२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

ट्रेकिङ, हाइकिङ र होमस्टे

shivam cement
प्रतिमा भट्टराई
२०८२ माघ २२ गते १५:५६
Shares
ट्रेकिङ, हाइकिङ र होमस्टे

नेपाली समाज परम्परागत रूपमा आत्मीयता, सामूहिकता र आतिथ्य संस्कृतिमा आधारित छ । केही दशकअघिसम्म कसैलाई भेट्ने, खुसी साट्ने वा दुःख पोख्ने बहाना भनेकै घरमै खाना खान बोलाउने हुन्थ्यो । पाहुनाको स्वागत घरकै भान्सामा पकाएको ढिँडो, भात, सागसब्जी र अचारले गरिन्थ्यो । घरमै बस्ने, घरमै खाने र घरायसी दुःखसुखमा रमाउने नेपाली जीवनशैली थियो । तर पछिल्ला केही दशकमा यो व्यवहार पूरै फेरिएको छ ।

आजभोलि पाहुनालाई घरमा बोलाउनेभन्दा ‘थकाली खाना खाऔं,’ ‘रैथाने भान्सा घर जाऔं’ वा ‘नयाँ रेस्टुरेन्ट ट्राइ गरौं’ भन्ने प्रस्ताव सामान्य भइसकेको छ । आतिथ्यता घरको आँगनबाट होटल र रेस्टुरेन्टको टेबलतिर सरेको छ । सहरिया व्यस्तता, समयको अभाव, बढ्दो व्यक्तिगत दूरी र सामाजिक सम्बन्धमा आएको फेरबदलले यो परिवर्तन आएको देखिन्छ । 

नेपालीहरू घुम्न, हिँड्न र प्रकृतिसँग नजिक हुन थालेका छन् । गाउँघरको पुरानो स्वाद र संस्कृतिको झल्को मेट्न होमस्टेमा जान थालेका छन् । स्याङ्जाको सिरुबारी गाउँबाट सुरु भएको होमस्टे अवधारणाले नेपाली पर्यटनमा नयाँ अभ्यास सुरु गर्‍यो । स्थानीय संस्कार, भोजन र दैनिकीलाई नै आकर्षण बनाउने यो मोडेल आज लमजुङको घलेगाउँ, बर्दियाको डल्ला, बाँकेको गाभरलगायतका थुप्रै गाउँमा फैलिएको छ । यस्ता होमस्टेमा सहरका मानिस गाउँ पुगेर स्थानीय भान्साको स्वाद लिन्छन्, स्थानीय जनजीवनका कथा सुन्छन् र केही समयका लागि भए पनि गाउँकै जीवन जिउँछन् । बाँके, बर्दिया र चितवन निकुञ्ज वरपर पुग्नेहरू होमस्टेमा बस्ने र निकुन्जभित्र जंगल सफारी गरेर फर्किने क्रम बढेको छ । यसले गाउँको अर्थतन्त्र चलायमान बनाएको छ भने सहर–गाउँबीचको दूरी पनि घटाउन मद्दत पुर्‍याएको मानिन्छ । 

अर्को, पदयात्रा (ट्रेकिङ) नेपाली जीवनशैलीमा आएको अर्को बदलाव हो । कुनै समय विदेशी पर्यटकसँग मात्र जोडिने पदमार्गहरू आज नेपाली युवापुस्ताका लागि साहस र रमाइलोको बाहना बनेको छ । गत सिजनमा अन्नपूर्ण क्षेत्रको पदमार्गमा देखिएको ठुलो घुइँचोले यसको पुष्टि गर्छ । अन्नपूर्ण बेसक्याम्प, घोरेपानी–पुनहिल, लाङटाङ, मनास्लु, मर्दी हिमालजस्ता पदमार्गमा नेपाली यात्रुको उपस्थिति पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको छ । सगरमाथा बेसक्याम्प पुग्ने सपना बोकेर हिँड्ने नेपालीहरूको संख्या पनि बर्सेनि बढ्दै गएको छ । यी पदमार्ग गन्तव्य मात्र होइनन्, आत्मबल, धैर्य र प्रकृतिसँग नजिकिने खुला पाठशालाजस्तै बनेका छन् । कुनैबेला आन्तरिक पर्यटनलाई खासै महत्व दिइँदैनथ्यो । तर पछिल्ला वर्षमा पर्यटन व्यवसायीको एउटा मुख्य आधार घरेलु पर्यटक बनेका छन् । सरकारले केही वर्षअघि घुम्नका लागि १५ दिन बिदा दिने नीति घोषणा पनि गरेको थियो । भलै, त्यो कार्यान्वयन भएन । 

