
फागुन २१ मा हुँदै गरेको निर्वाचनमा उम्मेदवारको सूची हेर्दा, राजनीति अब सेवा र दृष्टिकोणभन्दा पनि लोकप्रियता र भाइरल हुने होडमा गएको देखिन्छ । राजनीतिक संस्कार नबुझ्ने मानिसहरुको भीड राजनीतिमा बढेको छ । त्यस्ता व्यक्तिसँग न त देश बनाउने मिसन देखिन्छ न त भिजन र उद्देश्य । सँगै, न नैतिकता र इमान्दारिता पनि देखिन्न । यहाँ त केवल सामाजिक सञ्जालमा भाइरल भएको भरमा सेलिब्रेटी बन्ने र फेसबुकमा लाइक र कमेन्ट धेरै देखिएको कारणले ‘म पनि चुनाव जित्ने रहेछु क्यारे’ भन्ने भ्रमले अहिले नेपालको राजनीति गाँजिएको छ ।
वास्तवमा आजको राजनीति अब केवल विचार र नीतिमा सीमित छैन । यो युग अब डिजिटल एल्गोरिद्मको हो, जहाँ मतदाताको सोच, भावना र निर्णय क्रमशः कम्प्युटर प्रणालीले विश्लेषण गरेर मानिसको दिमागमा गहिरो तरिकाले प्रभाव पारिरहेको हुन्छ । नेपालजस्ता विकासोन्मुख देशहरूमा डिजिटल एल्गोरिद्म निर्वाचनको सबैभन्दा शक्तिशाली तर देख्न नसकिने शक्तिका रूपमा अगाडि बढेको पाइन्छ ।
डिजिटल एल्गोरिद्म भनेको अहिलेको आधुनिक कम्प्युटर प्रणालीले प्रयोग गर्ने त्यस्ता सूत्र, नियम र गणनात्मक प्रक्रिया हुन्, जसले प्रयोगकर्ताको व्यवहार, रुचि, विचार र गतिविधिको विश्लेषण गरेर उनीहरूलाई लक्षित सामग्री देखाउँछ । फेसबुक, युट्युब, टिकटक, एक्स वा गुगल– यी सबै एल्गोरिद्ममै चल्छन् । साधारण अर्थमा भन्नुपर्दा तपाईं के गर्नुहुन्छ, के खानुहुन्छ, तपाईं कुन राजनीतिक दलसँग आवद्ध हुनुहुन्छ भन्ने कुरा धेरै हदसम्म एल्गोरिद्मले तय गरिदिन्छ ।
यसरी निर्वाचनमा डिजिटल एल्गोरिद्म कसरी प्रयोग हुन्छ भन्ने कुरा विशेषगरी तीन तहमा विभाजन गरिएको हुन्छ । पहिलो नम्बरमा प्रचार–प्रसार । अर्थात् गरिब, युवा, बेरोजगार, मध्यम वर्ग, विदेशमा रहेका नेपाली– यी सबैका लागि फरक–फरक सन्देश तयार पारिन्छ । मानौँ एउटै नेताको बानी–व्यवहारबारे हरेक प्रकारका मानिसलाई फरक–फरक ढंगबाट भिडियो सामग्री तयार पारेर देखाइन्छ । दोस्रो तरिका हो– भावनात्मक ध्रुवीकरण । यसमा एल्गोरिद्मले सबैभन्दा धेरै प्रतिक्रिया आउने सामग्रीलाई प्राथमिकता दिन्छ । जस्तै ः डर, घृणा, आक्रोश, राष्ट्रवाद, जातीय वा धार्मिक भावना आदिबारे उक्साउने खालको कन्टेन्ट सिर्जना गरिन्छ ।
तेस्रो तरिका हो– समाजमा भ्रम र अर्धसत्यको विस्तार हो । यसमा प्रायः गरिब देशहरूमा मिडिया साक्षरताको स्तर कमजोर हुन्छ । एल्गोरिद्मले तथ्य वा विषयगत गहिराइभन्दा पनि इन्गेजमेन्ट हेर्ने भएकाले झुट, अर्धसत्य र अफवाह सजिलैसँग हाम्रो जस्तो समाजमा फैलिन कुनै कठिनाइ हुँदैन ।
यस्ता कुराबाट गरिब देशहरू छिट्टै प्रभावित हुन्छन्, किनकि त्यहाँ कमजोर शिक्षा प्रणाली, न्यून डिजिटल साक्षरता, स्वतन्त्र रूपमा तथ्य जाँच गर्ने प्रणालीको अभाव र आर्थिक प्रलोभनका कारण मानिसको भावना तुरुन्तै परिवर्तन हुन्छ । यिनै कारणले आधुनिक प्रविधिसँगै डिजिटल एल्गोरिद्म लोकतन्त्रको सहयोगी मात्र नभई साधारण जनताको नियन्त्रण कवच पनि हो भन्ने कुरा बुझ्नुपर्दछ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि डिजिटल प्लेटफर्म नै मुख्य युद्धभूमि बनेको छ । घरदैलो कार्यक्रमभन्दा पनि फेसबुक र युट्युब अगाडि आइरहेका छन् । यसले पुराना र नयाँ दलबीच स्पष्ट भिन्नता देखाएको छ । पुराना दलहरूले लामो समय शासन गरेर जनतामा नैराश्यता बढाएको, भ्रष्टाचार बढी भएको, ऐस–आराम र सुविधा बढी लिएको भन्ने सत्य वा भ्रम समाजमा फैलिएको छ । त्यसकै कारण अहिले नयाँ दल र नयाँ नेताको नाममा कोही कलाकार, गायककार, चाटुकार, फेसबुके पत्रकार, युट्युबे गफाडी– जसलाई जे आउँछ त्यही सोच लिएर संसद भवन छिर्ने उद्देश्यसहित उम्मेदवारी दिएको देखिन्छ ।
