
जेनजी विद्रोहपछि संक्रमणकाल राजनीतिक स्थिरतातर्फ उन्मुख छ । फागुन २१ को चुनावको वातावरण बनाउन सरकार, दलहरू र नागरिकस्तरबाट पहल भइरहेका छन् । त्यसको असर अर्थतन्त्रमा पनि देखिने अपेक्षा थियो । चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकले भने अर्थतन्त्रमा मिश्रित परिणाम देखाएको छ । बाह्य सूचक बलिया छन् भने आन्तरिक अर्थतन्त्र सुस्त छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यो गत असारको तुलनामा १४ दशमलव १ प्रतिशतले बढी हो । अमेरिकी डलरमा सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । यसले झन्डै २१ महिनाको वस्तु आयात र १७ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने अवस्था देखाउँछ । केही वर्षअघि आयात नियन्त्रण गर्न बाध्य भएको मुलुकका लागि यो उल्लेख्य सुधार हो । बाह्य सूचक सुधारको मुख्य कारण रेमिट्यान्स मानिएको छ । चार महिनामा रेमिट्यान्स ३१ दशमलव ४ प्रतिशतले बढेर ६ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । डलरमा २५ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । रेमिट्यान्सकै बलमा चालु खाता २ खर्ब ७९ अर्ब रुपैयाँले बचतमा पुगेको छ । शोधनान्तर स्थिति पनि ३ खर्ब १८ अर्ब रुपैयाँले बचतमा छ । जसका कारण बाह्य सन्तुलन अहिले सहज अवस्थामा छ ।
तर यो सुधार उत्पादन र लगानीबाट आएको भने होइन । आन्तरिक अर्थतन्त्र अहिलेसम्म चलायमान हुन सकेको छैन । निजी क्षेत्रको मनोबल कमजोर देखिएको छ । जसका कारण कर्जा प्रवाह सुस्त छ । चार महिनामा निजी क्षेत्रमा कर्जा विस्तार ६५ अर्ब रुपैयाँ मात्र भएको छ । गत वर्ष यही अवधिमा कर्जा विस्तार झन्डै दोब्बर अर्थात् १ खर्ब २८ अर्ब रुपैयाँ नाघेको थियो ।विकास बैंकहरूको कर्जा प्रवाह घटेको छ भने वाणिज्य बैंकको कर्जा पनि सीमित छ । कर्जाको ६२ प्रतिशत गैरवित्तीय संस्थागत क्षेत्रमा गएको छ । घरपरिवार र व्यक्तिगत क्षेत्रमा ३७ प्रतिशत मात्र पुगेको छ । यसले उपभोग र साना व्यवसाय कमजोर रहेको देखाउँछ ।
बैंकिङ प्रणालीमा तरलता छ । ब्याजदर घट्दो क्रममा छ । तर लगानी बढेको छैन । सरकारी पुँजीगत खर्च सुस्त छ । नीतिगत स्पष्टता अभाव छ । बजारमा माग सिर्जना हुन सकेको छैन । जेनजी विद्रोहपछिको अन्योलको स्थितिमा पनि बाह्य सूचक बलियो हुनु राहतको विषय हो । तर त्यसैमा सन्तुष्ट हुने ठाउँ भने छैन । रेमिट्यान्समा आधारित अर्थतन्त्र दीर्घकालीन हुँदैन । त्यसैले उत्पादन, रोजगारी र निजी लगानी बढाउनैपर्छ । बाह्य स्थिरतालाई आन्तरिक गतिमा रूपान्तरण गर्नु अबको मुख्य चुनौती हो ।