
गत मंसिर ३ गते नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रुँदै गरेको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यसबेला एमालेको ११औं महाधिवेशन चलिरहेको थियो । अध्यक्ष केपी शर्मा ओली पक्षधरले महासचिव पदका लागि उम्मेदवार नबनाएपछि ज्ञवाली असन्तुष्ट थिए । उक्त पृष्ठभूमिमा ज्ञवाली भृकुटीमण्डपस्थित महाधिवेशनस्थलबाट बाहिरिँदा मलिन देखिन्थे । त्यसलाई कृत्रिम बौद्धिकता (एआइ)को प्रयोग गरेर कसैले ज्ञवाली रुँदै गरेको भिडियो बनायो । जुन भिडियो फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा रातरात भाइरल बन्यो । कैयन सञ्चारमाध्यमले त्यसलाई पत्याए र समाचार बनाए । तर वास्ताविकता फरक थियो । ज्ञवाली मलिन देखिएका मात्र थिए, रोएकै भने थिएनन् ।
यो सूचना प्रविधिले पत्रकारितामा थपेको एउटा चुनौती हो । सँगै यसले देखाउँछ– पत्रकारिताको आत्मालाई सूचना प्रविधिले पुनः परिभाषित गरिदिएको छ । विगतमा पत्रकारिताको मुख्य चुनौती ‘सूचना कहाँ छ ?’ भन्ने हुन्थ्यो । स्रोत खोज्न दौडिनुपथ्र्याे, दुर्गम ठाउँ पुग्नुपथ्र्याे । सरकारी कार्यालय धाउने, प्रत्यक्षदर्शी भेट्ने र प्रमाण जुटाउनुलाई पत्रकारको दैनिकी मानिन्थ्यो । अहिले चुनौती उल्टिएको छ, सूचना प्रशस्त छ तर कुन सूचना सत्य हो, कुन भ्रम हो भनेर छुट्याउनुपर्छ । अझ कुन सूचना मानव निर्मित हो र कुन एआइले बनाएको हो भन्ने छुट्याउनु पत्रकारिताको सबैभन्दा कठिन काम बनेको छ ।
विशेषगरी एआइको विकाससँगै ‘डिपफेक भिडियो’, ‘एआइ–जनरेटेड फोटो’, स्वचालित लेखन, र एल्गोरिदम–आधारित सूचना प्रवाहले पत्रकारितालाई गम्भीर परीक्षणमा राखेको छ । पहिले पत्रकारलाई सूचना पाउनु नै ठुलो उपलब्धि हुन्थ्यो । अहिले सूचना पाउनु सजिलो छ तर त्यसको सत्यता पुष्टि गर्नु जटिल, समयसापेक्ष र प्राविधिक बनेको छ । यही परिवर्तन डिजिटल पत्रकारिताको सबैभन्दा ठुलो रूपान्तरण हो ।
अढाइ दशक अगाडि अहिलेको अवस्थाको कल्पना नै थिएन । त्यसबेलाको पत्रकारिता मान्छे केन्द्रित, फिल्ड केन्द्रित थियो । पत्रकार ‘सूचना कहाँ छ ?’ भन्नेमा घोत्लिन्थे । संसद्का बैठक अहिलेको जस्तो लाइभ हुँदैनथ्यो । संसद् भवनको प्रेस ग्यालरीमा बसेर नोट लिने, बाहिर आएर सांसदसँग प्रतिक्रिया लिने र संसद सचिवालयबाट कागजपत्र माग्ने हुन्थ्यो । अहिले संसद्को बैठक लाइभ नै हुन्छ । अढाइ दशक अगाडिको पत्रकारिता बुझ्न त्यसबेलाको तत्कालीन माओवादी सशस्त्र युद्धको पत्रकारिता नियाल्दा पनि थाहा हुन्छ । माओवादी युद्ध २०५२ सालदेखि १० वर्षसम्म चल्यो । त्यसबेला पत्रकारहरू गाउँगाउँ पुग्थे, माओवादी नियन्त्रित क्षेत्र पार गरेर जान्थे, सुरक्षाकर्मी र विद्रोही दुवैसँग जोखिममा कुरा गर्थे । लामो समय लगाएर त्यसलाई समाचार बनाएर पाठकसमक्ष पुर्याउँथे । युद्धका अलावा प्राकृतिक विपत्ति, आन्दोलन वा भ्रष्टाचारका विषयमा रिपोर्टिङ गर्नसमेत जानकारी जुटाउन कठिन हुन्थ्यो । फोन र इन्टरनेट सीमित थियो, सामाजिक सञ्जाल व्यापक थिएन । एउटा भिडियो वा फोटो प्राप्त गर्न पनि धेरै मेहनत गर्नुपथ्र्यो । यदि कुनै भिडियो हात पर्यो भने सामान्यतया त्यसलाई विश्वासयोग्य मानिन्थ्यो ।
तर आज परिस्थिति उल्टिएको छ । अहिले कुनै घटना हुनासाथ भिडियो र फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आउँछन् । ह्वाट्सएप, फेसबुक, टिकटक, एक्स र युट्युबबाट सूचना थुप्रिन्छ । अहिले समस्या सूचना नपाउनु होइन, पाएको सूचना सही हो वा होइन भनेर छुट्याउन सक्नुपर्नेहुन्छ । यसले पत्रकारलाई नयाँ किसिमको दबाब सिर्जना गरेको छ कि छिटो समाचार दिनुपर्ने प्रतिस्पर्धा एकातिर छ भने अर्कोतिर तथ्य जाँच गर्न जान्नुपर्छ ।
