
नेपाली समाज परम्परागत रूपमा सामूहिक मूल्यमा आधारित छ । जातीय संरचना, धार्मिक आस्था, चाडपर्व र सामाजिक संस्कारले समाजलाई बाँध्ने काम गर्दै आएका छन् । चाडपर्व, विवाह संस्कार र श्राद्धजस्ता परम्पराले सामाजिक निरन्तरता कायम राखेका छन् । तर धेरै परिवर्तन भइसकेको छ ।
विधुवा महिलाले रातो पहिरन लगाउँदा परिवारदेखि समाजसम्मले वहिष्कार गरेका घटना अझै पनि ताजा नै छन् । मुस्लिम महिलाहरूले बुर्का खोलेर सामाजिक अभियानमा लाग्दा मुस्लिम समाजले बहिष्कार गरेका पात्र पनि समाजमा नै छन् । जो राज्यको नेतृत्वसम्म पुगेका छन् । अढाई दशकलाई फर्केर हेर्दा महिला नेपाली समाज तीव्र परिवर्तन हुँदै गइरहेको छ ।
प्रविधि, शिक्षा र विश्वव्यापी प्रभावसँगै जीवनशैली बदलिँदै जाँदा संस्कृतिभित्र परम्परा र आधुनिकता बीचको द्वन्द्व झन् स्पष्ट बन्दै गएको छ । यो द्वन्द्व आज विवाह, परिवार, धर्म, लैंगिक भूमिका र सामाजिक मूल्य–मान्यतासम्म फैलिएको छ । श्रीमान् बितेका महिलाहरूले सेतो वस्त्र अनिवार्य थियो । जसलाई विधुवा नारीको पहिचान बनाउँथ्यो । महिला राजी खुसी नहुँदा पनि परिवार वा श्रीमानको दबाबमा सन्तानको जन्म दिनुपर्ने दबाब थियो । त्यति मात्रै होइन श्रीमानको हिंसा सहेर बस्नुपर्ने बाध्यता पनि उत्तिकै थियो । आजको समाजलाई हेर्ने हो भने कुन महिला विधुुवा, डिर्भोसी छुट्याउन गाह्रो छ । जसले गर्दा महिला समानतामा एकरूपता देखाउँछ । महिलाहरूले आफूले नचाहेको अवस्थामा गर्भ पतन गराउन पाउने कानुनी अधिकारसमेत पाएका छन् ।
समाजमा परम्परादेखि चलिरहेको बोक्सीजस्ता कुप्रथाबाट महिला प्रताडित हुने क्रम घट्दै गएको छ । जसलाई नियन्त्रण गर्न कानुनसमेत बनेको छ । परम्परासँग महिला उत्पीडन र दासताको निकै पुरानो सम्बन्ध छ । परम्पराको जन्जिरमै जेलिएर महिला दासताको अन्त्य हुँदै छ । अन्धविश्वास र कुरीतिजस्ता कुरासामु विरोध गर्दै आएका छन् । त्यही परम्पराभित्रको एउटा पर्व हो तीज र विवाह । तीजमा परम्पराकै खातिर पुरुष (पति)को गोडा धोएको पानी खुवाउने चलन छ । तर पछिल्लो समय बाध्यता छैन । त्यस्तै विवाहमा दुलहीले दुलाहाको खुट्टा ढोग्ने चलन थियो तर पछिल्लो समय दुलाहाले पनि दुलहीको खुट्टा ढोग्न थालेका छन् । नेपालमा महिला हिंसा नियन्त्रण गर्न कुरीति, कुप्रथा र परम्परा नियन्त्रण गर्न कनुन र ऐन बनेका छन् ।
नेपाली समाज अझै परम्परागत मान्यता, प्रचलन तथा रहनसहनबाट प्रभावित छ । हिन्दू समाजमा महिलालाई विद्या, शक्ति तथा धनकी प्रतीकका रूपमा त लिइन्छ तर महिला पुरुषको नियन्त्रणमा रहनुपर्ने सामाजिक मान्यताले पश्रय पाएकै छ । महिलालाई पुरुषको सहयोगी, दोस्रो दर्जाको मानव ठानिन्छ । विशेषगरी महिलालाई धर्म र संस्कृतिको वाहनामा परापूर्वकालदेखि विभेद र हिंसा हुँदै आएको छ । अझै पनि छाउपडी, देउकी, हलिया, कमैया, बोक्सी, कुमारीप्रथा, पर्दाप्रथा, आनी बन्ने आदिजस्ता कुसंस्कारबाट महिला पीडितै छन् ।
श्रीमानको मृत्यु भएपछि श्रीमती पनि ऊसँगै चितामा जिउँदै जल्नुपथ्र्याे जसलाई सतीप्रथा भनिन्थ्यो । सदियौंदेखि लादिएको यस्तो क्रुर प्रथा (सतीप्रथा) अन्त्यको घोषणा राजा त्रिभुवन शाहका पालामा चन्द्रशमशेरले १९७७ असार २५ गते गरेका थिए । त्यसयता यो प्रथा कानुनी रूपमा हटेको छ । यो प्रथा प्राचीनकालदेखि नेपाल र भारतमा प्रचलनमा रहेको कुरा इतिहासमा उल्लेख छ । यो प्रथा रोक्ने प्रयासमा राजा मानदेवकी आमा सती नजानु, मुलुकी ऐन १९१० को सुधार, वीरशमशेरको सरकारको अनुमतिमा मात्र सती जान पाइने घटनालाई मान्न सकिन्छ । तत्कालीन समयमा यो प्रथाले महिलाको समृद्धि र विकासमा ठुलो असर पारेको थियो ।
