२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

आन्दोलन, युवा र विदेशी हस्तक्षेप

shivam cement
डा. कृष्ण बेलबासे
२०८२ माघ २७ गते ०८:४१
Shares
आन्दोलन, युवा र विदेशी हस्तक्षेप

२०८२ भदौ २३÷२४ को जेनजी आन्दोलनले ल्याएको परिवर्तनका नाममा आज देशभित्र जुन किसिमको परिस्थिति सिर्जना भएको छ, त्यसलाई हेर्दा उक्त आन्दोलन नेपाली युवाहरूको स्वतन्त्र योजना र प्रयासभन्दा पनि नेपालको अस्तित्वलाई नै चुनौतीपूर्ण अवस्थामा पुर्‍याउने विदेशी प्रयासको उपज थियो भन्ने तथ्य पाँच महिनापछि देशभित्र देखापरेका अवस्थाहरूले प्रष्ट पार्दछन् । देशको अवस्थाबारे कुरा गर्दा अहिले सिर्जित अव्यवस्था, अराजकता, नाङ्गो विदेशी हस्तक्षेप र जनतामा देखापरेको आक्रोश, भ्रम र निरुत्साह मात्र उल्लेख गर्नु पर्याप्त हुँदैन । यस अवस्थाको जरा त विगत ३५ वर्षदेखि हुँदै आएका आपराधिक र अनैतिक क्रियाकलापहरूमा गाडिएको छ । लोकतन्त्र, जनतन्त्र र उदारवादको नाममा खेलिएका छद्म राजनीतिक खेलहरूले यसको आधार तयार पारेका हुन् । हालको आन्दोलनले त त्यसको परिणाम मात्र उजागर गरेको हो ।

त्यसैले जेनजी आन्दोलनको नाममा देखिएका गलत परिणामहरूको सम्पूर्ण जिम्मेवारी नेपाली युवामाथि मात्र थोपर्न मिल्दैन । उनीहरूले भोग्नुपरेको क्षति र दोषप्रति तिनका अग्रज पुस्ताले नै जिम्मेवारी लिनुपर्दछ । यसो भन्नुको तात्पर्य जेनजी आन्दोलन वा त्यसले जन्माएका परिणामहरू जायज हुन् भन्ने होइन । त्यसमा विदेशी तत्व र पात्रहरूको भूमिका रहेको यथार्थलाई अस्वीकार वा जायज ठहर्‍याउन सकिँदैन । आन्दोलनपछिका परिणामहरूलाई हेर्दा यो कुरा स्पष्ट देखिन्छ ।

ती परिणामहरूमा अवैधानिक सरकारको गठन, सरकार मात्र होइन कार्यपालिका र मातहतका निकायहरूको समेत आफ्नो दायित्व निर्वाह गर्न नसक्ने अवस्था, राजनीतिको नाममा अपराधीकरणलाई प्रोत्साहन दिने नाङ्गा खेलहरू, देश तथा राष्ट्रको सुरक्षामा उत्पन्न खुला र थप चुनौतीहरू र जनताको सोच तथा व्यवहारमा थोपरिँदै गएका विकृतिहरू प्रत्यक्ष रूपमा देखापरेका छन् ।

यहाँ प्रश्न उठ्छ– यी कुराहरूको प्रमाण के हो, यसको जिम्मेवार को हो र समाधान के हुन सक्छ ? प्रमाणका कुरा गर्दा पहिलो आधार देशको संविधान नै हो । संविधानमा व्यवस्था गरिएको सरकार गठन प्रक्रिया, सरकार र मातहत निकायहरूको कार्यप्रणाली, राजनीतिक दलको गठन, दर्ता र सञ्चालन, राष्ट्रको सुरक्षा तथा राष्ट्रहितसम्बन्धी प्रावधान र सार्वभौमसत्ता नेपाली जनतालाई सुम्पिएको सन्दर्भमा नागरिकका कर्तव्य र दायित्वहरू व्यवहारमा कत्तिको पालना भएको छ भन्ने प्रश्न गम्भीर छ । के तीमध्ये कुनै एक कुराको इमानदार पालना भएको छ ? अधिकांश व्यवस्था देखावटी बनेका छन्, व्यवहारमा उपेक्षित छन् ।

दोस्रो, नेपालमा धेरैले विदेशी मुलुकको प्रशंसा गर्दा त्यहाँ नियम, कानून, संस्कृति र नैतिक मान्यताको पालना भएको उदाहरण दिन्छन् । तर तिनै विदेशी शक्तिको उक्साहटमा लागेर आफ्नै देशमा ती मूल्यहरूको अवज्ञा गर्नुलाई योग्यता, दक्षता र क्रान्तिकारीता ठान्छन् । तेस्रो, आधुनिकताको नाममा नेपालमा सधैँ विकृति, विसंगति र द्वन्द्वलाई प्रश्रय दिइयो । आदर्श र व्यवहारबीच कहिल्यै एकरूपता देखिएन ।

