– इन्दिरा खड्का, आसाम, भारत
आइतबारको दिन छिटो छिटो काम सकेर मझेरीमा कुर्सीमा बसेर हातमा दैनिक पत्रिका लिएँ । गेट खोलेको आवाज आयो हातमा लामा–लामा रबर बेण्डले बाँधेका पोष्टर लिएर श्रीमान् भित्रिनुभयो । मेरो छेउमा कुर्सी घिसार्दै बस्नु भयो । टेबलमाथि पोष्टर खोलेर मलाई देखाएर भन्नु हुँदै थियो, “यसपालि भोट यसमा हाल्नु पर्छ” ।
श्रीमान्को कुरा सुन्ने साथ मलाई टुप्पीबाट धुँवा छुट्यो मैले भने, “हेर्नुहोस् भोट कसलाई दिने कसलाई नदिने त्यो आफनो आफ्नो कुरा हो तपाइँले चुनेको प्रार्थीलाई म नदिन सक्छु ।” म अरको प्रार्थीलाई कसरी दिन सक्छु भनेर जर्क जर्किएँ । उहाँ छेउबाट जुरूक्क उठेर हिँड्नु भयो । पल्ला घरकि रमा टुप्लुक्क आइपुगिन् ।
“रमा बस् आज कहाँबाट हाम्रो घरको बाटो देखेऊ ?” उनले तुरून्तै भनिन्, “त्यसो नभन्नु दिदी आउनत मन लाग्छ तर, के गर्नु समय मिल्दैन अहिले काम गर्ने केटी पनि छैन । पठाइ दिए अब राख्थिन होला ।”
मैले छक्क पर्दै सोधेँ, “किन ? उ भन्न थालिन् अरूको घरको सुनेर मलाई केटी राख्न डर लाग्नथाल्यो ।”
मैले चासो लिएर सोधेँ, “कसको घरमा के भयो र ?” उनले फेरि थपिन्, “मलाई भनै डरलाग्छ दिदी ।” मैले आश्वासन दिँदै भने, “केही डरमान्नु पर्दैन म कसैलाई पनि भन्दिनँ ।”
“दिदी कसैलाई पनि नभन्नु ल !” भन्दै रमाले कुरा भन्न सुरू गरिन ।
“हिजो हाम्रो घरमा रामबहादुर दाई आउनु भाको थियो । श्रीमान् र रामबहादुर दाई बसेर गन्थन गरिरहेको बेलामा चिया लिएर म कोठाभित्र पसेँ । के कुरा हो भनेर कान तिखो पारेर अलिकति सुनेपछि मलाई चाख लाग्यो । अनि पर्दा पछि छलिएर सुनेँ ।” मैले चासो लिएर सोधेँ, “के सुनेउ छिटो–छिटो भन । अहिले श्रीमान् आईपुग्नु भयो भने अर्काको कुरा गरेको मन पराउनुहुन्न ।”
“के भनेनी दिदी उनीहरू दुइजनाको ठाक–ठुक लागि रहँदो रैछ । अनि दाजु भन्दै हुनुहुन्थ्यो “नोकरी गर्ने केटी बिहे नगर्नु पर्ने रैछ । केटी हैन नोकरीलाई बिहे गरेजस्तो हुँदो रहेछ । नोकरी बचाउनको लागि कामगर्ने केटी राख्नु पर्यो । काम गर्ने केटीलाई हिजो आज एक्लै छोड्न पनि डर ! अरू त के आफ्नै श्रीमान्को पनि पो डर गर्दा उस्लाई साथीको लागि अर्कि एउटी राख्नु पर्छ । अनि एउटीको कपड़ा फाटेर किन्न जाँदा अर्की रिसाउछे । उस्लाई पनि किन्नु पर्छ बरण्डामा ग्रिल् छैन् भने ग्रिल लगाउनु पर्यो । किनभने आफु घरमा नभएका बेलामा बाहिरका ठिट्ने केटाहरू आएर आँखा झिमकाई दिन्छन् भन्ने डर । कोठोसानो भयो अर्को ठुलो कोठो एउटा बना, नोकरी गर्ने श्रीमतीले गर्दा मेरो लगभग एक लाख खर्च भयो भाइ के गर्नु त्यहिमाथि घरखर्ज दिन दिनै बढ्छ । दुईटी केटीलाई तनखा गर्दा गर्दै महिना चल्नै सारो पर्छ ।” भनेर गफगर्दै हुनुहुन्थ्यो, त्यतिबेलै छोरो उठेर मलाई खोज्दै आएकाले गर्दा म उठेरभित्र गएँ । दिदी पछिको कुरा सुन्नै पाइन् छोराले गर्दा ।”
“ए होर ? रमा यस्तो पनि हुदो रहेछ नि ! मैले त सोचेकै थिइनँ । तिमीले ठिके गरिछेउ केटी नराखेर । म पनि अब नराख्नु पर्यो ।”
“जसो पर्ला पर्ला दिदी म जान्छु है ।”
मैले भने, “एकछिन् बस्न चिया पिएर जाउ, चियापिएर ।” तर, रमा घरतिर लागिन म पनि किताब अब पढ्नु पर्यो भनेर सोच्दै थिएँ । काम गर्ने दिदी छेउमा आएर भन्न थालिन् “चुनाव आयो ? कहिले हो चुनाव अगि मालिक भन्दै हुनुहुन्थ्यो भोट दिनु पर्छ भनेर । किन दिनु पर्छ भोट ?”