लामो दूरीका पदयात्रा आँट्न नसक्नेहरू वा भनौं त्यसको अभ्यासका लागि हाइकिङको पनि उस्तै लहर चलेको छ । काठमाडौं उपत्यका वरपर हाइकिङ गर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ । शिवपुरी, फुलचोकी, चम्पादेवी, नगरकोट, सुन्दरीजल, चोभार, टौदह र दक्षिणकाली आसपासका दर्जनौं हाइकिङ रुटहरूमा हरेक शनिबार बिहान मानिसहरूको लर्को लागेको देखिन्छ । अलिअघिसम्म शनिबार वा कुनै सार्वजनिक बिदा भनेको ढिलो उठ्ने र सहरमै अल्झिने समय हुन्थ्यो । अहिले बिहानै उठेर डाँडाकाँडा उक्लिने, पसिना बगाउने र साथीभाइसँग समय बिताउने संस्कृति बस्दै गएको छ । हाइकिङ सामाजिक भेटघाट, मानसिक ताजगी र प्रकृतिसँग नजिकिने अर्को माध्यम बनेको छ ।

यसैसँग साइक्लिङ पनि सहरी जीवनशैलीमा मिसिन थालेको छ । युवापुस्ता यसमा आकर्षित छ । तराईमधेसमा साइकिल चलाउनु सामान्य दैनिकी हो । तर पछिल्लो समय सहरी क्षेत्रमा सौख, मनोरन्जन र व्यायामको माध्यम बनेको छ । सहरका सडकदेखि ग्रामीण उकालो–ओरालोसम्म साइक्लिस्ट देखिन थालेका छन् । काठमाडौं मात्र होइन, अन्य सहरमा पनि साइक्लिङ इभेन्ट हुन थालेका छन् । कोरा, टुर द पोखरा, नेपालगन्जको ‘चली ठाकुरद्वारा’ चर्चित इभेन्ट हुन्, जहाँ हजारौं साइक्लिङले भाग लिँदै आएका छन् । स्वास्थ्यप्रति सचेतना र वातावरण संरक्षणलाई प्रवर्धन गर्ने उद्देश्यले गरिएका यस्ता अभियानले समाजलाई भिन्न ढंगले जोडिरहेको पनि छ । 

पछिल्ला वर्षहरूमा नेपालीहरू घुम्न थालेका छन्, परिवारसँग रमाउन थालेका छन् । यससँगै सांस्कृतिक रूपान्तरण पनि तीव्र गतिमा भइरहेको छ । हिजो गाउँका रोधीघरमा घन्किने मादल अब सहरका रोधीसाँझमा सुनिन् थालेका छन् । गाउँमा हराउँदै गएको दोहोरी सहरका दोहोरी साँझ, क्लब र रेस्टुरेन्टसम्म आइपुगेका छन् । तिनले लोकसंस्कृतिको पुरानै झल्को दिए पनि थुप्रै विकृति सँगसँगै भित्र्याएका छन् । लोकसंस्कृतिको संरक्षण र व्यवसायीकरणबीचको द्वन्द्व प्रस्टै देखिन थालेको छ । 

यति धेरै परिवर्तनबीच एउटा सकारात्मक संकेत भनेको रैथानेपनतर्फको पुनरागमन हो । केही दशकअघि रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छोडेर सहर झरेका मानिसहरू ढिँडो, मकै, कोदो र फापरभन्दा भातलाई प्राथमिकता दिन थालेका थिए । तर आज स्वास्थ्यप्रतिको चेतना र पहिचानको खोजीमा फेरि आटो, ढिँडो, मकैको रोटी, गुन्द्रुक, सिस्नो र स्थानीय सागसब्जीको स्वाद खोज्न थालेका छन् । रैथाने बाली, भोजन र रहनसहन अब पछौटेपन होइन, गर्वको विषय बनेको छ । 

नेपाली जीवनशैलीले अहिले घरको चुलोबाट रेस्टुरेन्टसम्म, गाउँको गोरेटोबाट हिमाली पदमार्गसम्म, ढिँडोको थालबाट थकाली भान्सासम्म फड्को मारिसकेको छ । झट्ट हेर्दा यो सबै फेसनजस्तो बनेको छ । तर यसभित्र आफ्नो भित्रि पहिचान खोज्ने, प्रकृतिसँग नजिक हुने, शरीर र मनलाई सन्तुलनमा राख्ने र जीवनलाई अलि सहज र रमाइलो बनाउने चाहना लुकेको छ । यही चाहनाले आजको नेपाली समाज परम्परा र आधुनिकता दुवैलाई सँगै लिएर हिँड्न खोज्दै छ ।

सम्बन्धित खबर