अब जिम्मेवारी कसको त ? नेपालमा उत्पन्न विकृति, विसंगति र दुष्परिणामका लागि कुनै एक पक्ष मात्र जिम्मेवार छैन । सबै पक्ष आ–आफ्नो हदसम्म जिम्मेवार छन् । राजनीतिक दल र तिनका नेता–कार्यकर्ता, विभिन्न क्षेत्रका तथाकथित सक्रियतावादी र तिनको व्यवहार हेर्दा यो कुरा सहजै बुझ्न सकिन्छ । उनीहरूले जतिसुकै प्रजातन्त्र, समाजवाद, साम्यवाद वा आदर्शवादको कुरा गरे पनि निजी स्वार्थको घेराभन्दा बाहिर निस्कन सकेको देखिँदैन ।

यही विकृत प्रवृत्तिलाई आधार बनाएर विदेशी शक्तिहरूले राजनीति, शिक्षा, स्वास्थ्य, न्याय, प्रशासन, सुरक्षा, सञ्चार, उद्योग र व्यापारलगायत हरेक क्षेत्रमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण र प्रयोग गर्दै आएका छन् । यसको परिणामस्वरूप नेपालीहरू राष्ट्रिय हित र सुरक्षाविरुद्ध लाग्नु नै आफ्नो अधिकार, स्वतन्त्रता र क्षमता ठान्न थालेका छन् । यसमा देशी र विदेशी दुवै तत्व बराबर जिम्मेवार छन् ।

शताब्दीयौँसम्म साम्राज्यवादी उपनिवेशको अभ्यास गर्दै ‘विभाजन गरेर शासन गर’ भन्ने सोच बोकेका बाह्य शक्तिहरूले यही मानसिकतालाई यहाँ पनि प्रयोग गरेका छन् । विगतमा हतियार उठाएर देश जोगाउने वीर पुर्खाका सन्तान कहलिने आजका नेपालीहरू उनै शक्तिद्वारा विभाजित भएर दास बन्नुलाई आदर्श ठान्न थालेका छन् । यस्तो प्रवृत्ति राष्ट्रप्रतिको मात्र होइन, आफ्ना पूर्वजप्रतिको पनि गद्दारी हो । योजनाबद्ध रूपमा हुर्काइएकाहरू मुख्य दोषी हुन् भने भ्रमवश पछ्याएकाहरू केही कम दोषी मानिएलान्, तर सचेत गराउँदा पनि नजाग्नुले दोष झनै बढाउँछ ।

अब समाधान के ? देशलाई यो संकटमा पुर्‍याउन सबैको भूमिका छ, तर मुख्य जिम्मेवारी शासक, प्रशासक र नीति–निर्माणमा संलग्नहरूको हो । सर्वप्रथम, राष्ट्र र जनघातीहरूले आफ्ना विगतका गल्तीप्रति आत्मालोचना गर्दै सुधार गर्नुपर्छ । नसुध्रिए पद त्याग्नुपर्छ, त्यो पनि सम्भव नभए कारबाहीको दायरामा ल्याउनुपर्छ । दोस्रो, जनचेतना अत्यन्त महत्वपूर्ण छ । सार्वभौम नागरिकहरूले आफ्ना कर्तव्य बुझ्नुपर्छ । राष्ट्रिय स्वार्थमा नबोल्ने र नकाम गर्ने व्यक्तिलाई प्रतिनिधि छान्नु हुँदैन । योग्य र इमानदार प्रतिनिधि चयन नगर्ने हो भने प्रजातन्त्रको कुनै अर्थ रहँदैन ।

आजभोलि युट्युब र मिडियामार्फत झुटा अभिव्यक्ति दिने र अभद्र गालीगलौज गर्नेहरूलाई नै सक्षम ठान्ने प्रवृत्ति बढ्दो छ । यसरी विदेशी दलालहरूले हाम्रा राष्ट्रनिर्माता र संरक्षकलाई गद्दार ठहर्याउँदै विदेशी मालिक र तिनका पात्रलाई आदर्श बनाइरहेका छन् । यो देशका लागि अत्यन्त दुःखद अवस्था हो ।

राजनीति राज्य सञ्चालन गर्ने प्रक्रिया हो र राज्य सञ्चालन भनेको राष्ट्रहित र जनहितको सेवा हो । राजनीतिका दुई रूप हुन्छन्– राष्ट्रहितमा आधारित राजनीति र स्वार्थमा आधारित राजनीति । पहिलो त्याग, बलिदान र समर्पणमा केन्द्रित हुन्छ भने दोस्रोले राजनीतिलाई व्यवसाय बनाउँछ । नेपालको राजनीति पूर्णतः दोस्रो बाटोमा गएको यथार्थ विगत ३५ वर्षको अभ्यासले देखाइसकेको छ ।

अन्ततः, निरंकुशता र अराजकता दुवै टिकाउ हुँदैनन् । अवसरवादका भरमा सत्तामा पुगेकाहरूले यो कुरा बुझ्नैपर्छ । यो लेख कुनै व्यक्तिगत लाभ वा पदका लागि होइन, वीरताको विरासत बोकेका सच्चा नेपालीहरू र भ्रम तथा स्वार्थमा अल्झिएकाहरूलाई सचेत गराउने प्रयत्न मात्र हो ।

सम्बन्धित खबर