
वर्तमान विश्व अर्थतन्त्र आर्थिक उदारीकरण र भूमण्डलीकरणको प्रभावमा पुँजीवादी दिशातर्फ अघि बढिरहेको छ । पुँजीवादको मूल विशेषता भनेको पुँजीको अधिकतम उपयोग गर्दै नाफा कमाउने, नाफालाई सुरक्षित गर्दै पुनः लगानी गर्ने र प्रतिस्पर्धात्मक विश्व बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्नु हो । यही प्रक्रियासँगै विश्वमा पुँजी परिचालनका लागि विभिन्न वित्तीय संयन्त्रहरू विकसित हुँदै आएका छन्, जसमा शेयर बजार एक महत्वपूर्ण अवयवका रूपमा स्थापित भएको छ ।
विश्वको इतिहासलाई हेर्दा, शेयर बजारको सुरुवात १७ औँ शताब्दीबाट सुरु भएको मानिन्छ । नेपालमा भने कम्पनी ऐन, वि.सं. १९९३ को विकासपछि वि.सं. १९९४ मा विराटनगर जुट मिल र नेपाल बैंक लिमिटेडको स्थापना भएसँगै शेयर बजारको आधार तय भएको देखिन्छ । त्यसपछि वि.सं. २०३३ सालमा नेपाल धितोपत्र विनिमय केन्द्रको स्थापना भई सीमित रूपमा धितोपत्र कारोबार सञ्चालन हुन थाल्यो । यही केन्द्रले प्रारम्भिक चरणमा धितोपत्रको किनबेच तथा बजार विकासको भूमिका निर्वाह गरेको थियो । पछिल्लो चरणमा वि.सं. २०५० साल जेठ १३ गते उक्त केन्द्रलाई पुनर्संरचना गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को स्थापना भएपछि शेयर बजारले संस्थागत तथा आधुनिक स्वरूप ग्रहण गरेको हो ।
आजको अवस्थासम्म आइपुग्दा नेपालमा शेयर बजारको महत्व उल्लेखनीय रूपमा दिन दुई गुणा, रात चौगुनाको रूपमा बढ्दै गएको छ । वि.सं. २०५० माघ ३० गतेदेखि नेपाल स्टक एक्सचेन्जमा १०० अंकलाई आधार मूल्य मानेर शेयर बजारको औपचारिक सुरुआत गरिएको थियो । प्रारम्भिक चरणमा शेयर कारोबार अत्यन्त सीमित थियो र केही कम्पनीहरूको मात्र शेयर किनबेच हुन्थ्यो । त्यस समयमा मुख्य रूपमा नेपाल बैंक लिमिटेड, नेपाल औद्योगिक विकास निगम जस्ता सरकारी तथा अर्धसरकारी संस्थाहरूका शेयरहरू कागजी प्रमाणपत्रका आधारमा खरिद–बिक्री गर्ने गरिन्थ्यो ।
उक्त समयमा लगानीकर्ताहरू ब्रोकर कार्यालयमा गएर प्रत्यक्ष रूपमा फारम भरेर शेयर किन्ने र बेच्ने गर्दथे, जसका कारण कारोबार प्रक्रिया ढिलो र जटिल थियो । समयक्रमसँगै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत्, उत्पादन तथा सेवा क्षेत्रका कम्पनीहरूको संख्या क्रमशः वृद्धि हुँदै गयो र शेयर बजारको दायरा पनि विस्तार हुँदै गयो । आजको दिनसम्म आइपुग्दा नेप्सेमा तीन सयभन्दा बढी कम्पनीहरू सूचीकृत भइसकेका छन् । यस अवधिमा शेयर कारोबार प्रणाली कागजी प्रक्रियाबाट बदलिँदो विश्वव्यापी अनलाइन प्रणाली, मेरो सेयर, सेयर अनलाइन ट्रेडिङ सिस्टम हुँदै डिजिटल रूपमा रूपान्तरण भएको छ, जसले युवाहरूको पहुँच र सहभागिता उल्लेखनीय रूपमा बढाएको छ ।
नेप्से परिसूचकले समय–समयमा उतारचढाव भोग्दै ऐतिहासिक रूपमा ३२०० अंकभन्दा माथिको बिन्दु समेत छोइसकेको छ र हाल करिब २७०० आधार बिन्दु वरिपरि घुमिरहेको देखिन्छ । यसले शेयर बजारलाई केवल सीमित वर्गको क्षेत्रमा मात्र नभई आम नागरिक, शिक्षक, कर्मचारी, व्यवसायी, युवा विद्यार्थीदेखि घरगृहिणीहरू समेतको उल्लेख्य सहभागिता बढेको देख्न सकिन्छ । यस अर्थमा शेयर बजार विशेषगरी युवापुस्ताको लागि आकर्षक इन्भेष्टमेन्ट प्लेटफर्म बनेको छ भन्न कुनै द्विविधा मान्नु पर्दैन ।
नेपाल सरकारले शेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न कानुनी व्यवस्था गरेको छ । कम्पनी ऐन २०६३, धितोपत्र बोर्ड, सामूहिक लगानी कोष नियमावली, पोर्टफोलियो व्यवस्थापन निर्देशिका, सीडीएससीसम्बन्धी नियमावली जस्ता धेरै कानुनी संरचनाले लगानीकर्ताको अधिकार संरक्षण गर्ने प्रयास गरेको देखिन्छ । यद्यपि, यी कानुनहरूको कार्यान्वयन अझ प्रभावकारी हुनुपर्ने आवश्यकता भने कायमै छ ।
शेयर बजार कुनै सामाजिक सेवा गर्ने संस्था नभई नितान्त नाफा कमाउने उद्देश्यले सञ्चालन हुने लगानीको प्रमुख क्षेत्र हो । यस बजारमा कतिपयले ठूलो आर्थिक उपलब्धि हासिल गरेका छन् भने कतिपयले अविवेकी लगानीका कारण ठूलो क्षति पनि व्यहोरेका कयौँ घटनाहरू प्रशस्त छन् । त्यसैले शेयर बजारलाई केवल छिटो पैसा कमाउने माध्यमका रूपमा मात्र नलिई, ज्ञान, धैर्यता र अनुसन्धान आवश्यक पर्ने लगानीको क्षेत्रका रूपमा बुझ्न जरुरी छ । शेयर बजारको विषयलाई लिएर प्रसिद्ध लगानीकर्ता, शेयर बजारका बादशाह वारेन बफेट भन्छन्– जोखिम तब मात्र आउँछ, जब तपाईं के गरिरहनु भएको छ भन्ने थाहा पाउनुहुन्न । यस भनाइले स्पष्ट पार्छ कि छिटो पैसा कमाउने होडमा बिना अध्ययन, अरूको लहैलहैमा लागेर गरिएको लगानी केवल बालुवामा पानी हाले सरह हुन सक्छ ।
त्यसैले, आजको युवापुस्ताले शेयर बजारमा प्रवेश गर्दा शेयर बजार के हो ? कम्पनीको वित्तीय अवस्था कसरी विश्लेषण गर्ने ? जोखिम व्यवस्थापन कसरी गर्ने ? जस्ता धेरै विषयमा पर्याप्त अध्ययन, अवलोकन गर्नु जरुरी छ । सही निर्णय, दीर्घकालीन सोच र आत्मनिर्भर विश्लेषणका साथ गरिएको लगानीले शेयर बजारलाई युवाहरूका लागि दीर्घकालीन आर्थिक सशक्तीकरणको बलियो माध्यम बनाउन सक्छ ।
(पराजुली युवा लगानीकर्ता हुन् ।)