नेपालको ६५ वर्षे चुनावी इतिहासमा यसपटक नौलो परिवेशमा स्थानीय चुनाव हुँदैछ । आउने ३० वैशाखमा हुने स्थानीय चुनावको प्रचार, प्रतिश्पर्धा र लगानीको स्वरुप अघिल्ला चुनावहरू भन्दा विल्कुल भिन्न बन्न पुगेको छ । नेपालमा २००४ र २०१० सालमा पनि स्थानीय चुनाव भएको थियो, तर २०१५ को चुनाव वैधानिक हो । त्यो चुनावको तयारी र प्रचारका लागि झण्डै एक वर्षको अवधि छुट्याइएको थियो । चुनावमा भाग लिने दल संख्या न्यून थियो भने मतदातालाई चुनाव बुझाउन कठिन थियो । सरकारले नै त्यसबेला गाउँगाउँ पुगेर मतदान गर्न सिकाउनु परेको थियो भने लोक गायकहरुलाई चुनाव बुझाउन खटाइएको थियो । आचार संहिता नै आवश्यक परेका थिएन । चुनावको प्रचार गर्न सजिलो नभएकाले घरघर पुगेर मतदातासँग उम्मेद्वारले आग्रह गर्नु परेको थियो ।
तर बिस्तारै चुनाव र चुनावी प्रक्रियाबारे शैली परिवर्तन हुँदै गयो । भित्त लेखन, पम्लेट पोस्टर, सांस्कृतिक अभियान, आमसभा लगायतबाट चुनावी प्रचार हुन थाल्यो । भौतिक उपस्थितिमार्फत् मत माग्नुपर्ने भएकाले दलहरुबीच झडपका धेरै घटना भए । तर ०६३ सालपछि भएको राजनीतिक परिवर्तनले जीवन पद्दति नै फेरियो । हातहातमा मोबाइल पुग्यो, निजी इन्टरनेट कम्पनीहरु गाउँगाउँ पुगे । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार झण्डै ९० प्रतिशत नागरिकमा टेलिफोन र इन्टरनेटको पहुँज पुगेको छ । विजुली र सडकसँगै इन्टरनेट र टेलिफोनको पहुँजले सामाजिक सञ्जाल अहिले चुनावी प्रचारको बलियो माध्यम बनेको छ ।
राजनीतिक दल र उम्मेद्वारहरुले सामाजिक सञ्जाललाई आफ्नो प्रचारको भरपर्दो माध्यम मानेका छन् । प्रमुख दलहरुले प्रचारका लागि छुट्टै व्यवस्था मात्रै गरेको छैनन्, उम्मेद्वारहरुले पनि सामाजिक सञ्जाल हेर्ने व्यक्ति तोकेका छन् । यसले ६५ वर्षपछि प्रचारको शैली, उम्म्दवार र सरकारको लगानीको स्वरुप बदलिएको प्रष्ट हुन्छ । तर सँगै सामाजिक सञ्जालकै कारण चुनावी प्रतिश्पर्धा अस्वस्थ्य र मर्यादित समेत बन्न पुगेको छ । तथ्यहीन सूचनाका आधारमा आरोप लगाउने प्रवृत्ति मौलाएको छ । यसको अर्थ यसअघिका चुनाव निष्पक्ष हुन्थ्यो, अहिले मात्रै समस्या आएको भन्ने होइन । तर नयाँ प्रयोग भएकाले नयाँ समस्या आएको भने पक्कै हो । यसतर्फ नीति निर्मार्ता, सामाजिक सरोकारवाला र राजनीतिक नेतृत्वले बुझ्न जरुरी छ । सञ्जालको जञ्जाललाई उचित उपयोग गरे यो बरदान हो, तर दुरुपयोग गरेमा यो खतरनाक सावित हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies