
लोकप्रियतावादी राजनीति (पपुलिजम)को मूल राजनीतिक दर्शन यथास्थितिवाद र पश्चगमन हो । संसारभरका लोकप्रियतावादी राजनीतिक अभ्यासहरूले यस तथ्यलाई पुष्टि गरिसकेका छन् । लोकप्रियतावादले जनताको असन्तुष्टि, निराशा र आक्रोशलाई आकर्षक नारामा रूपान्तरण गरेर सत्ता प्राप्त गर्ने लक्ष्य राख्छ । तर यसले राज्य र समाजका संरचनात्मक समस्याको दीर्घकालीन समाधान दिने स्पष्ट वैचारिक दृष्टि र राजनीतिक कार्यक्रम प्रस्तुत गर्न सक्दैन । नेपाली लोकतन्त्रमा लोकप्रियतावादले गम्भीर खतरा निम्त्याइरहेको छ किनभने यसले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने, राजनीतिक अस्थिरता बढाउने र सामाजिक–आर्थिक रूपान्तरणलाई अवरुद्ध गर्ने जोखिम बोकेको छ ।
लोकप्रियतावादी नेताहरू प्रायः दिगो शासन, संस्थागत सुदृढीकरण र अल्पसंख्यक अधिकारको संरक्षणभन्दा छोटो अवधिको लोकप्रियता र व्यक्तिगत लाभलाई प्राथमिकता दिन्छन् । उनीहरू संविधान, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस र नागरिक समाजजस्ता संस्थाहरूलाई ‘भ्रष्ट अभिजात वर्ग’ वा ‘जनताका शत्रु’ का रूपमा चित्रण गर्छन् । यसले शक्तिको पृथकीकरणको सिद्धान्तलाई कमजोर पार्दै कार्यकारी शक्ति केही व्यक्तिको हातमा केन्द्रित गराउँछ । नेपालमा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत सञ्चालित भीड–केन्द्रित राजनीतिक अभियानहरूले असहमति दबाउने, आलोचकलाई आक्रमण गर्ने र संस्थागत मर्यादालाई कमजोर बनाउने अभ्यासलाई सामान्य बनाउँदै लगेका छन् ।
करिस्माई नेतामा केन्द्रित ‘भीड–केन्द्रित’ वा ‘स्टन्ट राजनीति’ले दीर्घकालीन नीति निर्माणभन्दा भावनात्मक प्रतिक्रियालाई प्राथमिकता दिन्छ । राजनीतिक दिशाहीन हुनुको प्रमुख कारण पनि यस्तै अवसरवादी र भीड–केन्द्रित राजनीतिक अभ्यास हो । लोकप्रियतावादी आन्दोलनहरूले भ्रष्टाचार, बेरोजगारीजस्ता जनसरोकारका मुद्दा उठाए पनि जातीय, लैंगिक र क्षेत्रीय असमानताजस्ता गहिरा संरचनात्मक समस्यालाई सम्बोधन गर्ने ठोस योजना प्रस्तुत गर्न सकेका छैनन् । भावनात्मक नारा र सतही समाधानमा केन्द्रित यस्तो राजनीतिले दीर्घकालीन सामाजिक–आर्थिक प्रगतिलाई अवरुद्ध गर्छ ।
लोकप्रियतावादको अर्को मूल चरित्र बहुलवाद विरोधी हुनु हो । समाजलाई ‘शुद्ध जनता’ र ‘भ्रष्ट अभिजात वर्ग’बीचको द्वन्द्वका रूपमा चित्रण गर्दा राजनीतिक बहुलवाद, सहिष्णुता र समावेशीता कमजोर हुन्छ । जात, धर्म, भाषा वा पहिचानका आधारमा अल्पसंख्यक समुदायलाई अलग्याउने जोखिम बढ्छ, जसले लोकतन्त्रको समावेशी आधारलाई नै खतरामा पार्छ । लोकप्रियतावादी नेताहरूले आफूलाई जनताको एक मात्र प्रतिनिधि ठान्दा वैध असहमति र फरक विचारलाई देशविरोधी वा जनविरोधी ठहर गर्ने प्रवृत्ति बलियो बन्छ ।
अनियन्त्रित लोकप्रियतावाद अन्ततः अधिनायकवादतर्फ उन्मुख हुन्छ । सत्ता प्राप्त गरेपछि लोकप्रियतावादी नेताहरूले आफ्ना कमजोरी र अनियमितता ढाकछोप गर्न कानुनको शासनलाई चुनौती दिने र संस्थामाथि दबाब सिर्जना गर्ने गर्छन् । नेपालमा केही नेतामाथि उठेका कानुनी प्रश्न र त्यसको प्रतिरक्षामा देखिएको अन्धसमर्थन र हिंसात्मक व्यवहारले व्यक्तिगत महत्वाकांक्षाले कानुनी ढाँचालाई कसरी कमजोर बनाउँछ भन्ने स्पष्ट देखाएको छ । नेतृत्वमाथि उठेका तर्कसंगत प्रश्नको राजनीतिक जवाफ दिनुको सट्टा प्रश्न उठाउनेमाथि सामूहिक आक्रमण गर्ने प्रवृत्ति आफैंमा अधिनायकवादी राजनीतिक संस्कृतिको संकेत हो ।
नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । विदेशी भूमिमा श्रमिकले बगाएको पसिनाबाट राज्य सञ्चालन भइरहेको यथार्थ सबैसामु स्पष्ट छ । तर लोकप्रियतावादी पार्टीहरूले यस परनिर्भर र असफल आर्थिक संरचनाको विकल्प प्रस्तुत गर्न सकेका छैनन् । आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी नीति र संरचनात्मक आर्थिक रूपान्तरण उनीहरूको प्राथमिकतामा पर्दैन । बरु नवउदारवादी पुँजीवादी व्यवस्थाकै निरन्तरताको पक्षपोषण गरिएको देखिन्छ । गरिबी, बेरोजगारी र असमानताको मूल कारण र समाधानबारे कुनै नयाँ वैचारिक प्रस्ताव लोकप्रियतावादी राजनीतिसँग छैन ।
नेपाली समाज आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा गहिरो विभेद र बहिष्करणबाट ग्रसित छ । सम्भ्रान्त वर्ग र सत्तासँग निकट समुदायको प्रभुत्व कायमै छ । यस्ता अन्तरविरोध समाधान नगरी सामाजिक रूपान्तरण सम्भव छैन । तर लोकप्रियतावादी राजनीतिमा दैनिक भइरहेका हिंसा, शोषण, दमन, जातीय र लैंगिक विभेद अन्त्य गर्ने सवाल प्राथमिकतामा पर्दैन । विश्वव्यापी अनुभव हेर्दा लोकप्रियतावादी नेतृत्व प्रायः उग्र राष्ट्रवादी र दमनकारी बनेका छन् । ट्रम्पको ह्वाइट सुप्रिमेसी वा मोदीको हिन्दु अतिवाद यसका उदाहरण हुन् । नेपालका लोकप्रियतावादी शक्तिहरूमा पनि जातिवाद, पितृसत्ता र संरचनात्मक उत्पीडन अन्त्य गर्ने स्पष्ट दृष्टिकोण देखिँदैन ।
लोकप्रियतावादको अर्को विशेषता अवसरवाद हो । जनताका जायज असन्तुष्टिलाई नारा बनाएर सत्ता हासिल गर्ने तर व्यवहारमा उही पुरानै प्रवृत्ति दोहो¥याउने अवस्था देखिन्छ । भ्रष्टाचारविरोधी नाराबाट उदाएका केही नेतृत्व आफैं नैतिक संकटमा फसेका उदाहरणहरूले लोकप्रियतावादी राजनीतिको खोक्रोपन उजागर गर्छन् । यसले नेतृत्वको मात्र होइन, समग्र राजनीतिक संस्कृतिको नैतिक धरातल कमजोर बनाउँछ ।
लोकप्रियतावादी राजनीतिले अरू राजनीतिक दल र ऐतिहासिक संघर्षहरूको अवमूल्यन गर्दै अपमान र गालीलाई राजनीतिक हतियार बनाउँछ । तथ्य र तर्कमा आधारित आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो । तर घृणा र अपमानमा आधारित राजनीति जनतामा क्षणिक आकर्षण त पैदा गर्छ, समाधान दिन सक्दैन । यससँगै नेतृत्वमाथि प्रश्न उठाउन नदिने, व्यक्तिलाई पार्टी र विचारभन्दा माथि राख्ने एकाधिकारवादी अभ्यास लोकप्रियतावादी राजनीतिमा देखिन्छ । यसले अन्ततः व्यक्तिकेन्द्रित अधिनायकवादी संरचना निर्माण गर्छ ।
लोकप्रियतावादको उदय स्थापित राजनीतिक दलहरूको असफलतासँग गहिरो रूपमा जोडिएको छ । विगतका संघर्ष र आन्दोलनबाट सत्तामा पुगेका दलहरू विचार, सिद्धान्त र जनजीविकाका सवालबाट विमुख हुँदा जनतामा निराशा र आक्रोश बढेको हो । यही निराशाले नयाँ विकल्प खोज्ने मनोविज्ञान जन्माएको छ । तर नयाँ भनिएका लोकप्रियतावादी पार्टीहरूसँग पनि सामाजिक–राजनीतिक रूपान्तरण, सीमान्तकृत समुदायको सशक्तीकरण र दीर्घकालीन आर्थिक रणनीतिबारे स्पष्ट दृष्टि छैन । यसको अर्थ पुराना दल सही थिए भन्ने होइन तर लोकप्रियतावाद समाधान होइन भन्ने हो ।
लोकप्रियतावादको चुनौती सामना गर्न लोकतान्त्रिक संस्था सुदृढ बनाउनु, समावेशी शासन प्रवर्धन गर्नु र संवाद तथा सहमतिमा आधारित राजनीतिक संस्कृति विकास गर्नु अपरिहार्य छ । रोजगारी, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र शिक्षामा राज्यको दायित्व सुनिश्चित गर्न सके आर्थिक असुरक्षाबाट जन्मिने लोकप्रियतावादी भावनालाई नियन्त्रण गर्न सकिन्छ । लोकतन्त्रमा लोकप्रियतावाद कहिलेकाहीँ चेतावनीका रूपमा देखिन सक्छ । तर कमजोर संस्थागत संरचना र राजनीतिक अस्थिरता भएको मुलुकमा यसले अधिनायकवादतर्फ लैजाने गम्भीर जोखिम बोकेको हुन्छ । त्यसैले भीड–केन्द्रित लोकप्रिय राजनीति होइन, वैचारिक, समावेशी र संस्थागत लोकतान्त्रिक नेतृत्व नै नेपालको दीर्घकालीन विकास र सामाजिक रूपान्तरणको आधार हो ।