
यतिबेला मुलुक चुनावमय बनेको छ । यसपटकको चुनावी माहोल विगतको तुलनामा अलिक नयाँ पनि बनेको छ । यसको एउटा महत्वपूर्ण पक्ष भनेको नयाँ र पुरानो भन्ने रहेको देखिन्छ ।
सामान्यतया यस चुनावमा नयाँ राजनीतिक शक्तिले पुरानो शक्तिलाई ‘आइसोलेटेड’ गर्नुपर्छ भन्ने कुराको भावनात्मक ‘अल्गोरिदम’ समाजमय बनेको र जसको प्रभाव सबै तहका मान्छेसम्म पुगेको जस्तो देखिएको छ । विशेषगरी सूचना प्रविधिको सञ्जालमा बेरिन पुगेको समाजमा अल्गोरिदमको कारण चुनावी नतिजा प्रभावित हुन सक्छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।
साथै, पुराना शक्तिले मुलुकको लोकतान्त्रिक इतिहास निर्माणमा ठुलो योगदान गरे पनि लामो अपारदर्शी राजनीतिक अभ्यासले गर्दा अहिले सो पक्षले ‘नयाँ’को अभियान सञ्चालन पक्षलाई तार्किक जवाफ दिनसक्ने बलियो औजार छैन । जसले गर्दा मुलुकको भविष्यको विषयमा धेरै रूपरेखा निर्माण नगरीकनै नयाँ भनेकै आधारमा राजनीतिक शक्ति निर्माणको प्रयत्न भएको पाइन्छ ।
आजको अवस्था आउनुमा धेरैले विशेषगरी राजनीतिक शक्तिको राजनीतिक व्यवस्था रूपान्तरणको अभियानमा भएको कमजोरी नभएर मुलुकमा राजनीतिक रूपान्तरणसँगै आर्थिक विकासको विषय सँगसँगै लैजान नसक्नु हो । राजनीतिक सचेतताको विकास वा स्वतन्त्रता प्राप्ति सँगसँगै मुलुकको आर्थिक विकाससँगै जान नसक्दा नेतृत्वको क्षमतामा प्रश्न उठ्ने ठाउँहरू बन्दै गएका हुन् र राजनीतिक शक्ति सन्तुलनमा आजको स्थिति पैदा भएको हो भनेर भन्न सकिन्छ ।
नेतृत्वको सीमित आर्थिक चेतको असर
एकपटक आजको विश्वलाई सामान्य हिसाबले हेर्दा विश्वमा कुनै पनि एउटै विचारधाराको पक्षले लामो समयदेखि राज्यसत्ता सञ्चालन गरिरहेको छैन । तर धेरै देशका राज्यव्यवस्था भने स्थिर हिसाबले लामो समयसम्म सञ्चालन भइरहन भने सफल भएको देखिन्छ । मूलतः पुँजीवादी वा समाजवादी वा उदारवादी वा कम्युनिस्ट जुनसुकै ढंगले सञ्चालन भएका राज्यव्यवस्थाहरूले आर्थिक विकास र लगानीको वातावरणलाई सन्तुलनमा राख्न सक्दा ती मुलुक बलियो हुन पुगेको देखिन्छ । यद्यपि विश्वमा विकसित देखिने कतिपय मुलुकमा भने लोकतन्त्र र अधिकारको प्रश्न भने कमजोर छ ।
तर नेपालमा भने स्वतन्त्रताको आन्दोलनमा निरन्तर सफलता प्राप्त हुन सक्दा पनि आर्थिक विकास भने कमजोर बन्न पुग्यो । जसको मुख्य कारण राजनीतिक नेतृत्व तहमा कमजोर आर्थिक चेत नै हो ।
भौगोलिक र साधन स्रोतको हिसाबले नेपाल सम्भावना भएको मुलुक हो भनेर धेरै अन्वेषकहरूले औंल्याउँदै आएको पाइन्छ । सतही रूपमा हेर्दा पनि हिमालदेखि तराईसम्मको पर्यटन अनुकूल भूगोल, जलस्रोतको प्रशस्तता, उत्पादनयोग्य भूमि, जंगल, जडीबुटीलगायतको भण्डारले पनि नेपाल धेरै सम्भावना बोकेको मुलुक हो भनेर भन्न सकिन्छ ।
