
नेपालको जनसंख्या, मतदाता वितरण र बसाइँसराइ हालको निर्वाचन प्रणाली तथा विकासका लागि अत्यन्त महत्वपूर्ण विषय हो । २०७८ सालको जनगणनाले नेपालको करिब ६८ लाख घरधुरी रहेको देखाएको छ । यसमध्ये करिब ५ लाख घरधुरी खाली छन् अर्थात् त्यहाँ कुनै मानिस बस्दैनन् तर त्यहाँ मतदाता नामावली अझै कायम छ । यसले मतदाता नामावली सधैं वास्तविक बसाइसँग मेल खाँदैन भन्ने देखाउँछ । उदाहरणका लागि, पूर्वीरुकुमका मान्छे अस्थायी रूपमा काठमाडौं बस्छन् तर मतदाता नामावली रुकुममै रहन्छ । यस्तो अवस्थामा, उनीहरूले मतदान गर्न कहाँ जाने भन्ने प्रश्न उठ्छ ।
मतदाता तीन प्रकारका छन् । पहिलो, आफ्नो नामावलीअनुसार स्थानीय मतदाता । दोस्रो, देशभित्र आफ्नै निर्वाचन क्षेत्रभन्दा बाहिर बसाइँसराइ गरेका मतदाता । तेस्रो, विदेशमा रहेका मतदाता । अध्ययनअनुसार करिब २२ लाख नेपाली जनगणनाको बेलामा घरमा थिएनन् । करिब ४० लाख नेपाली विदेशमा छन् भनिन्छ । यसले मतदान योग्य युवाहरू ठुलो संख्यामा देशबाहिर छन् ।
यदि हामीले तीन प्रकारका मतदातालाई हेर्ने हो भने, पहिलो आफ्नो निर्वाचन क्षेत्रमा मतदाता । दोस्रो देशभित्र अन्यत्र बस्ने मतदाता । तेस्रो विदेशमा रहेका मतदाता । यीमध्ये युवा मतदाता निर्णायक देखिन्छन् । अहिले उपलब्ध तथ्यांकअनुसार सबैभन्दा बढी युवा जनसंख्या कर्णाली प्रदेशमा छ । यहाँ करिब ३९ प्रतिशत जनसंख्या १३ देखि १८ वर्ष उमेर समूहको छ । लुम्बिनी प्रदेशमा ३५ प्रतिशत, मधेश प्रदेशमा ३५ प्रतिशत, कोशी प्रदेशमा ३१ प्रतिशत, बागमती प्रदेशमा ३० प्रतिशत र गण्डकी प्रदेश ३१ प्रतिशत युवा जनसंख्या रहेका छन् ।
बसाइँसराइ र सहरीकरणको प्रभाव मतदाता वितरणमा पनि देखिन्छ । धेरै मतदाता आफ्नो मूल निर्वाचन क्षेत्रभन्दा बाहिर बस्छन् । उदाहरणका लागि, सहरमा कामका लागि आउने वा परिवारलाई साथ ल्याउने मान्छेहरूको संख्या ठुलो छ । यसले मतदाता व्यवहारमा महत्वपूर्ण प्रभाव पार्छ । विशेष गरी काठमाडौंमा स्विङ मतदाता धेरै छन् । यी मतदाताले आफ्नो मूल निर्वाचन क्षेत्रमा अंगालेको दल र विचार छोडेर नयाँ क्षेत्रमा बस्दा नयाँ नेतृत्व खोज्ने सम्भावना बढी हुन्छ ।
अहिले नेपालको युवा जनसंख्या धेरै छ । १६ देखि ४० वर्षको उमेर समूहलाई युवा मानिन्छ, जसको आकार करिब ३७ प्रतिशत छ । १८ देखि ३५ वर्षको जनसंख्या ३८ प्रतिशत छ । सक्रिय उमेर समूह (१५–६४ वर्ष) करिब ६५ प्रतिशत छ । आश्रित अनुपात ५३ प्रतिशत छ, अर्थात् काम गर्ने १०० मान्छेले ५३ जनालाई पाल्नुपर्छ । जन्मदर घटेको कारण बालबालिकाको आश्रित अनुपात पनि कम भएको छ । नेपाल अझै बुढ्यौलीको चरणमा प्रवेश गरेको छैन तर औसत उमेर बढ्दै छ ।
