२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

नारामा सीमित शहीद दिवस

shivam cement
विश्वनाथ खरेल
२०८२ माघ १६ गते ०६:०५
Shares
नारामा सीमित शहीद दिवस

विश्वका हरेक राष्ट्रले आफ्ना वीर सपूत तथा शहीदहरूलाई उच्च कोटिमा राखी मूल्यांकन गर्दछन् । जसले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा जीवन समाप्त गर्छ, त्यस्तो व्यक्तिलाई नै शहीद भनिन्छ । यस अर्थमा भन्ने हो भने थोरै बाँचेर पनि आफ्नो अदम्य जोश, जाँगर, सौर्य, वीरता, रगत र पसिनाले मातृभूमिको सेवा गर्दै शहादत प्राप्त गर्ने व्यक्तिहरू नै शहीद हुन् । उनीहरू युगयुगान्तसम्म बाँचिरहन्छन् । नेपालको इतिहासलाई कोट्याउँदा बलभद्र कुँवर, भक्ति थापा, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री आदिलाई सम्मानपूर्वक शहीदको रुपमा हेर्न सक्छौं । 

हाम्रो देशमा पनि यस्ता वीर शहीदहरू हजारौँको संख्यामा छन् । उनीहरूले नेपाली जनता र नेपाल आमाको खुसीका लागि आफ्नै खुसी त्यागेर जीवन अर्पण गरेका छन् । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रप्रेमीहरूका लागि अत्यन्त महत्वपूर्ण दिवस हो । तर उक्त दिवसको अवसरमा ‘शहीदको बलिदानबाट प्रजातन्त्रको पुनःस्थापना भयो’ भनेर मात्र फलाक्दैमा शहीदहरूप्रति राजनीतिक व्यक्तिहरूको कर्तव्य पूरा भएको मान्न सकिँदैन ।

शहीद गेट निर्माण गर्दैमा, शहीदहरूको फोटोमा माल्यार्पण गर्दैमा, एक मिनेट मौनधारण गर्दैमा मात्रै शहीद दिवसको सार्थकता पूरा हुँदैन । तिनै शहीदका परिवारहरू बिचल्लीमा परेर अत्यन्त दयनीय अवस्थामा बाँच्न बाध्य भएकोतर्फ हाम्रो ध्यान पुग्न सकेको छैन ।

खासगरी एक सय चार वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न तथा ३० वर्षे निरंकुश पञ्चायती कालरात्रीलाई समाप्त गरी बहुदलीय व्यवस्था ल्याउन छातीमा गोली थापेर जीवन आहुति दिने वीर आत्माहरू नै सच्चा शहीद हुन् । शहीदहरूको सम्मान तथा संस्मरणस्वरूप सामाजिक तथा गैरसरकारी क्षेत्रबाट भएका प्रयासहरू सराहनीय छन् ।

राणा शासनविरुद्ध प्राण उत्सर्ग गर्ने चार महान् शहीद–गंगालाल, धर्मभक्त, दशरथ चन्द्र र शुक्रराज शास्त्रीलगायत ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा मनाइने शहीद सप्ताह पञ्चायती व्यवस्थाविरुद्ध लड्ने शहीदहरूप्रति पनि समानान्तर रूपमा समर्पित हुनु आजको आवश्यकता हो ।

नेपालको इतिहास अध्ययन गर्दा थाहा हुन्छ– वि.सं. १९९७ साल माघको कठ्यांग्रिँदो जाडोमा शुक्रराज र धर्मभक्तलाई रुखमा झुन्ड्याइएको थियो भने दशरथ चन्द्र र गंगालाललाई बाँसमा बाँधेर ठाउँ–ठाउँमा गोली हानिएको थियो । त्यसअगाडि पनि राणा शासनको विरोध गरेकै कारण कृष्णलाल अधिकारी, खण्डमान सिंह, मैनाबहादुर खत्री आदि जेलमै वा बन्दी जीवनमा मृत्युवरण गर्न बाध्य भए । तर, सर्वप्रथम राजनीतिक दल गठन गरी संगठित क्रान्तिकारी गतिविधि सञ्चालन गरेको आरोपमा शहीद भएका उपर्युक्त चार जना नै थिए ।

जनसंघर्ष समयसँगै व्यापक बन्दै गएकाले देशव्यापी आन्दोलनका क्रममा सयौँ कार्यकर्ताले जेलजीवनको यातना भोग्नुपर्‍यो । वि.सं. २००७ सालसम्म जेलहरू राजबन्दीहरूले भरिएका थिए । यसै संघर्षको फलस्वरूप राणा शासनको पतन भई प्रजातन्त्रको उदय भएको हो ।