महिलाहरूको समृद्धि तथा हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि नेपालको संविधान २०७२ को शोषणविरुद्धको हक धारा (२९) को उपधारा (१) ले प्रत्येक व्यक्तिलाई शोषणविरुद्धको हक प्रदान गरेको छ । यसैगरी, उपधारा (२) ले धर्म, प्रथा, परम्परा, संस्कार र प्रचलन वा अन्य कुनै पनि आधारमा कुनै पनि व्यक्तिलाई शोषण गर्न पाइनेछैन भनी स्पष्ट रूपमा व्याख्या गरेर हरेक व्यक्तिले हिंसामुक्त जीवन यापन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ ।
चुलादेखि नै विद्रोह चिर्दै आएका महिला चुलोलाई नै आर्थिक सबल बन्न सफल भएका छन् । महिलाले हलो छुन हुँदैन भन्ने समाज महिलाहरूले खेतबारी जोतर देखाइदिएका परिवर्तनसँगै काजकिरियासम्ममा परिवर्तन भइसकेको छ । छोरीहरूले पनि छोरासरह आमाबुबाको काजकिरिया गर्न थालेका छन् ।
तर यिनै परम्पराभित्र छुवाछुत, लंैगिक विभेद, महिलामाथिको नियन्त्रण र सामाजिक असमानताजस्ता अभ्यास अझै जीवित छन् । परम्पराले पहिचान दिएको छ तर केही परम्पराले अवसर खोसेका पनि छन् । जस्तै महिलालाई घरभित्रै सीमित राख्नुपर्छ भन्ने परम्पराले अधिकार खोसिएको छ भने तर त्यसको विद्रोह गर्दै वैदेशिक रोजगारीका लागि विभिन्न देशमा समेत पुगेका छन् ।
शिक्षा, सूचना प्रविधि, सामाजिक सञ्जाल र वैदेशिक रोजगारीले नेपाली समाजमा आधुनिक सोच भित्राएको छ । महिलाको शिक्षा र रोजगारी बढ्दै गएको छ । अन्तरजातीय विवाह, एकल परिवार र व्यक्तिगत स्वतन्त्रताप्रति आकर्षण बढ्दो छ ।
समयसँगै संस्कृति र परम्परा पनि परिवर्तन हुँदै गएको छ । ती पुरातन परम्परा परिमार्जित हुँदै आएका छन् । परम्पराको आत्मा जोगाउँदै परिवर्तन स्वीकार्नु नै संस्कृतिको रक्षा हो । परम्परा र आधुनिकताको द्वन्दले समाजमा सुधारको हुँदै गएको छ । महिला अधिकार आन्दोलन, दलितमुक्ति अभियान, बालविवाहविरुद्धको चेतना र लैंगिक समानताको बहस यही द्वन्द्वको उपज हुन् ।
परम्परा र आधुनिकताबीच सन्तुलन अपरिहार्य रहेको छ । मानव मूल्य, सामाजिक सद्भाव र सांस्कृतिक पहिचान जोगाउने परम्परालाई संरक्षण गर्नुपर्ने देखिन्छ तर नेपाली समाज अहिले संक्रमणकालीन मोडमा छ । परम्परा र आधुनिकताको द्वन्द्व विनाशको संकेत होइन, सामाजिक रूपान्तरणको प्रक्रिया हो । संवाद, सहिष्णुता र चेतनाको माध्यमबाट यो द्वन्द्वलाई संघर्ष होइन, सन्तुलित परिवर्तनको आधार बनाउने चुनौती अहिलेको समाजसामु छ ।
वंशजका आधारमा सन्तानलाई नागरिता दिने सोच, कानुनुमा समेत परिर्वतन आएको छ । आमाको नामबाट नागरिकतासमेत पाउन थालेका छन् । वंशका अधिकारहरू, हिंसामुक्त भई सामाजिक सुरक्षासहित बाँच्न पाउने अधिकार, शरीर, वुद्धि र निर्णयमाथिको आफ्नो अधिकारजस्ता आधारभूत अधिकारहरूले आवश्यक चर्चा एवं स्थान पाउन थालेका छन् ।
समाज विभिन्न प्रथा र परम्पराबाट सञ्चालन हुन्छ । ती धेरै पहिलादेखि नै समाजमा रहेको पाइन्छ । जसका स्रोत श्रुति, वेद, स्मृति, धर्मशास्त्र, पुराण आदि हुन् । यस्ता प्रथा र परम्परालाई हाम्रा अग्रजले विभिन्न समयमा प्रचलनमा ल्याउँदै तथा आवश्यकताअनुसार परिमार्जन गर्दै गएको हो भन्ने कुरा इतिहासमा उल्लेख छन् । यसरी समाजमा प्रचलित सबै परम्परा महिला हिंसाका रूप होइनन् । सामाजिक, सांस्कृतिक रूपमा स्वीकार गरिएका त्यस्ता अभ्यास जसले महिलाको जीवनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा असर पार्छन् त्यस्ता हानिकारक परम्परागत अभ्यास मात्र महिला हिंसाका स्वरूप हुन् ।