
नेपालको शिक्षा प्रणाली रूपान्तरणको चरणमा छ । विगत दुई दशकमा विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक तालिमदेखि डिजिटल सिकाइसम्म, सबै तहमा सुधार देखिएका छन् । निजीकरण, प्राविधिक शिक्षा र डिजिटल कक्षाजस्ता आयामले नेपालको शिक्षालाई नयाँ दिशा दिएका छन् ।
नेपालको शिक्षा प्रणालीमा पछिल्लो दुई दशकमा निजी क्षेत्रको संलग्नता उल्लेख्य रूपमा बढेको छ । प्राथमिकदेखि माध्यमिक तहसम्म निजी विद्यालयहरूको संख्या बढ्दै गएको छ । उच्च शिक्षामा निजी लगानीले गर्दा ८० प्रतिशत क्याम्पस प्राविधिक–प्राविधिक तथा व्यावसायिक विषयमा पढाउने ट्रेन्ड देखिएको छ, जसले बजार माग र रोजगारी व्यवस्थापनलाई सुनिश्चित गर्ने प्रयास गरेको छ ।
निजीकरणले सार्वजनिक शिक्षामा देखिएको भिड, ढिलासुस्ती र स्रोत अभावको विकल्प दिएको छ । निजी संस्थाहरूले नयाँ विषय, व्यवस्थापन दक्षता र बजारमुखी पाठ्यक्रम ल्याएका छन् । उच्च शिक्षामा व्यवस्थापन, सूचना प्रविधि, स्वास्थ्य विज्ञान र इन्जिनियरिङजस्ता क्षेत्रमा निजी कलेजहरूको योगदान उल्लेखनीय छ ।
अहिले मुलुकभर सार्वजनिक र निजी लगानीका गरी ३५ हजार बढी विद्यालय सञ्चालनमा छन् भने करिब ८ हजार निजी विद्यालय छन् । अभिभावकको लगानी परिचालन गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करिब २३ प्रतिशत विद्यार्थीलाई सेवाप्रवाह गरिरहेको छ । पछिल्लो १० वर्षको एसएलसी वा एसइई परीक्षाको नतिजाको उत्तीर्ण प्रतिशत हेर्ने हो भने निजी विद्यालयको उत्तीर्ण प्रतिशत लगभग ९० प्रतिशतको हाराहारीमा छ । यसको अर्थ निजी विद्यालयले शैक्षिक गुणस्तरमा पनि ध्यान दिएको देखिन्छ ।
निजी संस्थाहरूले सुविधा, आधुनिक कक्षाको प्रयोग, अंग्रेजी भाषा, नियमसंगत उपस्थितिलाई बढी ध्यान दिए । सामाजिक असमानता र खर्चिलो शुल्क लागू हुने ती संस्थाहरूले सरकारी शिक्षा प्रणालीलाई कामै नलाग्ने अवस्थामा छ भन्ने भाष्य पनि सिर्जना गर्न सहयोगी भए । तर जे भए पनि शिक्षा क्षेत्रमा देखिएको यो परिवर्तन अथवा निजीकरणको प्रभावले सरकार पनि आफ्नो शिक्षा प्रणालीमा सुधार गर्न बाध्य भएको छ, यो सकारात्मक पक्ष हो ।
अंग्रेजी भाषा बोल्न सक्नु ठुलो कुरा नहुन सक्छ । अंग्रेजीमा कमजोर भएकै कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउनु ठुलो कुरा पक्कै हो । निजी विद्यालयले उत्पादन गरेका विद्यार्थी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छन् । यसका लागि भाषाको मात्र भूमिका नभएर सिकाइको तहले पनि फरक पारेको छ ।
तर निजीकरणसँगै शिक्षा क्रमशः महँगो बन्दै गएको यथार्थ पनि लुकाउन मिल्दैन । आर्थिक हैसियत कमजोर भएका परिवारका लागि गुणस्तरीय शिक्षा पहुँचबाहिर जाने जोखिम बढेको छ । यसले शिक्षा सामाजिक समानताको साधनभन्दा पनि वर्गीय विभाजनको कारक बन्दै गएको आलोचना जन्माएको छ । राज्यले निजीकरणलाई नियन्त्रण, नियमन र सार्वजनिक–निजी साझेदारीको सन्तुलित मोडेलमा लैजान नसक्दा यो बहस अझ चर्किएको हो ।
