
जलवायु परिवर्तन अहिले विश्वकै सबैभन्दा जटिल समस्या बनेको छ । लामो समयसम्म पृथ्वीको तापक्रम, वर्षा प्रणाली र मौसम चक्रमा देखिने अस्वाभाविक परिवर्तनले मानव जीवनमा गहिरो प्रभाव पार्दै लगेको छ । तीव्र र अव्यवस्थित सहरीकरणले वातावरणीय समस्यालाई अझ चर्काएको छ । नेपालले विश्वको कुल कार्बन उत्सर्जनमा नगण्य योगदान गरे तापनि जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूको सूचीमा पर्छ ।
बढ्दो तापक्रम, अनियमित वर्षा, बाढीपहिरो, वायु प्रदूषण, पानीको अभाव र फोहोर व्यवस्थापनको समस्या आज हाम्रा सहर र गाउँ दुवैका साझा चुनौती बनेका छन् । नेपाल जलवायु परिवर्तनको दृष्टिले नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील र विकासोन्मुख मुलुकमा यो समस्या अझ संवेदनशील बन्दै गएको छ ।
विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्तै न्यून (०.१ प्रतिशतभन्दा कम) भए पनि यसको असर नेपालले बढी भोगिरहेको छ । भौगोलिक विविधता, कमजोर पूर्वाधार र जीविकोपार्जनका लागि प्रकृतिमाथिको उच्च निर्भरता नेपाललाई अझ जोखिमपूर्ण बनाउने मुख्य कारण हुन् ।
नेपालमा पछिल्ला केही दशकयता औसत तापक्रम विश्व औसतभन्दा छिटो बढिरहेको तथ्यांकहरूले देखाएका छन् । विशेषगरी हिमाली र पहाडी क्षेत्रमा तापक्रम वृद्धिदर उच्च छ । यसको प्रत्यक्ष प्रभावस्वरूप हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, जसले हिमताल विस्फोटको जोखिम बढाएको छ । नेपालमा जोखिमयुक्त हिमतालहरूको संख्या ४७ भन्दा बढी रहेको सरकारी अध्ययनहरूले देखाएका छन्, जुन तल्लो तटीय क्षेत्रमा बाढी र जनधनको ठुलो क्षतिको कारण बन्न सक्छ ।
जलवायु परिवर्तनकै कारण नेपालमा मनसुन प्रणाली अनियमित बन्दै गएको छ । कतै अत्यधिक वर्षा भएर बाढी–पहिरो जाने, कतै लामो समयसम्म पानी नपर्ने समस्या बढ्दो छ । यसले कृषि क्षेत्रमा गम्भीर असर पारेको छ । हिमालहरूमा पर्याप्त हिउँ छैनन् । सेता हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, मौसमजन्य विपद्का कारण हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिन क्षतिग्रस्त हुने गरेको छ, जसले खाद्य सुरक्षा र किसानको आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ ।
सहरी क्षेत्रमा नेपालको अवस्था झन् चुनौतीपूर्ण देखिन्छ । पछिल्ला वर्षहरूमा सहरीकरणको गति तीव्र भए पनि त्यसअनुसारको योजना र पूर्वाधार विकास हुन सकेको छैन । काठमाडौं उपत्यका यसको स्पष्ट उदाहरण हो । सवारीसाधनको चाप, निर्माण कार्य, उद्योग र खुला फोहोर जलाउने प्रवृत्तिले काठमाडौंको वायु प्रदूषणस्तर दक्षिण एसियामै उच्चमध्ये एक बनाएको छ । वायु प्रदूषणका कारण श्वासप्रश्वास, मुटु तथा दीर्घकालीन स्वास्थ्य समस्या बढ्दै गएका छन् ।
फोहोर व्यवस्थापन नेपालको अर्को गम्भीर समस्या हो । काठमाडौं उपत्यकामा मात्र दैनिक करिब १ हजार २ सय मेट्रिक टन फोहोर उत्पादन हुने भए पनि यसको दीर्घकालीन र वातावरणमैत्री व्यवस्थापन चुनौतीपूर्ण छ । ल्यान्डफिल साइटमा निर्भरता, स्थानीय विरोध र पुनः प्रयोगको कमजोर अभ्यासले समस्या जटिल बनेको छ ।
