२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सगर–सागरको सहसम्बन्ध

shivam cement
प्रदीप उप्रेती
२०८२ माघ २२ गते १२:५९
Shares
सगर–सागरको सहसम्बन्ध

हिन्दुकुश हिमालय क्षेत्रमा अवस्थित नदीहरूको प्रमुख उद्गमस्थल भनेको हिउँ पग्लेर निस्कने हिमनदीका अतिरिक्त वाष्पीकरणको माध्यमद्वारा आकाशगंगाबाट वर्षने पानीको स्रोतलाई लिन सकिन्छ । यस प्राकृतिक प्रक्रियाले समयसँगै परिवर्तन हुँदै आएका जलचक्र र मौसमीय प्रणालीसँग प्रत्यक्ष सम्बन्ध राख्दै नेपाल–भारतका अधिकांश भूभागमा आवश्यक पर्ने पानीको माग आपूर्ति गर्ने आधार बनेको छ भन्ने जनविश्वास रही आएको छ । आर्थिक समुन्नति, शिक्षा आर्जन एवं अन्य प्रयोजनका लागि विकट भूभागबाट सुगम स्थलतर्फ हुने बसाइँसराइ र अव्यवस्थित सहरीकरणको वृद्धि स्वयं सामाजिक परिवर्तनको सूचक हो, जसका कारण पानीको माग झनै बढ्दै जानेछ । यस परिवर्तनशील अवस्थाले धर्तीलाई सिञ्चित गर्दै अत्यधिक लाभ लिन सकिने सम्भावना त देखाउँछ नै साथै स्रोत व्यवस्थापनमा नयाँ सोच र नीति आवश्यक भएको संकेत पनि गर्छ ।

उचाइबाट बहने हिमनदीमा पानीको बहाव तीव्र रहने हुँदा जलऊर्जा विकास र विद्युतीकरणमा ठुलो सहयोग पुग्ने तथ्य परिवर्तनको यही यात्राको महत्वपूर्ण आयाम हो । तर यही परिवर्तनले वर्षा याममा पहाडमा भूक्षय र तराईमा बाढीको प्रकोप निम्त्याउने सम्भावनालाई पनि त्यत्तिकै बढाएको पाइन्छ । यसले प्राकृतिक सन्तुलन जोगाउन अब परम्परागत सोचभन्दा फरक र समयअनुकूल उपाय अपनाउनुपर्ने यथार्थ उजागर गरेको छ ।

यस प्रकारका हिमनदीहरू सम्बद्ध मुलुकका लागि वरदान साबित भएका छन् । निरन्तर अविरल बगिरहने नदीले नेपाललगायत सम्पूर्ण दक्षिण एसिया क्षेत्रमा खानानाना, जलऊर्जा विकास–विस्तार, वातावरणीय प्रभाव सन्तुलन र व्यापार विविधीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । तर बदलिँदो जलवायु र बढ्दो जनसंख्याले यी उपलब्धिलाई दिगो रूपमा जोगाइराख्न अब सचेत परिवर्तन अपरिहार्य भएको तथ्यप्रति हामी आँखा चिम्लिन सक्दैनौं ।

यद्यपि जनचेतनाको अभाव र संस्कारगत कमजोरीका कारण पानीको गुणस्तरप्रति उचित ध्यान दिन नसक्ने प्रवृत्ति अझै पनि यथावत् छ । परिवर्तनको यही कमीका कारण प्रकृतिद्वारा निःशुल्क प्राप्त जलसम्पदा प्रदूषित हुँदै जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढ्दै गएको देखिन्छ ।

मुलुकको भू–राजनीतिक अवस्थाका कारण अभाव, गरिबी र विसंगतिले हामी र हाम्रा सन्ततिका लागि समृद्धिको मार्ग अवरुद्ध गरिरहेका छन् । तर समयसँगै भूपरिवेष्ठित मुलुकको परिचयलाई क्रमशः परिवर्तन गर्दै सामुद्रिक पहुँचतर्फ उन्मुख हुने सम्भावनाले नेपालको पहिचानलाई नयाँ दिशातर्फ लैजाने संकेत दिएको छ । यस्तो परिवर्तनले दुई मुलुकबीचको मित्रताको कसीमा नयाँ आयाम थप्नेछ, जसलाई साकार तुल्याउन सगर र सागरको मिलन अपरिहार्य भइसकेको छ ।

प्रकृतिका अनुपम उपहारका रूपमा रहेका सगर र सागर दुवैको आ–आफ्नै पहिचान र अस्तित्व रहे पनि बदलिँदो भूगोल र समयले निम्त्याएको सहसम्बन्ध अब साझेदारीको नयाँ मोडमा रूपान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सगरको जल सागरमा मिसिएर सागर पवित्र भएझैं नेपाल र भारतीय जनताबीचको सदियौं पुरानो सम्बन्ध, सद्भाव र सहयोगलाई समयअनुकूल परिवर्तनसहित व्यवहारमा उतार्ने हो भने सम्बन्ध विस्तारको यात्रामा नयाँ गति आउन सक्छ । यसका लागि दुवै पक्षले इमानदारीपूर्वक परिवर्तन स्वीकार गर्दै अघि बढ्नुपर्छ । परिणामतः द्विपक्षीय सह–सम्बन्ध विकासमा तिक्तताको साटो विश्वासको संस्कार विकास हुनेछ र यस सहकार्यले दुवै मुलुकको आर्थिक समृद्धि तथा नागरिकको जीवनस्तर सुधारमा उल्लेखनीय परिवर्तन ल्याउनेछ ।

यसले आज देखिएको अराजक व्यवहारमा न्यूनता ल्याउँदै कूटनीतिक सम्बन्धलाई परिपक्व बनाउनेछ । छिमेकी राष्ट्रसँगको मैत्रीपूर्ण सहसम्बन्ध विस्तारमा भनाइ र गराइबीच तालमेल मिलाउन नसके परिवर्तन नकारात्मक दिशामा जान सक्ने हुँदा वैदेशिक कूटनीतिमा संवेदनशीलता झन् आवश्यक भएको छ ।

यदि सहयोगको भाव कमजोर हुँदै गयो र तेस्रो पक्षको सहारामा जाने संकेत बढ्दै गयो भने त्यसले कूटनीतिक सम्बन्धमा दीर्घकालीन परिवर्तन र जटिलता निम्त्याउन सक्छ । ‘छोरी कुटेर बुहारी तह लगाउने’ उखानझैं असन्तुलित व्यवहारले कहिलेकाहीँ सम्बन्ध विस्तारमा प्रत्यूत्पादक असर पार्ने यथार्थ आधुनिक नेपाली समाजले चासोपूर्वक हेरिरहेको छ ।

यद्यपि विगतका केही असमझदारीलाई समयसँगै चिर्दै, नयाँ सोच र सकारात्मक परिवर्तनसहित मैत्रीपूर्ण सहकार्यको आरम्भ गर्न सकियो भने द्विपक्षीय सम्बन्ध विकासमा ठुलो लाभ लिन सकिनेछ । छिमेकीलाई चिढ्याएर होइन, परिवर्तनशील विश्वसँग तालमेल मिलाउँदै रिझाएर अघि बढ्ने कूटनीतिक प्रवृत्तिले मात्र सगर–सागरको समन्वयलाई वास्तविक अर्थमा सार्थक बनाउनेछ ।

सम्बन्धित खबर