त्यस्तै, शिक्षा प्रणालीमा देखिएको अर्को महत्वपूर्ण पक्ष प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पनि हो । २०४५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको स्थापना भयो । अहिले यसको नेटवर्क र कार्यक्रम देशभरि नै विस्तार भएको छ । पछिल्ला प्रतिवेदनहरूमा १ हजार ६ सय ६५ संस्थाहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरेको पुष्टि छ ।
विशेषगरी २०६० सालपछि प्राविधिक विद्यालय, डिप्लोमा कार्यक्रम, छोटो अवधिका तालिम र सिप परीक्षण प्रणाली विस्तार भएको देखिन्छ । इन्जिनियरिङ, स्वास्थ्य, कृषि, होटल व्यवस्थापन, अटोमेकानिक्स, इलेक्ट्रोनिक्स र सूचना प्रविधिजस्ता क्षेत्रमा प्राविधिक शिक्षा लिने युवाको संख्या बढेको छ । ग्रामीण क्षेत्रका युवालाई सिपमार्फत रोजगारीमा जोड्ने प्रयास पनि भएका छन् । वैदेशिक रोजगारीमा जाने युवाका लागि सिप प्रमाणीकरण र तालिमले आयस्तर सुधार गर्न सहयोग पुर्याएको छ ।
यसमा पनि विद्यार्थी भर्नादर र पाठ्यक्रम अनुरूपबजार मागबीचको अन्तर अझै छ । प्राविधिक शिक्षा कार्यक्रम सबै स्थानीय तहमा समान रूपमा पुग्न सकेकोे छैन । तथापि उत्पादन एवं रोजगारमूलक शिक्षाका लागि प्राविधिक शिक्षा महत्वपूर्ण बनेको देखिन्छ ।
नेपालको शिक्षामा देखिएको अर्को महत्वपूर्ण आयाम डिजिटल कक्षा पनि हो । डिजिटल कक्षा अथवा शिक्षा इन्टरनेट, कम्प्युटर, अनलाइन प्लेटफर्ममार्फत गरिने शिक्षण–सिकाइ हो । नेपालको सन्दर्भमा कोभिड–१९ महामारीपछि डिजिटल कक्षा तीव्र गतिमा प्रयोगमा आएको देखिन्छ । विद्यालय र कलेज बन्द हुँदा अनलाइन कक्षा, भर्चुअल परीक्षा, डिजिटल सामग्री र टेलिभिजन÷रेडियो शिक्षाको प्रयोग व्यापक बन्यो । यसले शिक्षक र विद्यार्थी दुवैलाई प्रविधिसँग नजिक ल्यायो । डिजिटल कक्षाले समय र स्थानको सीमालाई तोडेको छ ।
सिकाइ चौतारी, एडुसफ्ट नेपाल, सेडेपकालगायतका डिजिटल प्लेटफर्ममार्फत आजभोलि घरमै बसेर पनि पढाइ गर्न सकिन्छ । आधारभूतदेखि माध्यमिक र विश्वविद्यालय तहसम्म र अन्य प्रतिस्पर्धात्मक पढाइ र सिकाइका लागि पनि डिजिटल कक्षा र प्लेटफर्म महत्वपूर्ण साबित भएका छन् । तथापि इन्टरनेट र कम्प्युटर दुवैको पहुँचमा असमानता अपूरो रहेको र सबै विद्यार्थीलाई डिजिटल शिक्षा बराबरीले प्राप्त नभएको गुनासा छन् ।
विगत दुई दशकमा नेपालको शिक्षा प्रणालीले निजीकरण, प्राविधिक शिक्षा र डिजिटल शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छन् । निजीकरणले अधिक विकल्प प्रदान गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमले सिप–आधारित शिक्षा अघि बढाएको छ । डिजिटल कक्षाले शिक्षालाई प्रविधिमैत्री बनाएको छ । सरकारले निजी विद्यालयमाथि नियमन गर्नुपर्छ । प्राविधिक शिक्षालाई उद्योग, कृषि र सेवासँग जोड्नुपर्छ । डिजिटल कक्षालाई सबै विद्यार्थीको पहुँचमा पुर्याउन राज्यले प्रविधि पूर्वाधारमा लगानी बढाउनुपर्छ । यसो गरियो भने शिक्षा केवल प्रमाणपत्रको माध्यम नभई नेपालको आर्थिक र सामाजिक रूपान्तरणको मेरुदण्ड बन्न सक्छ ।