नेपालीको औसत उमेर अहिले २६ वर्ष छ । १० वर्षअघि यो २१ वर्ष थियो । अर्को दशकमा औसत उमेर ३३ वर्ष पुग्ने अनुमान छ । यसले नेपाल बुढ्यौलीतर्फ उन्मुख देखाउँछ । तर देशले अहिले नै आफ्नो जनसंख्या लाभांश प्रयोग गर्न सक्छ । जनसंख्या लाभांश भनेको युवाको बाहुल्यताको समयमा देशले आर्थिक र सामाजिक विकासका लागि अवसर पाउने अवस्था हो । यो अवसर एकपटक मात्र आउँछ र त्यसपछि जनसंख्या संरचना फेरबदल भई बुढ्यौलीको समय आउँछ ।
विदेशमा रहेका युवाले रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई सहयोग गरिरहेका छन् । तर यो अस्थायी समाधान हो । यदि विदेशी रोजगारी बन्द भयो भने देशमा युवाहरूको रोजगारीको ठुलो चुनौती उत्पन्न हुनेछ । बेरोजगारी बढेमा असन्तुष्टि, आन्दोलन र सामाजिक समस्याको सम्भावना बढ्छ । त्यसैले युवाको क्षमता र ऊर्जाको बेलैमा सदुपयोग गर्नु आवश्यक छ ।
नेपालको जनसंख्या हाल घट्दो अवस्थामा छ । २०६८ देखि २०७८ दशकमा जनसंख्या २६ लाखले मात्र बढ्यो, अघिल्लो दशकमा ३३ लाखले बढेको थियो । वृद्धिदर घटेको कारण स्पष्ट छैन । तर वैदेशिक रोजगारी र ढिलो विवाहलाई मुख्य कारण मानिएको छ । २०५८ सालसम्म नेपालको जनसंख्या द्रुत वृद्धि भएको थियो, करिब २ दशमलव २ प्रतिशत वार्षिक वृद्धि दरले । तर २०६८ सालको जनगणनाअनुसार जनसंख्या वृद्धिदर १ दशमलव ३ प्रतिशतमा झर्यो । २०७८ सालको जनगणनाअनुसार यो अझ घटेर ०.९३ प्रतिशत पुगेको छ । प्रतिमहिला प्रजनन् दर १ दशमलव ९ रहेको छ । यसरी जनसंख्या वृद्धि दर घट्नु नेपालको लागि नयाँ चुनौती बनेको छ ।
नेपालको औसत ज्येष्ठ नागरिकको प्रतिशत बढ्दै छ । २०६८ सालमा ६० वर्षभन्दा माथिको जनसंख्या करिब ६ प्रतिशत थियो । १० वर्षपछि यो लगभग १० प्रतिशत पुग्ने देखिन्छ । यसको अर्थ, समाजमा वृद्ध मानिसहरूको संख्या बढ्दै जानेछ । यसले सामाजिक सुरक्षा, स्वास्थ्य र अन्य पूर्वाधारमा दबाब थपिनेछ । यसले नेपाली जनसंख्या वृद्धिदर घट्दै गएको देखाउँछ । वृद्धिदर घट्दा श्रम शक्ति पनि घट्नेछ र त्यसको सोझो असर आर्थिक उत्पादनमा पर्नेछ । बसाइँसराइ र वैदेशिक रोजगारीले गाउँ र पहाडका क्षेत्र खाली हुँदै गएका छन् । पहाडबाट मानिस तराई वा सहरमा बस्न थालेका छन् । पहिलो चरणमा, वैदेशिक रोजगारीमा गएको युवा सहर वा तराईमा फर्कन्छ । दोस्रो चरणमा, परिवारका अन्य सदस्य पनि सहरतिर बसाइ सर्दै जान्छन् । यसले गाउँहरू उजाड बनाइरहेको छ ।
यति हुँदाहुँदै पनि यो समय जनसंख्या लाभांशको अवसर हो । यदि अहिलेको युवा जनसंख्यालाई शिक्षा, रोजगारी र उत्पादनशील क्षेत्रमा लगाउन सकियो भने देशले समृद्धिको पाइला छिटो सार्न सक्छ । सँगसँगै समयको माग अनुसारको नीति निर्णयमा ढिला भयो भने भविष्यमा वृद्ध जनसंख्या र बेरोजगारीको चुनौतीको सामना गर्नुपर्नेछ । नेपालको वर्तमान अवस्थाले युवा बाहुल्यताको हो । यसले निर्वाचन र आर्थिक प्रणालीमै निर्णायक भूमिका खेल्छ । यदि हामीले वर्तमान अवसरको सदुपयोग गर्यौं भने देश छिटो समृद्धितर्फ अघि बढ्न सक्छ ।
(अधिकारी पत्रकार एवं जनसंख्याविद् हुन् ।)