–झील साह
प्रजातन्त्र आउनुअघि मधेशी समुदायलाई ‘बडा हाकिम’को अनुमतिबिना काठमाडौंमा जान दिइँदैन थियो । शताब्दीयौंदेखि नेपालमा बसोबास गर्ने मधेशीहरूलाई नेपाली नभई भारतीय वा आप्रवासी भनेर लेबल लगाइने र ‘धोती’ वा ‘काले’ जस्ता अपमानजनक शब्दहरूले सम्बोधन गरिन्छ भने त्यो हाम्रो संविधानको खिलाफ हो । हाम्रो संविधानलाई सबै जातजातिलाई समानरूपमा दर्जा दिएको छ । तर, पनि संविधानको मर्मभन्दा बाहिरबाट मधेशी समुदायमाथि अपमान भइरहेको छ ।
तराई मधेशमा पहाडी समुदायका बासिन्दा पनि बस्दछन् । उनीहरूको खानपान, रहनसहन सबै मधेशी जस्तै छ । पनि ति पहाडीलाई राजधानी काठमाडौंले नेपालीको रूपमा हेर्छ तर, त्यहीँ बस्ने मधेशी समुदायलाई मर्छिया, भैया र धोती भनेर हेय दृष्टिले हेर्छ । यो कति उचित होला ?
संविधानले सबै मधेशीलाई समान अधिकार मात्रै होइन, कतिपय अवस्थामा विशेष अधिकारको पनि प्रत्याभूति गरेको छ । त्यसैले नेपालको भूगोलमा रहेका हरेक व्यक्तिको राष्ट्रियता नेपाली हो । अनुहार, भेषभुषा, खानपान, रहनसहन, भाषाको दृष्टिले कसैमाथि भेदभाव गर्न पाइदैन । सम्पूर्ण मधेशीलाई नेपाली भएको अनुभूति राज्यले गराउन सक्नुपर्छ । त्यसपछि मात्रै मधेशी पनि आफू नेपाली हो भनेर आफ्नो शीर उँचो पारेर सन्तुष्टिको श्वास लिन पाउँछन् ।
(साह, भारतीय दूतावासअन्तर्गतको केन्द्रिय विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् ।)