२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सत्ताको हस्तिनापुर : जहाँ नीति हार्छ, नियति जित्छ

shivam cement
अनन्तप्रसाद घिमिरे
२०८२ माघ २० गते ०६:००
Shares
सत्ताको हस्तिनापुर : जहाँ नीति हार्छ, नियति जित्छ

नेपाली राजनीतिको रंगमञ्चलाई सूक्ष्म दृष्टिले नियाल्ने हो भने यो कुनै आधुनिक शासन व्यवस्था मात्र नभई द्वापर युगको त्यो भीषण महागाथा महाभारतको पुनरावृत्ति जस्तो भान हुन्छ । सत्ताको केन्द्र हस्तिनापुर होस् या काठमाडौंको सिंहदरबार, शक्ति प्राप्तिको लालसा र त्यसका लागि रचिने प्रपञ्चहरूको स्वरूप हजारौँ वर्षपछि पनि उस्तै छ । महाभारत केवल एउटा युद्धको कथा होइन, यो त मानवीय स्वभाव, अहंकार, नैतिकताको क्षय र राजनीतिक दाउपेचको एउटा यस्तो ऐना हो, जसमा आजको नेपालको तस्बिर छर्लङ्ग देखिन्छ ।

देशको राजनीतिक कुरुक्षेत्रको केन्द्रमा आज पनि ‘धृतराष्ट्र’ प्रवृत्ति ज्यूँदै छ । जब राज्यको बागडोर सम्हालेका पात्रहरूमा ‘पुत्रमोह’ वा ‘गुटमोह’ हाबी हुन्छ, तब न्यायका आँखाहरूमा पट्टी बाँधिन्छ । आफ्ना निकटका मानिसहरूले गरेका अक्षम्य गल्ती, भ्रष्टाचार र बेथितिहरूलाई पनि ‘आफ्नो’ भएकै नाताले संरक्षण दिनु आजको राजनीतिको सबैभन्दा ठूलो रोग बनेको छ । धृतराष्ट्रले आफ्ना छोरा दुर्योधनको अहंकार र अधर्मलाई रोक्न सक्ने सामथ्र्य हुँदाहुँदै पनि मौनता साँधे झैँ, यहाँका शीर्ष नेतृत्वले पनि आफ्नो सत्ता जोगाउन आफ्ना आसेपासेका अपराधहरूमा आँखा चिम्लिने गरेका छन् । यही मोहले गर्दा नै संस्थागत सुशासनको जग भत्किएको छ र मुलुक एउटा अनिश्चित द्वन्द्वको भुमरीमा फसेको छ ।

नेपाली राजनीतिको अर्को विद्रूप पक्ष ‘शकुनि’ हरूको उपस्थित हो । महाभारतको युद्धमैदानमा भन्दा बढी षड्यन्त्र त चौसरको खेलमा भएको थियो, जहाँ पासाहरू आफ्ना पक्षमा पार्न छल र कपटको सहारा लिइएको थियो । आज नेपालको राजनीतिमा पनि जनमतको होइन, षड्यन्त्रको ‘पासा’ प्रधान भएको छ । चुनावपछि प्राप्त हुने परिणामलाई कसरी आफ्नो स्वार्थको समीकरणमा ढाल्ने, कसरी रातारात गठबन्धनहरू भत्काउने र कसरी सत्ताको लुछाचुँडीमा छिमेकी वा बाह्य शक्तिलाई ‘गान्धार को मामा झैँ भित्र्याउने भन्ने खेलमा हाम्रा पात्रहरू निपुण देखिन्छन् । शकुनिले पाण्डवहरूलाई वनवास पठाए झैँ, यहाँका राजनीतिक खेलाडीहरूले पनि आम जनताका सपना र अपेक्षाहरूलाई दशकौँदेखि अभाव र गरिबीको ‘अज्ञातवास’मा धकेलिदिएका छन् ।

यस परिवेशमा द्रौपदीको चीरहरणको प्रसङ्ग अझ बढी मार्मिक भएर आउँछ । आजको नेपालमा द्रौपदी भनेको कुनै पात्र नभई ‘लोकतान्त्रिक मूल्य–मान्यता’, ‘संविधान’ र ‘विधिको शासन’ हो । जब–जब सत्ताको मादमा मात्तिएका दुर्योधन र दुशासनहरूले संविधानका पानाहरू च्यात्छन् वा सार्वजनिक संस्थाहरूको हुर्मत लिन्छन्, तब विधिको चीरहरण भएको मानिन्छ । विडम्बना त के छ भने, त्यो चीरहरण भइरहँदा समाजका भीष्म र द्रोणहरू—अर्थात् प्रबुद्ध नागरिक समाज, सचेत बौद्धिक वर्ग र निष्ठावान् पुराना नेताहरू– मौन बस्छन् । उनीहरूलाई आफ्नो मर्यादा, पेन्सन वा व्यक्तिगत लाभको ‘प्रतिज्ञा’ले यसरी बाँधेको छ कि उनीहरू अन्याय देख्दादेख्दै पनि सत्य बोल्न डराउँछन् । यही मौनता नै अधर्मको सबैभन्दा ठूलो मतियार बनेको छ ।

पाण्डवहरू, जो सत्य र न्यायको खोजीमा छन्, उनीहरू अहिले पनि कष्टपूर्ण संघर्षमै देखिन्छन् । नेपालको सन्दर्भमा पाण्डव ती इमानदार कार्यकर्ता र आम नागरिक हुन्, जो एउटा सुखी र समृद्ध मुलुकको प्रतीक्षामा छन् । तर ती पाण्डवहरूलाई मार्गदर्शन गर्ने ‘कृष्ण’को यहाँ ठूलो खडेरी छ । कृष्णको अर्थ केवल एउटा शक्तिशाली व्यक्ति होइन, बरु एउटा यस्तो दूरदर्शी चेतना हो, जसले सत्ताभन्दा माथि धर्म र कर्तव्यलाई राख्दछ । अहिलेका अर्जुनहरू, अर्थात् युवा पुस्ता र नयाँ राजनीतिक शक्तिहरू, कुरुक्षेत्रको मैदानमा त ओर्लिएका छन्, तर उनीहरूमा पनि एउटा ‘विषाद’ छ । उनीहरू पुरानो पुस्ताको विरासत र नयाँ समयको मागबीच अलमलिएका छन् । उनीहरूलाई गाण्डीव उठाउन प्रेरित गर्ने कुनै निष्काम कर्मको दर्शन भेटिएको छैन ।

महाभारतको अन्त्यमा भएको विनाशले एउटा ठूलो सन्देश दिएको छ– अहंकार र अन्यायको जगमा ठडिएको साम्राज्य जतिसुकै विशाल भए पनि त्यसको अन्त्य निश्चित छ । नेपालको राजनीति पनि अहिले एउटा यस्तो मोडमा पुगेको छ, जहाँ कि त नैतिकताको पुनर्बहाली हुनेछ, कि त यो पूरै व्यवस्था नै धराशायी हुनेछ । लासहरूको थुप्रोमाथि उभिएर प्राप्त गरिएको विजयको कुनै मूल्य नभए झैँ, जनतालाई मारेर र देशलाई खोक्रो बनाएर प्राप्त गरिएको सत्ताले कसैको कल्याण गर्दैन ।

अतः नेपालको राजनीतिक कुरुक्षेत्रलाई ‘धर्मक्षेत्र’मा बदल्नका लागि अब पात्रहरूको अनुहार मात्र फेरेर पुग्दैन, प्रवृत्तिको शल्यक्रिया नै आवश्यक छ । धृतराष्ट्रहरूले मोहको पट्टी खोल्नै पर्छ, शकुनिहरूका पासाहरूलाई जनताले चिन्नै पर्छ र अर्जुनहरूले आफ्ना व्यक्तिगत स्वार्थ र डरलाई त्यागेर राष्ट्रिय हितको युद्ध लड्नै पर्छ । जबसम्म सत्तालाई सेवा होइन, विजयको ट्रफी मानिन्छ, तबसम्म यो महाभारत चलिरहनेछ । तर जब हरेक नागरिकले आफ्ना अधिकार र कर्तव्यको बोध गरी ‘गीता’को सार झैँ कर्ममा विश्वास गर्नेछन्, तब मात्र नेपालले वास्तविक शान्ति र प्रगतिको हस्तिनापुर प्राप्त गर्नेछ ।

सम्बन्धित खबर