पानीको अभाव पनि सहरी नेपालको प्रमुख संकट बन्दै गएको छ । प्राकृतिक जलस्रोतको अतिक्रमण, कंक्रिट संरचनाको अत्यधिक प्रयोग र वर्षाको पानी संकलन प्रणालीको अभावले भूमिगत पानीको सतह घट्दै गएको छ । मेलम्चीजस्तो आयोजना भए पनि दीर्घकालीन समाधानका लागि दिगो जल व्यवस्थापन अझै आवश्यक छ । नीतिगत रूपमा नेपालले राष्ट्रिय जलवायु परिवर्तन नीति, राष्ट्रिय अनुकूलन कार्यक्रम र स्थानीय अनुकूलन कार्ययोजनाजस्ता प्रयास अघि बढाएको छ । तर कार्यान्वयन कमजोर हुनु, स्रोतसाधनको अभाव र संस्थागत समन्वय नहुँदा अपेक्षित परिणाम आउन सकेको छैन ।
नेपाल जलवायु परिवर्तन र सहरी वातावरणीय संकटको अग्रपंक्तिमा रहेकाले यसका चुनौती गहिरा छन् । वैज्ञानिक अध्ययनअनुसार औद्योगिक क्रान्तिपछि पृथ्वीको औसत तापक्रम करिब १.१ डिग्री सेल्सियसले वृद्धि भइसकेको छ । जीवाश्म इन्धन (कोइला, पेट्रोलियम, ग्यास)को अत्यधिक प्रयोग, वन विनाश र औद्योगिक गतिविधिबाट उत्सर्जित हरितगृह ग्यास यसको प्रमुख कारण हुन् । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार विश्वभर हुने कुल हरितगृह ग्यास उत्सर्जनको करिब ७५ प्रतिशत ऊर्जा, उद्योग र यातायात क्षेत्रबाट निस्कन्छ । यही कारणले समुद्री सतह बढ्नु, चरम मौसमी घटना बढ्नु र जैविक विविधतामा क्षति पुग्नुजस्ता समस्या विश्वभर फैलिरहेका छन् । जलवायु परिवर्तनका कारण कृषि प्रणाली प्रत्यक्ष रूपमा प्रभावित भएको छ । सरकारी तथ्यांकअनुसार मौसमजन्य विपद्का कारण वार्षिक रूपमा ५ देखि १० प्रतिशतसम्म कृषि उत्पादनमा क्षति पुग्ने गरेको छ । यसले खाद्य सुरक्षामा समेत चुनौती थपेको छ ।
अहिले देशको करिब ६० प्रतिशतभन्दा बढी जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्ने गरेको विभिन्न तथ्यांकहरूले बताउँछन् । तर यो सहरीकरणलाई योजनाबद्ध नभई अव्यवस्थित बसोबासका रूपमा लिइएको छ । सहर विस्तारसँगै वायु प्रदूषण, ट्राफिक जाम, खुला स्थानको अभाव, अव्यवस्थित बस्ती र खानेपानी संकटजस्ता समस्या बढिरहेका छन् । सहरमा जनसंख्या केन्द्रित हुँदा ऊर्जा खपत र फोहोर उत्पादन पनि तीव्र रूपमा बढेको छ, जसले वातावरणीय प्रभावमाथि दबाब थपेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अकाल मृत्यु हुने गर्छ । काठमाडौं उपत्यका दक्षिण एसियाकै प्रदूषित सहरमध्ये पर्छ । सवारीसाधनबाट निस्कने धुवाँ, निर्माण कार्यको धुलो, उद्योग तथा खुला रूपमा फोहोर जलाउने प्रवृत्तिले मानवीय स्वास्थ्यमा दीर्घकालीन निम्त्याइरहेको छ ।
यी जटिल समस्याको समाधानका लागि दीर्घकालीन सोच र सामूहिक प्रयास आवश्यक छ । नवीकरणीय ऊर्जाको प्रयोग विस्तार, सार्वजनिक तथा विद्युतीय यातायात प्रवर्धन, हरित सहरको अवधारणा, फोहोरको स्रोतमै वर्गीकरण र पुनः प्रयोग, तथा खुला स्थान र हरियाली संरक्षणजस्ता उपाय प्रभावकारी हुन सक्छन् । साथै, स्थानीय तहलाई जलवायु अनुकूलनमा सशक्त बनाउनु अत्यावश्यक भइसकेको छ ।