वि.सं. २०१७ साल पुसदेखि २०४६ सालसम्म देशका विभिन्न भागमा शहादत प्राप्त गर्ने देशभक्तहरूको संख्या निरन्तर बढ्दै गयो । सरकारी तथ्यांकअनुसार झापादेखि बैतडीसम्मका ४८ जिल्लामा शहीदहरूको संख्या २६८ पुगेको उल्लेख छ, तर पक्राउ परेका, थुनिएका, जेलभित्र वा बाहिर कुटपिट भई घाइते भएका व्यक्तिहरूको यथार्थ लेखाजोखा छैन ।

पञ्चायती व्यवस्थाको विरोधमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको पहलमा देशव्यापी जनआन्दोलन सुरु भयो । वि.सं. २०४६ साल चैत २७ गतेदेखि २०४७ साल वैशाख १० गतेसम्म ८१ जना शहीद र एक हजारभन्दा बढी घाइते भएको तथ्यांक मानवअधिकार संस्थाले सार्वजनिक गरे पनि सरकारी तथ्यांक आजसम्म प्रकाशित भएको छैन ।

त्यसयता, १० वर्षे सशस्त्र युद्ध र दोस्रो जनआन्दोलनको समयमा ज्यान आहुती दिनेहरु पनि सयौंको संख्यामा छन् । सरकारले कतिलाई शहीदको सूचीमा राखेको छ भने कतिलाई राखेको छ । 

गत भदौ २३ र २४ गतेको जनआन्दोलनमा ७७ जनाले ज्यान गुमाए । उनीहरूमध्ये केहीलाई शहीद घोषणा गर्ने प्रयास वर्तमान सरकारले गरिरहेको छ । यस घटनाबाट राष्ट्रको ८५ अर्ब रुपैयाँभन्दा बढी भौतिक सम्पत्ति नष्ट भएको थियो । यस्ता वीर आत्माहरूको नामसम्म संकलन गर्न नसक्नु अत्यन्त दुःखद कुरा हो । अज्ञात शहीदहरूको खोजी गर्नु आजको आवश्यकता हो ।

यदि यी शहीदहरू नभएका भए आज पनि नेपालीहरूले जनअधिकार र स्वतन्त्रता पाउने थिएनन् । तिनले तानाशाही प्रवृत्तिसँग ज्यानको बाजी लगाएर संघर्ष नगरेको भए मुलुक आजको अवस्थामा पनि हुने थिएन । त्यसैले शहीदहरूको स्मृतिले हामीलाई कर्तव्यपथतर्फ डोर्‍याउँछ ।

आज देशमा व्याप्त अराजकता, स्वार्थीपन, भ्रष्टाचार, अनियमितता र जनउपेक्षाले शहीदहरूले देखाएको बाटो हामीले बिर्सियौँ कि भन्ने प्रश्न उठाएको छ । शहीदहरूको योगदानको चर्चा शहीद दिवसको एक दिनमा मात्र सीमित गर्दा उनीहरूको बलिदान जनमानसमा गहिरोसँग बस्न सक्दैन ।

त्यसका लागि शहीद स्मारक, शहीद पुरस्कार, शहीद आवासगृह, स्मारिका तथा पुस्तिका प्रकाशन, शहीदहरूको नाममा पार्क स्थापना जस्ता दीर्घकालीन कार्यक्रम आवश्यक छन् । शहीदका परिवार र सन्ततिलाई शिक्षा, रोजगार र सुशासनका अवसर प्रदान गर्नुपर्छ । उनीहरूको शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरिनुपर्छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्र–पत्रिका लगायत सञ्चार माध्यममार्फत शहीदहरूको भावना, उद्देश्य र योगदान सबैमा बोध गराउनु आवश्यक छ । 

समग्रमा भन्नुपर्दा, संसारका सबै राष्ट्रले आफ्ना वीर सपूत तथा शहीदहरूलाई उच्च सम्मानका साथ मूल्यांकन गर्दै आएका छन् । शहीदहरू पूजनीय र सबैका साझा सम्पत्ति हुन् । यस्ता अमूल्य सम्पत्तिको संरक्षण, सम्मान र कदर गर्नु सम्पूर्ण नागरिक र राजनीतिज्ञहरूको संयुक्त दायित्व हो ।

आजको प्रजातान्त्रिक वातावरणमा हामी सबैले प्रजातान्त्रिक चरित्र प्रदर्शन गर्दै शहीदहरूले देखाएको बाटोमा हिँड्न सकेमा मात्र शहीदप्रति साँचो सम्मान व्यक्त भएको ठहरिनेछ ।

सम्बन्धित खबर