
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक मेरुदण्ड हो । २००३ मा स्थापना भएको कांग्रेसले राणा शासनको अन्त्यदेखि बहुदलीय व्यवस्था, संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा निर्णायक भूमिका निर्वाह गर्यो । यही ऐतिहासिक पृष्ठभूमिका कारण निर्वाचनहरू नेपाली कांग्रेसका लागि केवल सत्तामा पुग्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रप्रतिको प्रतिबद्धता, संगठनात्मक क्षमता र जनविश्वासको कठोर परीक्षा बन्ने गरेको छ ।
नेपालको निर्वाचन इतिहासमा कांग्रेसको उपस्थिति निरन्तर केन्द्रीय रहँदै आएको छ । २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले १०९ मध्ये ७४ सिट जित्दै स्पष्ट बहुमतको सरकार गठन गरेको थियो । बी.पी. कोइरालाको नेतृत्वमा बनेको त्यो सरकार नेपालकै पहिलो जननिर्वाचित सरकार थियो, जसले निर्वाचनमार्फत शासन सञ्चालनको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने काम गरेको थियो । पञ्चायती व्यवस्थापछि २०४८ सालको संसदीय निर्वाचनमा कांग्रेसले २०५ सिटमध्ये ११० सिट जित्यो । २०५१ सालको मध्यावधि निर्वाचनमा ८३ सिटसहित सबैभन्दा ठूलो दल रह्यो भने २०५६ सालमा १११ सिट जित्दै पुनः बहुमत सरकार गठन गर्यो । यी तीन निर्वाचनमा कांग्रेसले औसत रूपमा ३५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको तथ्यले त्यस समय कांग्रेस जनमतको केन्द्रमा रहेको देखाउँछ ।
तर कांग्रेसको निर्वाचन यात्रा सधैँ उकालो मात्र रहेन । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस ६०१ सदस्यीय सभामा ११० सिटमा सीमित हुँदै तेस्रो स्थानमा झर्यो । यो परिणाम पार्टीका लागि गम्भीर आत्मसमीक्षाको बिन्दु बन्यो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने कांग्रेसले १९६ सिट जित्दै पुनः पहिलो दलको स्थान हासिल गर्यो । संघीय संरचनापछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस २७५ मध्ये ६३ सिटमा सीमित भयो । २०७९ सालको निर्वाचनमा भने कांग्रेसले ८९ सिट जित्दै पुनः सबैभन्दा ठूलो दल बने पनि स्पष्ट बहुमत प्राप्त गर्न सकेन । २०७९ मा कांग्रेसको प्रत्यक्षतर्फको मत प्रतिशत करिब ३१ प्रतिशतमा सीमित रहनुले पार्टीको जनाधार स्थिर भए पनि विस्तार हुन नसकेको संकेत गर्छ ।
आजको राजनीतिक प्रतिस्पर्धा अघिल्ला दशकभन्दा धेरै जटिल बनेको छ । कांग्रेसले अब नेकपा (एमाले) वा नेपाली कम्युनिस्ट पार्टी मात्र होइन, क्षेत्रीय दल र नयाँ राजनीतिक शक्तिहरूसँग पनि एकैसाथ प्रतिस्पर्धा गर्नुपरेको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनपछि सातभन्दा बढी दल संसदमा पुग्नु नै मत विभाजनको स्पष्ट प्रमाण हो । यही यथार्थले गठबन्धन राजनीतिलाई अनिवार्य बनाएको छ । कांग्रेस २०७९ मा गठबन्धनमार्फत सबैभन्दा ठूलो दल बने पनि दीर्घकालीन रूपमा यसले पार्टीको वैचारिक पहिचान र संगठनात्मक आत्मनिर्भरतालाई कमजोर बनाउने अवस्थामा ल्यायो ।
विशेष महाधिवेशनमार्फत गगन थापा नेपाली कांग्रेसको सभापति बनेपछि कांग्रेसभित्र ठूलो उथलपुथलको अवस्था छ । केवल नेतृत्व परिवर्तन मात्र होइन, कांग्रेसको राजनीतिक कार्यशैलीमा परिवर्तनको संकेत देखिएको छ । यसले कांग्रेस मात्रै होइन, राष्ट्रिय राजनीतिमा पनि ठूलो बदलावको संकेत दिएको छ । एकातिर निर्वाचनमै गठबन्धन गर्नुपर्ने अवस्था रोकिएको छ भने अर्कोतिर उम्मेदवार छनौटमा पनि विवादित अवस्था टुंगिएको छ । यसले कांग्रेसभित्र मात्रै होइन, राष्ट्रिय राजनीतिमै नयाँ आशा पलाएको छ ।
आजको मतदाता इतिहासभन्दा बढी परिणाम खोज्छ । रोजगारी, शिक्षा, स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाह मतदाताको मुख्य सरोकार बनेका छन् । कांग्रेसले लोकतन्त्र स्थापनाको गौरवशाली इतिहास बोकेको भए पनि निर्वाचनको कसौटीमा त्यो इतिहास मात्र पर्याप्त हुँदैन । गगन थापाको नेतृत्वमा कांग्रेसबाट नाराभन्दा कार्यान्वयन, भाषणभन्दा परिणाम र प्रतिबद्धताभन्दा डेलिभरी खोजिएको छ । स्वास्थ्य क्षेत्रमा देखिएको उनको कार्यशैलीलाई अर्थतन्त्र, शिक्षा र सुशासनमा विस्तार गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न नै निर्णायक बनेको छ ।
समग्रमा, निर्वाचनको कसौटिमा नेपाली कांग्रेस आज अनुभव, प्रतिस्पर्धा र लोकतान्त्रिक दायित्वको संगममा उभिएको छ । सात दशकभन्दा लामो इतिहास नेपाली कांग्रेसको लागि ठूलो पूँजी हो, तर भविष्य नेतृत्व, नीति र परिणामले निर्धारण गर्नेछ । गगन थापाजस्ता नयाँ पुस्ताका नेताको उदय कांग्रेसका लागि अवसर हो । यो अवसर सफल बन्न कांग्रेसले संगठनात्मक सुधार, स्पष्ट नीतिगत दिशा र जनअपेक्षा सम्बोधन गर्न सक्नुपर्छ । यद्यपि, नेपाली कांग्रेसको निर्वाचन सफलता वा असफलता केवल सिट संख्याले होइन, नेपाली लोकतन्त्रलाई कति बलियो बनायो भन्ने आधारमा मूल्यांकन हुनेछ ।
गगन थापा नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधि नेता हुन् । यदि उनले जनताको आशा र भरोसा जित्न सके भने अहिलेको राजनीतिक प्रणालीप्रति घट्दै गएको जनविश्वासलाई पनि उनले पुनस्थार्पित गर्न सक्छन् ।
नेपालको कुल जनसंख्याको करिब ४० प्रतिशत ४० वर्षमुनिका युवाहरू छन् । तर पछिल्ला निर्वाचनहरूमा युवाको सहभागिता घट्दो क्रममा छ, जसले राजनीतिप्रति बढ्दो वितृष्णा देखाउँछ । गगन थापाको मुख्य शक्ति नै युवासँगको सम्बन्ध र भरोसा हो । शिक्षा, रोजगारी, सीप विकास, स्टार्टअप प्रवद्र्धन र विदेश पलायन रोक्ने ठोस योजना प्रस्तुत गर्न सके युवामा नयाँ आशा जगाउन सकिन्छ । रोजगारी सिर्जनामा निजी क्षेत्रसँग सहकार्य र सीपमूलक तालिम विस्तारजस्ता कार्यक्रमले यसलाई व्यवहारिक बनाउँछन् ।
त्यस्तै, सुशासन र भ्रष्टाचार नियन्त्रण जनताको भरोसा फर्काउने प्रमुख आधार हो । ट्रान्सपरेन्सी इन्टरनेसनलका विभिन्न सूचकांकले नेपालमा भ्रष्टाचार गम्भीर समस्या रहेको देखाएका छन् । जनताले अब भ्रष्टाचारविरुद्धका नाराभन्दा पनि दैनिक जीवनमा महसुस हुने परिवर्तन खोजिरहेका छन् । सार्वजनिक खर्चमा पारदर्शिता, डिजिटल सेवा विस्तार र राजनीतिक संरक्षणको अन्त्य गर्न सके विश्वास बढ्न सक्छ ।
स्वास्थ्य, शिक्षा र अर्थतन्त्रजस्ता क्षेत्रमा तथ्य र डाटामा आधारित नीति अत्यावश्यक छ । सरकारी अस्पतालमा उपचार खर्च घटाउने, सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने र साना तथा मझौला उद्योगलाई कर र कर्जामा सहुलियत दिने नीति प्रत्यक्ष जनजीवनसँग जोडिन्छ । यस्ता योजनामा स्पष्ट समयरेखा र मापनयोग्य लक्ष्य समावेश हुनुपर्छ ।
नेतृत्व विश्वसनीय हुन पार्टीभित्र पनि लोकतान्त्रिक अभ्यास देखिनुपर्छ । निर्णय प्रक्रिया र नेतृत्व चयनमा पारदर्शिता कायम गर्न सके जनताले साँच्चै परिवर्तन सुरु भएको अनुभूति गर्नेछन् । गगन थापाको नेतृत्व जनताको आशा र भरोसामा बदलिन सक्छ–तर त्यो इमानदार काम, नतिजा र निरन्तरताबाट मात्र सम्भव हुनेछ ।