२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

जिम्मेवार पत्रकारिताको सवाल

hardik ivf
२०८१ फागुन २२ गते ०६:१५
जिम्मेवार पत्रकारिताको सवाल

वर्तमानको नेपाली पत्रकारिताबारे निकै गहन चिन्तन, चिन्ता र चासो देखिएको छ । राज्यको चौथो अंगका रूपमा लिइएको, समाजको आँखा र कान अनि मुख तीनै थोक मानिएको, समाजको पहरेदार र ऐना पनि भनिँदै आएको मिडियाको विगत र वर्तमानलाई केलाउने हो भने वर्तमानको नेपाली मिडिया निकै अराजक, अनुशासनहीन र अमर्यादित बन्दै गएको हो कि भन्ने विषय पनि अन्यथा होइन । समग्र समाज र राज्यलाई नै प्रभावित पार्न सक्ने सामथ्र्य आज पत्रकारितामा छ । पत्रकारिताले समाज वा राज्यलाई कुन बाटोमा हिँडाउने भन्नेमा अर्थपूर्ण भूमिका खेल्न थालेको छ । यस अवस्थामा पत्रकारिताबारे चासो र चिन्तन अन्यथा होइन ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि अत्यन्त फस्टाएको क्षेत्र संचार क्षेत्र हो । बहुदल आएको झण्डै १ दशकको अवधिभित्रै नेपालमा हरेकजसो जिल्लामा होइन, गाउँगाउँमै रेडियो, पत्रपत्रिका संचालन हुने स्थिति बन्यो । त्यसमाथि सामाजिक संजालको आगमन र बढ्दो प्रयोगका कारण नेपालको संचार क्षेत्र यति विस्तृत बन्यो कि केही समयअघिसम्म कसैले कल्पनै गरेको थिएन । हो, यही अवस्थामा आएका युट्युब, फेसबुक, ट्वीटर (एक्स) आदि सबै ‘मिडिया’भित्र रहन चाहे । र, यी ‘मिडिया’मा स्टाटस लेख्ने, भिडियो अपलोड गर्नेदेखि चर्को स्वरमा कसैलाई गालीगलौज गर्नेसम्म ‘पत्रकार’ बन्न थाले । पत्रकारले के गर्छ ? र संचारकर्मीले के गर्छ ? अर्थात् संचारकर्मी को हो र पत्रकार को हो भन्ने नेपाली समाजमा बुझ्न र बुझाउन नै नसकिएको अवस्था भयो । हरेक पत्रकार संचारकर्मी हुन् तर हरेक संचारकर्मी पत्रकार होइनन् । पत्रकारले तथ्य लेख्छ, यथार्थ बोल्छ र आमजनलाई सुसूचित गराउँछ । संचारकर्मीले सूचना र जानकारी दिन सक्छ तर अव्यवस्थित तवरले । लाउड स्पिकरमा चर्को स्वर बनाएर पनि संचार गर्न सकिएला तर पत्रकारिता त्यसरी गर्न सकिँदैन ।

यदि व्यावसायिक मूल्य र मान्यता नबुझेको, पत्रकारिता र मिडियाको शक्ति र सीमा अनि यसका सकारात्मक र नकारात्मक असरबारे नजानेको व्यक्तिले कुनै अमूक मिडियाले सिफारिस गरेकै भरमा सूचना विभागको कार्ड लिएर वा नलिई जथाभावी लेख्ने र बोल्ने हो भने नेपाली पत्रकारिताको अवसान त्यहीँबाट सुरु हुन्छ । सुन्निनु वा बढ्नु स्वस्थ हुनु होइन । नेपाली मिडिया÷ पत्रकारिता पछिल्लो समय विकसित र व्यापक भएको होइन, सुन्निएको हो । हामीकहाँ अघि नै मिडियालाई नियमन गर्ने ऐन, कानुनहरू छन् । कानुन र ऐन बाध्यकारी हो, जसको उल्लंघन नभए दण्ड, सजाय र जरिमाना बेहोर्नुपर्छ व्यक्तिले । ३० वर्षयताको स्वतन्त्र र खुल्ला राजनीतिक वातावरणमा, आमसंचारमैत्री संविधान, कानुन र ऐनहरू निर्माण गरिए पनि त्यसअनुसार नेपाली पत्रकारिता कतिको स्तरीय, अनुशासित, मर्यादित, जिम्मेवार र अनुशासित बन्यो ? यही कारण त पत्रकारिता गर्छु भन्नेले अब लाइसेन्स लिएर मात्र गर्न पाउने व्यवस्थाको खाँचो परेको हो । यसका लागि प्रेस काउन्सिल नेपाल जस्ता नियमनकारी निकायको अग्रसरता आवश्यक देखिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise