
परदेशमा बस्दा शरीर दिनदिनै थाक्दै जान्छ, तर मन कहिल्यै थाक्दैन– किनकि मन सधैँ नेपालमै अड्किएको हुन्छ । साँझ काम सकेर फलामको खाटमा थचक्क बस्दा, पसिनाले भिजेको शरीरभन्दा मन झन् भारी हुन्छ । आँखाअगाडि घुमिरहन्छन्– घरको आँगन, आमाको अनुहार, श्रीमतीको मौन प्रतीक्षा, छोराछोरीको बढ्दो उमेर । एउटा नसुल्झिने प्रश्नः यो पीडा कहिलेसम्म ?
परदेशीको जीवन घडीको सुईसँग होइन, सम्झनासँग दौडिन्छ । दिनभर फलाम बोकेर, मेसिनसँग लडेर साँझ मोबाइल खोलेपछि देशका समाचारले मन झन् भारी बनाइदिन्छ । विकासका सपना होइन, पीडाका खबरहरू देखिन्छन् । आशा होइन, निराशा बढ्छ ।
गत भदौ २३÷२४ को त्यो कालो दिन अझै पनि स्मृतिबाट मेटिएको छैन । जहाँ ७० भन्दा बढी निर्दोष बालबालिकाको ज्यान गयो । त्यो घटना केवल एउटा दुर्घटना वा समाचार मात्र थिएन; त्यो दिनले राज्यप्रतिको विश्वास नै भत्काइदियो । शासनप्रणाली, सुरक्षा व्यवस्था र राजनीतिक नेतृत्वप्रति जनताको भरोसा चकनाचुर भयो । परदेशमा रहेका हामी नेपालीका लागि त्यो पीडा झनै असह्य बन्यो ।
किनकि हामी न त सडकमा उत्रन सक्छौँ, न खुला रूपमा प्रतिरोध गर्न सक्छौँ, न त पीडित परिवारको आँखा हेरेर सान्त्वना दिन सक्छौँ । हामीसँग बाँकी रहन्छ केवल मौनता, आँसु र आत्मग्लानी– देश यस्तो अवस्थामा हुँदा म किन यति टाढा छु ?
हामीले सधैँ विश्वास गरेका थियौँ– देशको भविष्य हाम्रो मतले बदलिन्छ । तर दशकौँ बित्दा पनि परिणाम उस्तै रह्यो । उही दल, उही अनुहार, उही प्रवृत्ति । राजनीति जनताको सेवाभन्दा टाढा गएर सत्ताको गणितमा सीमित हुँदै गयो ।
नीतिभन्दा नाफा, आदर्शभन्दा स्वार्थ र जनताको पीडाभन्दा सत्ता सुरक्षित गर्ने खेल हाबी बन्यो । आन्दोलन भए, नाराहरू लागे, परिवर्तनका भाषण गरिए । तर अन्ततः मूल्य तिर्नुपर्यो निर्दोष नागरिकले– त्यसमाथि पनि बालबालिकाले ।
राजनीतिक असफलताको सबैभन्दा क्रूर मूल्य सधैं कमजोर वर्गले तिर्नुपरेको छ । यदि म ती बालबालिकाका अभिभावक हुन्थेँ भने– के मेरो मन कहिल्यै शान्त हुन्थ्यो ? तर त्यो पीडा केवल उनीहरूको परिवारको मात्र होइन । आज देशप्रतिको भरोसा नै चिराचिरा भएको छ । हामी सबै पीडित हौँ– कोही प्रत्यक्ष, कोही मौन रूपमा ।
यही निराशाको अँध्यारोबीच एउटा सानो आशाको झिल्को देखिन्छ– ती हुन् बालेन शाह । बालेन शाह कुनै चमत्कारी अवतार होइनन् । न त उनी सबै समस्याको एकल समाधान हुन् । तर उनी एउटा संकेत हुन्– राजनीति फरक ढंगले पनि गर्न सकिन्छ भन्ने संकेत । काठमाडौं महानगरपालिकामा उनले देखाएको नेतृत्व शैलीले धेरै भ्रम तोडिदिएको छ ।
कानुन कार्यान्वयनमा कठोरता, भ्रष्टाचारप्रति शून्य सहनशीलता र जनताप्रति प्रत्यक्ष जवाफदेहिता– यी सबै कुरा नेपाली राजनीतिमा दुर्लभ मानिन्थे । उनको कामले एउटा कुरा प्रमाणित गर्यो– नेतृत्व इमानदार भयो भने प्रणाली पनि चल्न थाल्छ । परिवर्तनका लागि सधैं संविधान बदल्नुपर्छ भन्ने होइन, सोच बदलिनुपर्छ ।