मैले भने दिदीलाई, “अहिले हामी कसको शासनमा छौँ ?” दिदीले उत्तर दिनुभयो, “ सरकारको ।” मैले फेरि थपें, “सरकार कसले बनाउँछ ?” दिदीले भनिन्, “हामीले ।” मैले फेरि थपे, “त्यसो भए हामी सबैले भोट दिनुपर्छ ।” दिदीले के बुजीन र हा हा गरेर हाँस्न थालिन् ।
बाहिर को आयो दिदी भन्दै म आफनो कोठाभित्र पसे । भोली चुनाव छ । केशमा कालो लगाउनु पर्यो अनि मुखमा पनि अलि अलि लीप पोत गर्दा गर्दै दुइ घण्टा बितेछ । कोठाबाट बाहिर निस्किदा दिदी राम्री भएर बिदा माग्न कुरि रहेकि रैछिन । अगि आएका मानिस दिदीलाई चुनावको लागि लिन पो आएका रैछन् । मत छाँगोबाट खसे झैँ भएँ । मलाई देख्ने साथ दिदीको गाउँबाट आएका मानिसले भन्न थाले, “हाम्रो समस्टीको प्राथीले भन्नुभाको भोट दिनेजति सबैलाई एउटा एउटा कम्बल र मछरदानी दिने र दिदीलाई पनि भोटदिन लाने ।”
मलाई बज्र परे झैं भयो । अब दिदी गएपछि मेरो हातै भाचिन्छ । भोलि बिहानै जानु पर्ने घर कस्ले समाल्ने ? श्रीमान्लाई खाजा, छोरा छोरीलाई नुवाई–धुवाई दिउसोको खाना ? घर कस्ले हेर्ने ? अब म दिदीलाई सम्झाउनु पर्यो । “दिदी, भोट दिन जाने कसलाई ?”
दिदी भन्दै थिइन्, “खै म त जान्दिनँ लेखा–पढा पनि छैन् ।” त्यतिबेला मलाई अलिकति शाहस आयो, “हो त ! दिदी लेखा पढा नजान्दा सारो पर्छ । लेखे, पढेका मानिसले मात्रै जान्दछन् । कुन प्रार्थीलाई भोट दिँदा हाम्रो देशको उन्नति हुन्छ भन्ने कुरा बुझेर भोटदिनु पर्छ । गल्ति भयो भने हाम्रो देश उन्नति हुँदैन । बाटो, पुलहरू बनिँदैन अनि हाम्रा पढे, लेखेका छोरा–छोरीहरूले नोकरी पाउँदैनन् । दिदी भोट चैँ बुझेर दिनु ।”
दिदी एकछिन् सोँचमा परिन् । “दिदी के भयो ? के सोचेकि ?”
दिदी, “म भोट दिन जान्न भन्न थालिन् ।” मैले फेरि सोधेँ, “किन नजाने ?” उनले भनिन् “भरे गल्ती भयो भने, हाम्रो देशमा उन्नति हुँदैन भन्ने डरलाग्यो ।” म भित्रभित्रै खुसी भएँ । मेरो बुद्धि काम लाग्यो भोलि म दिनभरिको लागि फ्री भएँ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies