएको फोटो राख्नु ‘ट्रेन्ड’ नै बन्यो । यसले किताबबारे चर्चा बढायो र बिक्रीमा समेत सकारात्मक असर पारेको देखियो । यही समयमा नयाँ लेखकहरू पनि उदाए, जसले पाठकको रुचिअनुसार किताब लेख्न थाले । पल्पसा क्याफे, सोच, कर्णाली ब्लुज, समर लभजस्ता पुस्तकहरूले नेपाली बजारमा नयाँ ऊर्जा भरे ।
तर कोरोना महामारीले यो गतिलाई एकाएक रोकिदियो । लामो समय प्रकाशन गृह बन्द भए । नयाँ किताब छाप्न आर्थिक संकट आयो । बजारमा किताब जानै सकेन । केही समय नेपाली पुस्तक बजार लगभग ठप्पजस्तै भयो । अहिले भने अर्थतन्त्र विस्तारै चलायमान हुँदै जाँदा पुस्तक बजार पनि क्रमशः उकासिँदै गएको देखिन्छ ।
कतिपयले अहिले नेपाली किताबको बिक्री घटेको गुनासो गर्छन् । तर समग्र पुस्तक बजार हेर्दा यस्तो देखिँदैन । नेपालमा नेपाली किताब मात्रै होइन, विदेशबाट छापिएका अंग्रेजी किताब पनि ठुलो संख्यामा बिक्री हुन्छन् । उदाहरणका लागि, पहिले एउटा अन्तर्राष्ट्रिय प्रकाशन संस्थाले नेपालका लागि वार्षिक २ करोडको कारोबार लक्ष्य राख्थ्यो भने अहिले त्यो ५ करोडसम्म पुगेको छ । यो त एउटा कम्पनीको मात्र तथ्यांक हो, यस्ता धेरै प्रकाशन गृह भारतलगायत देशबाट नेपालमा किताब पठाइरहेका छन् ।
अनलाइन माध्यमबाट किताब बिक्री गर्ने प्रवृत्ति पनि बढ्दो छ । संस्थागतभन्दा बढी व्यक्तिगत रूपमा भए पनि अनलाइन बुकस्टोरहरू सक्रिय छन् । बुक बर्थ, नेपाल मण्डला, किताब किरोजस्ता प्लेटफर्महरूले राम्रो बिक्री गरिरहेका छन् । यसले किताब पढ्ने संख्या घटेको होइन, माध्यम परिवर्तन भइरहेको संकेत गर्छ ।
तर नेपाली किताबको बिक्री केही घट्नुको कारण भने स्पष्ट देखिन्छ । पछिल्ला वर्षहरूमा अंग्रेजी शिक्षाको प्रभाव बढेको छ । मोबाइल, इन्टरनेट र डिजिटल सामग्रीको अत्यधिक प्रयोगले बाल्यकालदेखि नै अंग्रेजी सामग्रीको पहुँच बढाएको छ । परिणामतः एउटा पुस्ता यस्तो बन्दै छ, जसलाई नेपालीभन्दा अंग्रेजी पढ्न सजिलो लाग्छ । यसले नेपाली भाषामा लेखिएका किताबको बजार संकुचित बनाएको छ ।
यसबाहेक, नेपालमा पुस्तक बजारको ठोस तथ्यांक नै छैन । कुल पुस्तक बजार कति हो, नेपाली र विदेशी किताबको अनुपात कस्तो छ भन्नेबारे कुनै सरकारी वा प्राज्ञिक अध्ययन भएको छैन । यसो अनुमान गर्दा नेपाली साहित्यिक किताबको बजार १५–२० करोडको हाराहारीमा छ कि । पाठ्यपुस्तकको बजार भने निकै छ, जहाँ लाखौंप्रति बिक्री हुन्छन् ।
नेपालमा पूर्णकालीन लेखक भएर बाँच्नु अझै कठिन छ । केही अपवादबाहेक अधिकांश लेखकको लेखन आम्दानी सहायक मात्र हुन्छ । सुबिन भट्टराई, बुद्धिसागरजस्ता लेखक अपवाद हुन्, जो निरन्तर बेस्टसेलर लेखिरहेका छन् । पुरस्कारप्राप्त किताबहरूको दीर्घकालीन बिक्री राम्रो हुन्छ । विशेषगरी मदन पुरस्कार पाएका किताबहरू ‘सेफ च्वाइस’ मानिने भएकाले लामो समयसम्म बिक्रीमा रहन्छन् ।
नेपाली पुस्तक बजार सधैं राष्ट्रिय अर्थतन्त्रसँग गाँसिएको छ । नेपालमा बारम्बार राजनीतिक आन्दोलन, जनयुद्ध, नाकाबन्दी, भूकम्प, कोभिडजस्ता संकट आए । किताब अत्यावश्यक वस्तु नभएकाले संकटको बेला यसको बिक्री सबैभन्दा पहिले प्रभावित हुन्छ । कमजोर सार्वजनिक पुस्तकालय प्रणाली, विश्वविद्यालयमा पुस्तक खरिदका लागि न्यून बजेट, र राज्यको कमजोर दृष्टिकोणले पनि बजार विस्तारमा बाधा पुर्याएको छ ।
अब भविष्यतर्फ हेर्दा, नेपाली प्रकाशन उद्योगले प्रविधिसँग तालमेल गर्नैपर्छ । अडियो बुक, ई–बुक, अनलाइन प्लेटफर्म र अन्तर्राष्ट्रिय बजारतर्फ ध्यान दिनु आवश्यक छ । ठुलो नेपाली डायस्पोरा विश्वभर छ तर नेपाली किताब त्यहाँसम्म पर्याप्त पुग्न सकेको छैन । अमेजनजस्ता प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय पाठकसम्म पुग्ने सम्भावना ठुलो छ ।
समग्रमा, नेपाली पुस्तकको अर्थतन्त्र सानो भए पनि गतिशील छ । तथ्यांकको अभाव, कमजोर संरचना र आर्थिक चुनौतीबीच पनि यसले निरन्तर संघर्ष गरिरहेको छ । समयअनुसार माध्यम बदल्दै, नयाँ प्रविधि अंगाल्दै अघि बढ्न सके नेपाली पुस्तक उद्योगको भविष्य अझ सम्भावनायुक्त देखिन्छ ।
(फाइन प्रिन्टका प्रकाशक अजित बरालसँग कुराकानीमा आधारित ।)