
२०६५ साल जेठ १५ गते नेपाल गणतान्त्रिक युगमा प्रवेश गरेको हो । यो शासन प्रणाली दुनियाँमा चलेका प्रणालीमध्ये उत्तम मानिन्छ । यो पद्धति कुनै पनि खाले सार रूपको राजतन्त्रात्मक व्यवस्था होइन । यो संसदीय बहुदलीय प्रजातान्त्रिक शासन प्रणालीभन्दा विकसित शासन व्यवस्था हो । लोकतान्त्रिक विधि, पद्धति तथा प्रक्रियाबाट प्रत्यक्ष वा परोक्ष रूपमा जनताका छोरा वा छोरीलाई जनताले नै छान्ने वा चुन्ने प्रणाली गणतन्त्र हो । कुल, घरान र जन्मका आधारमा देशको शासन व्यवस्थाको उच्च स्थानमा राजा महाराजा हुने प्रणाली यो होइन । जन्मजात राजा महाराजा, जर्नेल, कर्णेल हुने प्रणालीभित्र गणतन्त्र पर्दैन । जुनसुकै भाषिक, भूगोल तथा सांस्कृतिक समुदायको देश र जनताको सेवामा समर्पित योग्य तथा योग्यतम व्यक्तित्व देशको उच्चतम अभिभावक हुने पद्धति नै गणतन्त्रको सार र रूप सौन्दर्य हो ।
अंगे्रजीको रिपब्लिकको समानार्थी शब्द गणतन्त्रले राष्ट्रपति वा राष्ट्राध्यक्षको परिकल्पना गरेको छ । यस प्रणालीमा राष्ट्रपति संविधानको मातहत हुन्छ, संविधानमाथि हुँदैन । यस प्रणालीमा जनतामा निहित सार्वभौमसत्ता संविधानतः प्रयोग गर्ने मात्र अधिकार निहित हुन्छ । यस खालको सीमाबद्धता कुनै पनि खाले राजन्त्रात्मक शासन प्रणालीमा हुँदैन । त्यसैले पूर्र्णतया जनताको नियमन, नियन्त्रण र निगरानीमा रही देश र जनताकै सर्वोपरि हितमा समर्पित शासन प्रणाली लोकतान्त्रिक गणतन्त्र हो । यो कुनै धर्म, जातजाति, नश्ल, भूगोल, खास धर्म र सस्कृति संकीर्णताभन्दा माथि हुन्छ र हुनुपर्छ । सम्पूर्ण जनताका सांस्कृतिक भावनालाई ससम्मान समेट्ने उच्च र उन्नत चेतको समतामूलक संस्कृतिको धरोहर हो, गणतन्त्र । देशको मूल अभिभावक, संविधानको रक्षक र पालनकर्ताका रूपमा राष्ट्रपतिलाई नेपालमा लिइन्छ । नेपालजस्तो बहुजातीय, धार्मिक तथा सांस्कृतिक मुलुकमा संवैधानिक राष्ट्रपतिको प्रणालीले सिंगो देशलाई जैविक रूपमा सम्मिलन गराउन सक्छ । वेद, मुन्धुम, किराँत, बौद्ध, इस्लाम आदि धार्मिक र सांस्कृतिक समष्टिमा मात्र समग्र देश प्रतिबिम्बित हुन्छ । यस खालको सप्तरंगी इन्द्रणी सौन्दर्य गणतन्त्रको आत्मा र अन्तर्य हो । गणतन्त्र कुनै पनि खाले विषमता, विभेद, उँचनीच विरोधी, अहंकारी भावनाको शून्य सहनशीलता हो । यस प्रणालीलाई स्थापित, विकसित र समृद्ध पार्न तदनुकूलको संस्कार शैली जीवन आदर्शको अभाव राजनीतिक प्रमुख नेतृत्वमा खड्कियो । फेरिएको परिस्थितिअनुसार आफूलाई किञ्चित बदल्न नचाहने अधिकांश प्रमुख नेता आफैं राजा महाराजा बन्न उद्यत देखिए । तिनमा गैर गणतान्त्रिक— चेत हावी र प्रभावी भयो । पूर्वराजा ज्ञानेन्द्र शाहले हाँसीहाँसी सदियौंदेखिको शासन सत्ता÷राजदरबारबाट बहिर्गमन गरे । तर कांग्रेस–कम्युनिस्ट नेताहरू शासन सत्ता, शक्ति र सम्पत्तिका अति लुब्धा देखिए । यिनका कारण ती पार्टी जनसमक्ष कटुआलोचित भए । यस खालका चरम असन्तुष्टिको आगोमा खेलेर लुसिफरहरू देशलाई रसातलमा पुर्याउने ध्याउन्नमा देखिन्छन् । यस्तो नाजुक अवस्थामा एमालले जस्तो देशव्यापी सबल पार्टी यसका अध्यक्ष नै पार्टीमा अन्तर विग्रह र विखण्डन गर्न र गराउन उद्यत देखिन्छन् ।
कुनै पनि शासन सत्ता, प्रणाली र पद्धतिका आआफ्नै संस्कृति र संस्कारगत मान्यता हुन्छन् । त्यसका जगमा ती शासन प्रणाली स्थापित, विकसित तथा दीर्घजीवी बन्न सक्छन् । राजतन्त्रात्मक शासन प्रणाली रुढीग्रस्त धार्मिक सांस्कृतिक आधारमा बलशाली भएको हो । देश र जनताको आर्थिक भाौतिक विकास खासै नगरे पनि राजतन्त्रले सामन्तवादी धार्मिक सांस्कृतिक कुरूप पक्षबाट प्रभावित बनायो । यसमा सुमधुर स्वर, गीत, संगीत तथा व्याख्यानमार्फत सामन्तवादले आमजनतालाई लठ्ठ बनायो । यसरी परोक्ष रूपमा आफ्नै चरम शोषण शासन गर्ने राजा÷राजतन्त्र÷सामन्तवादी संस्कृतिका लागि आमजनता मार्न पिट्न उद्यत भएका हुन् । यसैले राजनीतिक रूपमा नेपाल गणतान्त्रिक युगमा प्रवेश गरे पनि सांस्कृतिक रूपमा राजा वा राजतन्त्रात्मक प्रवृत्ति अझै जिउँदो जाग्दो देखिन्छ ।
वैदिक सनातन÷हिन्दू धर्म सम्प्रदायले राजालाई भगवान्को अवतार मानेको हुँदा र यस खालको व्याख्यान हजार बार हुँदा जनमनमा राजा राजतन्त्र जब्बर बनेको हो । तर लोकतान्त्रिक चेतना अभिवृद्धि गर्न कुनै पाठ्यपुस्तक, पठन सामग्री र प्रवचन गर्नेबारे प्रमुख पार्टी उदासीन रहे ।
राजा राजतन्त्र सामन्तवादी प्रणालीमा राजा वा भावी राजालाई त्यस अनुकूलको व्यक्तित्व निर्माण र प्रवर्धन गर्न दरबारमै बौद्धिक, भौतिक नैतिक आचार र आचरणजस्ता विषयमा बाल्यवयदेखि नै सघन तालिम दिइन्छ तर राष्ट्रपति भएका व्यक्तित्वहरू तदनुकूलको बहुआयामिक उच्च अभिभावकीय आदर्श व्यक्तित्व निर्माणबारे बेखबरजस्तै देखिए । प्रमुख पार्टीका नेता र जनतामा राष्ट्रपतिबारे यदाकदा आवश्यक सम्मान नभएको दृश्य देखिन्छ । अझ प्रमुख पार्टीका एक अध्यक्षले राजा महाराजाका अगाडि राष्ट्रपति प्रभावहीन भन्नसम्म भ्याए । यो उनमा निहित सामन्तवादी कुरूप सांस्कृतिक अवशेषको परिणाम हो । जननेता मदन भण्डारीले राम्रो काम पनि राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भनेझै राम्रोलाई राम्रै तरिकाले प्रस्तुत गर्न जान्नुपर्छ ।
संविधानतः नीति, विधि र पद्धतिका रूपमा नेपालमा गणतन्त्र स्थापित गरियो । तुलनात्मक रूपमा राजतन्त्र कालमा भन्दा आर्थिक भौतिक उपलब्धि देशमा भए । मात्रात्मक रूपमा विकास निर्माणका काम भए पनि गुणात्मक रूपान्तरणको काम भने पटक्कै भएनन् । मदनले मुलुकको धार्मिक, सांस्कृतिक नैतिक रूपान्तरणलाई आर्थिक भौतिक विकास सँगसँगै लैजानुपर्छ भन्ने कुरालाई बेवास्ता गरियो । यसले गर्दा लोकतान्त्रिक संस्कृतिको अभाव भएका नेतृत्वले आफैंले गणतान्त्रिक उन्नत सांस्कृतिक चेत ग्रहण गरेनन् । प्रथम महिला राष्ट्रपति विद्या भण्डारी अखिल नेपाल महिला संघको अध्यक्ष हुँदा उनकै प्रस्तावमा राजकीय र राजनीतिक क्षेत्रमा महिलालाई ३३ प्रतिशत आरक्षणको प्रक्रिया अघि बढेको थियो । जुन अहिले संवैधानिक हक बनेको छ । तीलगायत पछि परेका र पारिएका सीमान्तकृत समुदायको राजकीय निकायमा प्रतिनिधित्व गर्ने व्यवस्था संविधानतः भयो । तर तिनको बौद्धिक वैचारिक तथा सिर्जनात्मक उत्थान र विकास गर्नेबारे सतही सोच विद्यमान छ । त्यसैले मात्रात्मक रूपमा नेपालमा गणतन्त्र स्थापित भयो । यसलाई आर्थिक भौतिक विकाससँगै जोडेर सांस्कृतिक दृष्टिले सबल सक्षम तथा सुदृढ बनाउने कुरामा विशेष ध्यान दिनुपथ्र्यो । तर सामन्तवादी संस्कार र संस्कृति ग्रसित प्रमुख पार्टीका प्रमुख नेतृत्वका कारण नव स्थापित लोकतान्त्रिक गणतन्त्र धरापमा देखिन्छ ।