
अमेरिका जाने सपनाले धेरै नेपाली युवालाई पछिल्लो समय गलत बाटोतिर धकेलिरहेको छ । दाङका एक युवक ९० लाख रुपैयाँ दलाललाई बुझाएर तल्लो बाटो भनिने अवैध मार्गबाट अमेरिका पुगे । तर केही दिनमै पक्राउ परे र नेपाल फर्काइए । नौ महिना जोखिमपूर्ण यात्रामा भोगेको कष्ट, खर्चिएको करोड नाघेको ऋण र परिवारको अपेक्षाको सबै एकै झट्कामा सकियो । उनी मात्र होइन, डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोहोरिएपछि लिएको कडा अध्यागमन नीतिले बितेको १० महिनामा ३ सय ५१ नेपाली डिपोर्ट भइसकेका छन् । अवैध मार्ग रोज्नेहरूको दुःख प्रायः उस्तै छ । नातागोता वा चिनेजानेकै माध्यमबाट संगठित गिरोहले उनीहरूलाई पूर्ण आश्वस्त पारेको हुन्छ । फर्की नै हाल्नुपर्ने स्थितिमा पनि आधा रकम फिर्ता हुने भनिएको हुन्छ । त्यही आशाले डिपोर्ट भई फर्केपछि पनि अधिकांश युवा कानुनी कारबाहीको बाटो लिँदैनन् । पछिल्ला ६ वर्षमा डिपोर्ट भएका ५ सय ७८ युवामध्ये ७५ जनाले मात्र उजुरी दर्ता गर्नुको कारण त्यही हो । अर्को कारण, धेरैजसो दलाल आफन्त नै हुन्छन् । सामाजिक दबाब, सम्बन्धको डर र पैसा फिर्ता हुने आशाले पीडित मौन बस्न बाध्य देखिन्छन् । यही मौनता नै दलाल र संगठित गिरोह कानुनी दायरामा ल्याउन बाधा पु¥याइरहेको छ ।
वास्तवमा तल्लो बाटो कुनै साहसिक यात्रा होइन । बरु यो ज्यानै जोखिममा पार्ने निराशाको मार्ग हो । महिनौं पैदल यात्रा, सीमा प्रहरीको जोखिम, मानव बेचबिखनको खतरा, जंगल–मरुभूमि पार गर्दै अमेरिका छिर्दा पनि कुनै ग्यारेन्टी हुँदैन । कागजविहीन भेटिनेबित्तिकै डिपोर्ट गर्ने अमेरिकी नीति अहिले झन् कडा पारिएको छ । त्यसैले अवैध ढंगले अमेरिका वा अरू कुनै पनि देश जाने निर्णय सदैव गलत हो । अमेरिका नै जान पनि वैधानिक बाटो छन् । विद्यार्थी भिसा, वर्क–पर्मिट, डिभीलगायत बाटो छन् । वैधानिक प्रक्रिया र कागजात पूरा भए कोही पनि डिपोर्ट हुनुपर्दैन ।
अहिले डिपोर्ट भएका युवाहरूको सपना तत्कालका लागि भताभुंग भएको छ । अब उनीहरूले संगठित गिरोहको सञ्जाल तोड्न प्रहरीलाई सघाउनुपर्छ । त्यसका लागि दलालविरुद्ध उजुरी दिनुपर्छ । गहिरो अनुसन्धानपछि दोषी कारबाहीको दायरामा आउँदा मात्र युवा सुरक्षित हुन्छन् । सपना सबैको अधिकार हो । तर सपना पूरा गर्ने बाटो कानुनी, सुरक्षित र श्रमको सम्मान गर्ने हुनुपर्छ । अवैध बाटो पछ्याएर होइन, वैधानिक बाटो रोजेर मात्र भविष्य उज्यालो हुन्छ ।