पुराना दल र नेताहरू विवादमा परे पनि नयाँको भने स्पष्ट भिजन, मिसन, उद्देश्य र चुनावी एजेन्डा हुनुपर्ने हो । तर त्यो नभई नेताका लागि नेता बन्ने होडबाजी मात्रै देखिन्छ । कोही मिडिया सञ्चालन गरिरहँदा किसानको खेतबारीमा घाँस काट्न दौडिएका छन्, मानौँ राजनीति अभिनयको अर्को दृश्य हो । यसरी पुराना दलका नेताहरूको जनतामाझ प्रस्तुत हुने शैली नयाँको भन्दा केही फरक छ– जस्तै भाषण काटेर भिडियो बनाउने, विरोधीलाई गाली गर्ने, युवा पुस्तालाई बेवास्ता गर्ने, दलहरूबीच विश्वासको कमी हुनु आदि ।
नयाँ दलका नेताहरूको संगठन कमजोर भए पनि डिजिटल आक्रमण गरेर एल्गोरिद्मलाई हतियार बनाइएको देखिन्छ । त्यसअनुसार छोटो तर भावनात्मक, सर्वसाधारणले पत्याउने खालका भिडियो बनाउने, पुराना सबै खराब भन्ने भाष्य निर्माण गर्ने, युवालाई लक्षित गर्ने, लाइभ, भ्लग र स्टोरीमार्फत प्रत्यक्ष संवाद गर्दै निराश मतदातालाई आफूतिर आकर्षित गर्ने प्रवृत्ति बढेको छ । यो पनि डिजिटल एल्गोरिद्मकै कमाल हो ।
यसरी डिजिटल एल्गोरिद्मले बोल्न जान्ने र अभिनय गर्न सक्ने क्षमता त मापन गर्न सक्छ, तर नीति, राजनीतिक संस्कार, अनुभव, धैर्यता र राज्य सञ्चालनको ज्ञान मापन गर्न सक्दैन । त्यसैले नेपालको सन्दर्भमा एल्गोरिद्मको राजनीति चुनाव जित्ने खेलमा केन्द्रित छ ।
नेपालजस्तो देशमा डिजिटल एल्गोरिद्म प्रयोग भइरहँदा पत्रकार, नागरिक समाज र आम मिडियाको भूमिका निर्णायक हुन सक्छ । एल्गोरिद्मले नछानेको सत्य देखाउने, लोकप्रियभन्दा पनि आवश्यक प्रश्न उठाउने, नयाँ र पुराना दुवै दलको तथ्यमा आधारित मूल्यांकन गर्ने काम उनीहरूले गर्नुपर्छ । जेनजीको नाममा घाइते र मृत्यु भएकाका परिवार तड्पेर बस्नुपर्ने तर फाइदा अरूले लिने स्वार्थीपन बुझेर त्यसको पर्दाफास गर्नुपर्छ । विदेशी चलखेलको वास्तविकता औंल्याएर जनतालाई सचेत गराउनु आवश्यक छ ।
त्यस्तै, नागरिकले पनि कुनै समाचार पढ्नु अघि, शेयर, कमेन्ट वा लाइक गर्नु अघि विचार पु¥याउनुपर्छ भन्ने तथ्यबारे जानकारी र सचेतना फैलाउनुपर्छ । भावनामा बगेर अगाडि बढ्दा सर्वसाधारण व्यक्तिहरूको विश्वास गुम्न सक्छ । त्यसैले डिजिटल एल्गोरिद्मले देखाएको संसार मात्र वास्तविक संसार होइन भन्ने कुरा सबैले बुझ्ने प्रयास गर्नुपर्दछ ।
निष्कर्षमा भन्नुपर्दा, डिजिटल एल्गोरिद्म आफैंमा खराब होइन । तर गरिब देशमा नियमनको कमी, साक्षरताको अभाव, राजनीतिक चेतना नभएकाहरूले डिजिटल क्रेज प्रयोग गरी जनप्रतिनिधि बन्न खोज्नुजस्ता कारणले यो लोकतन्त्रको शत्रु पनि बन्न सक्छ । तसर्थ, आगामी फागुन २१ गतेको आम निर्वाचन एल्गोरिद्मले बनाएको भ्रम र नागरिकको विवेकले गरेको निर्णयबीच छनोट गर्ने दिन हो । सदैव बुझ्नुपर्ने कुरा के हो भने स्क्रिनले गरेको निर्णयले सत्ता त फेरिन्छ, तर देशको मुहार फेरिँदैन । किनकि जबसम्म नेपालको राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा विदेशीहरूद्वारा परिचालित विभिन्न संघ–संस्थाको बोलवाला रहन्छ र नेपालीहरू पनि मनि र मसलमा बिकिरहन्छन्, तबसम्म देशको उन्नति र प्रगतिका बाधक तत्व यिनै रहनेछन् ।