अहिले सूचना संकलन गर्ने पुरानो शैलीले मात्रै पत्रकार दक्ष हुँदैन । एआई जनरेटेड सामग्री हुन वा होइनन् भनेर छुट्याउन सक्ने प्रावधिक ज्ञान चाहिन्छ । अन्यथा, पत्रकार आफैंमा अपूर्ण हुन्छन् । किनभने, एआइले यति यथार्थपरक भिडियो र फोटो बनाउन सक्छ कि विशेषज्ञलाई समेत झुक्याउन सक्छ ।
उदाहरणका लागि, सन् २०२३ मा सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति जो बाइडेन ‘सैनिक पोसाकमा युक्रेन पुगेको’ जस्तो देखिने भिडियो भाइरल भयो । धेरैले पत्याए, तर पछि त्यो एआइ जनरेटेड डिपफेक भएको पुष्टि भयो ।
नेपालमै पनि यस्ता कैयन उदाहरण छन् । कुनै नेता बोलेको जस्तो देखिने भिडियो, चर्चित कलाकारले विवादास्पद कुरा गरेको जस्तो देखिने क्लिप वा कुनै आन्दोलनको दृश्यलाई तोडमोड गरेर प्रस्तुत गरिएको फुटेज सामाजिक सञ्जालमा छरिन्छ । पत्रकारले यदि बिनाजाँच त्यसलाई समाचार बनायो भने गलत सूचना फैलिन्छ, व्यक्तिको चरित्रमा धक्का लाग्छ र सञ्चारमाध्यमको विश्वसनीयता कमजोर हुन्छ । यसकारण पनि पत्रकारको एउटा प्रमुख काम फ्याक्ट चेकिङ हुन पुगेको छ ।
पहिले पत्रकारितामा फ्याक्ट चेकिङ महत्वपूर्ण भए पनि अहिलेजस्तो अनिवार्य थिएन । पहिले धेरैजसो सूचना आधिकारिक स्रोतबाट आउँथ्यो । सरकारी विज्ञप्ति, प्रहरी रिपोर्ट, अदालतको निर्णय, प्रत्यक्षदर्शी बयान सूचनाका स्रोत थिए । तर अहिले धेरै सूचना अनौपचारिक प्लेटफर्मबाट आउँछ । पहिले सूचना लिने क्षमता महत्वपूर्ण थियो । अहिले पत्रकारले प्राप्त भिडियोको मेटाडेटा जाँच्न जान्नुपर्छ, फोटो कहिले र कहाँ खिचिएको हो भन्ने थाहा पाउन सक्नुपर्छ, रिभर्स इमेज सर्च गरेर स्रोत पत्ता लगाउन सक्नुपर्छ । कहिलेकाहीँ डिजिटल फोरेन्सिक विशेषज्ञसँग परामर्श गर्नुपर्ने अवस्था आउँछ ।
उदाहरणका लागि २०७८ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गर्दा सामाजिक सञ्जालमा दर्जनौं भिडियो फैलिए । तीमध्ये धेरै पुराना थिए तर नयाँ घटनाजस्तै प्रस्तुत गरिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ती भिडियोहरूलाई प्रयोग गर्नुअगाडि एक–एक गरेर तथ्य जाँच्नुपर्यो । स्थान, समय, भवन, झन्डा, सडक चिन्हजस्ता विवरण मिलाएर मात्रै समाचार बनाउनुपर्ने बाध्यता थियो ।
पहिले प्रमुख सञ्चारमाध्यम रेडियो र टेलिभिजन थिए । अहिले प्रतिस्पर्धा अनलाइन सञ्चारमाध्यमबीच छ । सामाजिक सञ्जालको दबाबले पत्रकारलाई छिटो समाचार दिन बाध्य बनाएको छ । तर जति छिटो समाचार दिनुपर्छ, उति नै गल्ती हुने सम्भावना बढ्छ । उस्तैगरी तथ्य जाँचमा पनि तीव्रता चाहिन्छ । यदि एउटा पत्रकारले ढिलो गरेर तथ्य जाँच गर्ने अवस्था रह्यो भने अर्को पत्रकारले ब्रेक गरिसक्छ । यसकारण पत्रकार अब नैतिक र व्यावसायिक भएर मात्रै पुग्दैन, तथ्य जाँचको ज्ञानमा उत्तिकै अब्बल हुनु आवश्यक छ । पहिले राम्रो लेख्न, प्रश्न गर्न र स्रोतसँग सम्बन्ध बनाउन जान्ने सफल पत्रकार मानिन्थे । अहिले यी सिपसँगै नयाँ डिजिटल दक्षता अनिवार्य चाहिन्छ ।
सूचना प्रविधिको विकासले पत्रकारितालाई चुनौती मात्रै दिएको छैन, अवसर पनि दिएको छ । सही तरिकाले प्रयोग गर्दा सूचना प्रविधिको विकास शक्तिशाली सहयोगी माध्यम हो । ठुलो डेटासेट विश्लेषण गर्न, ट्रान्सक्रिप्सन गर्न, पुराना अभिलेख खोज्न र अनुसन्धानात्मक पत्रकारितामा गर्न एआइजस्ता टुल्स उपयोगी छन् ।