विश्व इतिहासले पनि यही सिकाउँछ । न्युजिल्यान्डकी ज्यासिन्डा आर्डर्नले संकटको बेला मानवीय र इमानदार निर्णय गरिन् । फ्रान्सका इमानुएल म्याक्रोंले पुरानो राजनीतिक संरचनालाई चुनौती दिँदै नयाँ राजनीतिक धारा निर्माण गरे । एल साल्भाडोरका नायिब बुकेले जोखिम मोलेर भ्रष्टाचार र अपराधविरुद्ध कठोर कदम चाल्दा आलोचना पनि पाए, तर परिणाम पनि देखाए । यी सबै नेताहरूमा एउटा साझा गुण थियो– जनताको विश्वास जित्ने साहस । बालेन शाह पनि त्यही सम्भावनाको प्रतिनिधि हुन् ।
यदि उनी भोलि प्रधानमन्त्री बने भने, एकै रातमा देश स्वर्ग बन्छ भन्ने भ्रम कसैलाई छैन । तर यति चाहिँ अपेक्षा गर्न सकिन्छ– भ्रष्टाचारसँग सम्झौता गर्ने संस्कार कमजोर हुनेछ, कानुन उल्लंघन गर्नेहरूलाई राजनीतिक संरक्षण घट्नेछ, नीति र कार्यबीचको खाडल साँघुरिनेछ र युवाले देशमै भविष्य खोज्ने साहस गर्न थाल्नेछन् ।
परदेशमा रहेका हामी नेपालीका लागि सबैभन्दा ठूलो प्रश्न यही हो– के देश फर्केर इमानदारीपूर्वक काम गर्न सकिन्छ ?
हामी केवल रेमिट्यान्स पठाउने मेसिन होइनौँ । हामी देशको अर्थतन्त्र धान्ने अदृश्य खम्बा हौँ । डोरीको भरमा ५० औँ तलको झ्याल पुछ्ने परदेशीले देश रोएर बसेको आँसु पुछ्न सकेको छैन । आमाको चोलो फेर्न सकेको छैन । छोराछोरीको जन्मदिन भिडियो कलमै मनाउन बाध्य छ । नेताको वरिपरि बसेर सत्ता भोग्नेहरूलाई परदेशीको वास्तविक पीडा के थाहा ?
उमेरले नेटो काटिसक्दा पनि रहरले होइन, बाध्यताले अरबको घाममा फलाम उचाल्नु परेको छ । एकातिर छोराछोरीको भविष्यको चिन्ता, अर्कोतिर देशको अर्थतन्त्र धान्ने जिम्मेवारी– दुवै बोझ एउटै काँधमा छ । आज छोरा फर्कने आशामा आमा बाटो हेरेर बसेकी छिन् । श्रीमान फर्कने आशामा श्रीमती दिन गन्दैछिन् । यति पीडा जीवनमा कस्को हुन्छ ?
पुराना दलहरूले परदेशीका पीडालाई कहिल्यै गम्भीर रूपमा बुझेका छैनन् । उनीहरू सत्ता, स्वार्थ र सौदाबाजीमै सीमित रहे । यदि फेरि पनि हामी मौन बस्यौँ भने, ती शहीद बालबालिकाको आत्माले हामीलाई माफ गर्ने छैन । अब जिम्मेवारी हामी सबैमाथि छ । बालेन शाह कुनै पार्टीको नाम मात्र होइनन्– उनी नयाँ सम्भावनाको प्रतिनिधि विचार हुन् । युवा नेतृत्व, इमानदारी, स्पष्ट नीति र जनताको पक्षमा उभिन सक्ने साहसको प्रतीक ।
अब समय आएको छ– विगत सम्झेर रोइरहने होइन, गल्ती स्वीकारेर सुधारतर्फ लाग्ने । बुझेका, जिम्मेवार र परिणाम दिन सक्ने व्यक्तिलाई एक पटक मौका दिने ।
अन्तिम प्रश्न अझै हामीमाथि नै छ– के हामी फेरि पुरानै गल्ती दोहोर्याउने ? कि भविष्यलाई एक पटक नयाँ हातमा सुम्पने साहस गर्ने ?
(भानु नगरपालिकाका स्थायी बासिन्दा क्षेत्री हाल युएईमा कार्यरत छन् ।)