तर बिडम्बना यहीँ उत्पादन भएर पुग्न सम्भव हुने खाद्यवस्तु पनि आयात गरेर मात्रै पूर्ति गर्न बाध्य भइरहेका छौं हामी । यो हुनुमा पहिलो, हाम्रो मुलुकको सम्भावना र आवश्यकतामाथि अध्ययन नहुनु हो । दोस्रो सम्भावना र आवश्यकताका आधारमा काम गर्ने वातावरण तयार गर्नका लागि नीति, कानुन र योजना निर्माण नगर्नु हो ।
विश्व इतिहास हेर्दा कुनै पनि मुलुकको समृद्धिको पछाडि त्यहाँको राजनीतिक नेतृत्वले देख्ने सपना नै मुख्य हुन्छ । तर विडम्बना हाम्रो मुलुकको नेतृत्वले अहिलेसम्म मुलुकलाई समृद्धितर्फ डो¥याउन सक्ने सपना देख्न नै सकेनन् जसले गर्दा पटकपटकका राजनीतिक क्रान्तिपश्चात् पनि मुलुकले समृद्धिको गुणात्मक गति लिन सकेन ।
नेतृत्वको चौतर्फी गतिहीनताको कारण नै नयाँ पुस्ताले अनुभवी पुरानो पुस्तालाई दुत्कार्ने अवस्था सिर्जना भएको हो र आजको नयाँ राजनीतिक संक्रमण पैदा भएको हो ।
नयाँ सुरुवातबाट मात्रै सम्भव
भनिन्छ, मान्छेको इच्छाशक्ति भयो भने धेरै असम्भव कुरा सम्भव तुल्याउन सकिन्छ । मुलुकको समृद्धि हासिल गर्ने कुरा त झन मान्छेले योजनाबद्ध ढंगले गरेपछि प्राप्ति हुने कुरा हो । जुन असम्भव भन्ने कुरा नै भएन ।
तर, यसका लागि सामान्य सुझबुझका साथ दलहरूले मुुलुकको दिगो विकासको विषयलाई केन्द्रमा राखेर सबै स्तरमा छलफलको प्रारम्भ गर्न आवश्यक छ । त्यसपछि सबै दलहरूले दलभित्रै अर्थराजनीतिक विज्ञहरूको एउटा औपचारिक अनुसन्धानमूलक फोरम तयार पार्नुपर्छ ।
आफ्ना विचारहरूले माग गर्ने अर्थराजनीति के हुन् ? कस्तो आर्थिक नीति अख्तियार गरेको खण्डमा आफ्ना दर्शन, विचार र राजनीति मुलुकमा लागू गर्न सकिन्छ र मुलुकको विकास पनि गर्न सकिन्छ ? ती दलले आन्तरिक र बाह्य रूपमा यसमा सघन छलफल सञ्चालन गर्नुपर्छ । सोही आधारमा स्पष्ट एवं गतिशील अर्थराजनीतिक दृष्टिकोण निर्माण सम्भव छ ।
सोही आधारमा दलको सांगठनिक संरचनामा वा नेतृत्व तहमा लहडका आधारमा वा गुटको आधारमा वा कसैको सीमित स्वार्थका आधारमा नभएर मुलुकको समृद्धिका निम्ति तार्किक अर्थराजनीतिक दृष्टिकोणका आधारमा नेतृत्वको विकास गर्ने वातावरण तयार गर्न सकिन्छ । त्यसरी पैदा हुने नेतृत्वले कम्तीमा मुलुकको समस्या देख्न सक्छन् र समस्याको सम्भावनाको विषयमा बहस छलफल गर्दै निकास पनि पैदा गर्न सक्छन् ।
भौतिक रूपमा मान्छे अवश्य वृद्ध हुन्छ तर विचारको हिसाबले भने मान्छे गतिशील भइरहन सक्यो भने जति वृद्ध भयो उति धेरै अनुभवी र क्षमतावान् हुन्छ । तर हामीकहाँ खराब नियत वा हेलचेक्र्याइँ वा चेतको कमीले उमेरले वृद्ध हुँदै गएका राजनीतिक नेतृत्व समस्या र आवश्यकतासँग तालमेल नमिल्दा पुराना भनेर हेला गर्नुपर्ने बिडम्बनापूर्ण स्थिति बनेको छ ।