२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

कांग्रेसमा छिरेको गलत प्रस्ताव

hardik ivf
२०८१ माघ २४ गते ०६:१५
कांग्रेसमा छिरेको गलत प्रस्ताव

सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरूका लागि राष्ट्रिय राजनीति भन्दा पनि आन्तरिक राजनीति बढी महत्त्वको एजेन्डा बन्न पुगेको देखिन्छ जबकि सत्ता साझेदार र विपक्षमा रहेका अरू दलहरूलाई भने राष्ट्रिय राजनीति नै मूल एजेन्डा बनिरहेको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको रक्षार्थ सिंगो पार्टी परिचालन गरेका छन् । आगामी वैशाखसम्म चल्ने वडा केन्द्रित ३ महिने ‘जरा अभियान’को मूल उद्देश्यमै एमालेले सरकारको रक्षार्थ प्रचारलाई राखेको छ । सरकारको विपक्षमा हुने प्रचारलाई सामाजिक संजालबाट खण्डन गर्न एमालेका नेताहरूले बारम्बार कार्यकर्ता पंक्तिलाई निर्देशन दिइरहेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षमा रहेका अरू नेताहरूले सरकार अब धेरै नचल्ने प्रचार गरिरहेका छन् । प्रचण्डलाई मुख्यगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साथ दिइरहेका देखिन्छ । 

तर, कांग्रेसका नेताहरूलाई भने वर्तमान सरकारबारे खासै चासो देखिँदैन । सभापति शेरबहादुर देउवा र मन्त्रीहरूले मात्र सरकारको रक्षार्थ सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । विशेषगरी परराष्ट्रमन्त्री डा. आरजु राणाले वर्तमान सरकार र गठबन्धनको स्थायित्वबारे ध्यान दिएको पाइन्छ । उनी यो गठबन्धन निर्माणमै महत्त्वपूर्ण भूमिका खेलेकी नेतृ हुन् । अरू कांग्रेसका नेताहरू भने आन्तरिक गुटबन्दीमा अल्मलिएका छन् । गुटको केन्द्र भने १५औं महाधिवेशनबाट नेतृत्व हत्याउने दाउमा देखिन्छ । पार्टी नेतृत्व हत्याउने यो खेलमा डा. शेखर कोइराल, महामन्त्री गगन थापा र केही पूर्वपदाधिकारी पनि छन् । शेखरले महाधिवेशन समयमै गर्न भनेर दबाब अभियान नै थालेका छन् । 

मुलुकको लोकतन्त्र सुदृढ बन्न पार्टीभित्रको आन्तरिक लोकतन्त्र पनि समृद्ध हुनुपर्छ भन्ने मान्यता राख्दा कांग्रेसभित्र भइरहेको बहस गलत होइन । यद्यपि, आन्तरिक संघर्षकै कारण मुलुकको मूल एजेन्डा प्रभावित हुनु हुँदैन । त्यो शर्तबाहेकका अरू गतिविधि लोकतान्त्रिक अधिकारभित्रै पर्छन् । अनि, पार्टीभित्र देखिएको संशय नेतृत्वले चिर्न जरुरी छ । त्यो भनेको महाधिवेशन निर्धारित समयभित्रै हुनुपर्छ । कतिपयले प्रस्ताव गरेजस्तो २०८४ सालको आमनिर्वाचनपछि महाधिवेशन सार्ने कुरा ठीक होइन किनकि लोकतन्त्रको महत्त्वपूर्ण पक्ष भनेकै नियमित निर्वाचन हो । यदि पार्टीभित्र नियमित निर्वाचनमार्फत नेतृत्व चयन भइरहेको छैन भने त्यसको असर मुलुक संचालनका अरू प्रक्रियामा समेत गर्छ । त्यसैले कांग्रेसभित्र भइरहेको बहस गलत छैन तर नियमित महाधिवेशन सार्ने नियत कसैबाट पनि राखिनु हुँदैन ।

ADV

सम्बन्धित खबर

Advertise