
नेकपा एमाले ११औं महाधिवेशनमा छ । यो पार्टीले विधान अधिवेशनमार्फत तीन महिनाअगाडि नै पार्टीको नीति तय गरिसकेको छ । अब त्यसलाई अगाडि बढाउने नेतृत्व चयन गर्न शनिबारबाट महाधिवेशन सुरु भएको हो । जहाँ आन्तरिक लोकतन्त्रको अभ्यास कस्तो हुन्छ ? भन्ने चासो स्वयं पार्टीभित्र र बाहिर समेत छ । किनभने सामूहिक नेतृत्वको अभ्यास गर्दै आएको एमालेमा पछिल्लो केही वर्षयता आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै आलोचना भइरहेको छ । खासगरी केपी शर्मा ओली नेतृत्वमा आएपछि नीतिभन्दा नेतालाई प्रधान मान्न थालिएको देखिन्छ । ११औं महाधिवेशनले त्यो प्रवृत्तिको अन्त्य गरेर आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनु आवश्यक छ । एकातर्फ एमालेभित्रको आन्तरिक लोकतन्त्रको कुरा छ भने अर्कोतिर स्मरणीय छ– पुरानो वामलोकतान्त्रिक शक्ति एमालेले त्यस्तो बेला महाधिवेशन गर्दै छ, जतिबेला पुराना दलहरूमाथि अनेक प्रश्न उठेका छन् । २०४६ सालको परिवर्तनपछि निरन्तर सत्तामा पुगेका दलहरूको कुशासन, अयोग्यता र अति राजनीतीकरणकै कारण देशमा अहिलेको निराशाजनक आएको भन्दै वैकल्पिक शक्तिहरू जन्मिन खोज्दै छन् । एमालेले भनेजस्तै आफूलाई निर्णायक शक्तिका रूपका कायम राख्ने हो आफूलाई पुनः प्रमाणित गर्नुपर्नेहुन्छ ।
एमालेका २२ सय ६२ जना महाधिवेशन प्रतिनिधिले नेतृत्व चयन गर्दै छन् । उनीहरूले पक्कै बुझेका छन्– मुलुकको नयाँ दिशा कोर्ने राजनीतिक दलका नीति र नेतृत्वले हो । जस्ता नीति र नेतृत्व रहेका राजनीतिक दललाई जनताले अनुमोदन गर्छन् मुलुक त्यस्तै बन्छ । यसकारण जनताको मन जित्न पनि राजनीतिक दलले नागरिकको आकांक्षा र चाहनालाई ख्याल गर्दै उनीहरूलाई विश्वासमा लिन सक्नेगरी आफूलाई प्रस्तुत गर्नुपर्छ । ताकि चुनावमार्फत जनताको मत लिएर पार्टीको नेतृत्वमा सरकार बनाएर नीति लागू गर्न सकियोस् । अन्यथा जति राम्रो नीति भए तापनि सरकारमा गएर लागू गर्न नसकिए त्यसले अर्थ राख्दैन ।
कोही पनि नागरिक सत्तामा पुग्न सक्ने शासन व्यवस्था ल्याउन नै लामो संघर्ष गरेका नेपाली नागरिकहरूले यो पनि बुझेका छन्– लोकतन्त्रमा दलहरू जनताको आवाज बोक्ने संगठित शक्ति हुन् । बलिया दलहरूबिना न लोकतन्त्र सुदृढ हुन्छ न त बलियो सरकार नै बन्न सक्छ । त्यसैले दलहरूको विकल्प दलहरू नै हुन् । तर नेपालमा दलहरूले लोकप्रियता गुमाउँदा एउटै पार्टीले बहुमत प्राप्त गर्न नसक्ने स्थिति छ । दल विशेषको पक्षमा ठुला चुनावी लहर आउन छाडेको छ । निर्वाचन प्रणालीलाई दोष दिएर दलहरूले संघीय र प्रदेश सरकारहरूलाई निरन्तर अस्थिर बनाइरहेका छन् । मुख्यतः तीन ठुला दलहरू आलोपालो सत्ता सञ्चालन गरिरहेका छन् । यसले पनि बहुमत प्राप्त गर्न सक्ने बलिया दलहरूको खाँचो छ । यस्तो बेला एमाले आफ्नो संस्कार देखाउनुपर्नेछ । किनभने लोकतन्त्र कुनै शासन व्यवस्था मात्र होइन । यो संस्कृति हो । लोकतन्त्रका सारथि ठान्ने दलहरूले आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न सक्दा मात्र राजनीतिमा पनि लोकतान्त्रिक संस्कृतिको विकास हुन सक्छ ।