२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

बुंगम लोकेश्वरको करुणा र संस्कृति

himalayanlife
कुसुम बज्राचार्य
२०८२ चैत ११ गते ०६:००
Shares
बुंगम लोकेश्वरको करुणा र संस्कृति

प्रागऐतिहासिक कालमा काठमाडौं उपत्यका एक विशाल तलाउ थियो, जहाँ नागहरूको बास रहेको विश्वास गरिन्छ । वरिपरि हरियालीले ढाकिएका अग्ला पर्वतहरू थिए र प्राकृतिक वातावरण अत्यन्त रमणीय थियो । भौगोलिक संरचनाका कारण पानी निकासको उचित व्यवस्था नभएकाले तलाउ स्थिर रह्यो र मानव बस्ती न्यून थियो ।

कथनअनुसार अकनिष्ठ भुवनबाट आएका विपश्वी बुद्धले नागदहमा कमलको बीज रोपेका थिए । केही समयपछि त्यहीँबाट स्वयम्भू ज्योति प्रकट भयो । उक्त ज्योतिको दर्शनका लागि विभिन्न स्थानबाट भक्तजनहरू आउने क्रम बढ्यो ।

पछि बोधिसत्व महामञ्जुश्री चीनको पञ्चशीर्ष पर्वतबाट आएर स्वयम्भूको दर्शन गरे । उनले चोभार पर्वत काटी पानी निकास गराएपछि काठमाडौं उपत्यका बसोबासयोग्य बन्यो । त्यसपछि यहाँ कृषि र मानव सभ्यताको विकास तीव्र गतिमा अघि बढ्यो ।

समयक्रममा जनसंख्या वृद्धि, वन विनाश र जलवायु परिवर्तनका कारण उपत्यकामा वातावरणीय असन्तुलन देखापर्न थाल्यो । वर्षा अनियमित हुँदा कृषि उत्पादनमा ह्रास आयो र जनजीवन कष्टकर बन्न पुग्यो । यद्यपि धार्मिक आस्था र तान्त्रिक विश्वासमा भने कमी आएन ।

काठमाडौं उपत्यकामा लामो समयसम्म वर्षा नहुँदा ठूलो संकट उत्पन्न भयो । यस समस्याको समाधान खोज्ने क्रममा भक्तपुरका राजाले तान्त्रिक गुरु बन्धुदत्तसँग परामर्श गरे । बन्धुदत्तले आफ्नो तान्त्रिक शक्तिको प्रयोग गरी करुणामय मच्छिन्द्रनाथलाई नेपाल भित्र्याए भन्ने जनविश्वास छ ।

मच्छिन्द्रनाथ उपत्यकामा प्रवेश गरेपछि वर्षा हुन थाल्यो र जनजीवन पुनः सामान्य बन्यो । यही घटनाको सम्झनामा प्रत्येक वर्ष भव्य रथयात्रा आयोजना गरिन्छ, जुन नेपालको सबैभन्दा लामो र महत्वपूर्ण जात्रामध्ये एक हो ।

हिन्दू र बौद्ध दुवै परम्परामा मच्छिन्द्रनाथलाई विशेष सम्मानका साथ पूजा गरिन्छ । बौद्ध मतमा उनी अवलोकितेश्वर बोधिसत्वका रूपमा चिनिन्छन् भने हिन्दू मतमा सिद्ध गुरुका रूपमा पूजिन्छन् । दुवै परम्पराको साझा उद्देश्य लोककल्याण नै हो ।

मच्छिन्द्रनाथको रथयात्रा नेपालको मौलिक सांस्कृतिक सम्पदा हो । यसमा परम्परागत सीप, ज्योतिषीय विधि र सामूहिक सहभागिता विशेष रूपमा देखिन्छ । रथ निर्माणदेखि सञ्चालनसम्म प्राचीन ज्ञान र परम्परा प्रयोग गरिन्छ । भोटो देखाउने प्रचलन, जाहोलाखेलमा भात छर्ने परम्परा आदि यस जात्राका विशिष्ट पक्ष हुन् । यी सबै क्रियाकलापले सामाजिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक सहिष्णुता झल्काउँछन् ।

महायान बौद्ध ग्रन्थ कारुण्यव्यूह सूत्रमा अवलोकितेश्वरलाई बोधिसत्वका रूपमा वर्णन गरिएको छ । उनलाई करुणा र लोकहितका प्रतीक मानिन्छ । नेपालमा बुंगमतीका रातो मच्छिन्द्रनाथ, जनबहालका सेतो मच्छिन्द्रनाथलगायत विभिन्न रूपहरूमा उनी पूजित छन् । इतिहासमा राजा हर्षवद्र्धन र चिनियाँ भिक्षु हुयेनसांगको उल्लेखले पनि अवलोकितेश्वरको प्रभावलाई पुष्टि गर्छ । यसले करुणामयको पूजा केवल धार्मिक आस्था मात्र नभई ऐतिहासिक रूपमा पनि महत्वपूर्ण रहेको देखाउँछ ।

बुंगम लोकेश्वर (मच्छिन्द्रनाथ) केवल धार्मिक प्रतीक मात्र नभई सामाजिक एकता, कृषि समृद्धि र सांस्कृतिक पहिचानका केन्द्र हुन् । यिनको जात्रा र परम्पराले लोककल्याण, सहअस्तित्व र सांस्कृतिक संरक्षणको सन्देश दिन्छ । आजको परिवर्तित सन्दर्भमा प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणका लागि वैज्ञानिक सोच र मानव चेतनाको विकास आवश्यक छ । परम्परागत ज्ञान र आधुनिक दृष्टिकोणको समन्वयले मात्र यस्ता अमूल्य सम्पदाको दीर्घकालीन संरक्षण सम्भव हुन्छ ।

सम्बन्धित खबर