२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

युवा पलायन रोक

shivam cement
२०८२ पुष ११ गते ०६:१०
Shares
युवा पलायन रोक

देशको सबैभन्दा पुरानो र ठुलो त्रिवुवन विश्वविद्यालयले बिहीबार विभिन्न तहका ८९ हजार १ सय ९९ विद्यार्थीलाई एकैसाथ दीक्षित गरेको छ । यीमध्ये १६ हजार ३ सय ८० विद्यार्थी दीक्षान्त समारोहमा सहभागिता सहभागी भए । स्नातक, स्नातकोत्तरदेखि पिएचडीसम्मका विद्यार्थीहरूले आफ्नो मेहनत र लगनशीलताबाट प्राप्त प्रमाणपत्र ग्रहण गरे । शिक्षित जनशक्ति एकसाथ दीक्षित भई राज्यका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति एकसाथ प्रवेश गर्दै छन् । यस सत्रका सर्वोत्कृष्ट विद्यार्थीहरूले गोल्डमेडल ग्रहण गर्दै गरेको प्रतिबद्धताले पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । उनीहरूसँगै हजारौं युवाहरूले देशभित्रै सम्भावना खोज्ने र राष्ट्र निर्माणमा योगदान गर्ने प्रण गरेका छन् । मिहिनेत, अनुशासन र लगनशीलताजस्ता गुणले शिक्षा र ज्ञानलाई राष्ट्र निर्माणमा लगाउँछ । यही मानव जनशक्ति नै वास्तविक अर्थमा राष्ट्रको पुँजी हो । प्रतिभाशाली युवालाई देशमै अवसर उपलब्ध गराउन सके उनीहरूले स्वास्थ्य, प्रशासन, विज्ञान, सामाजिक सेवा तथा अर्थतन्त्रजस्ता क्षेत्रमा योगदान दिन सक्छन् । 

अहिले नेपालमा योग्य जनशक्तिका लागि पर्याप्त अवसरको कमी छ । सीमित परियोजना, कम पारिश्रमिक र अपर्याप्त संरचनाका कारण पनि दक्ष जनशक्ति विदेश पलायन हुनुपर्ने स्थिति छ । यसले मानव संसाधनमा ह्रास मात्र आएको छैन, समग्र देशकै विकासमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । केही वर्षयता युवा पलायनको बढ्दो दरले शिक्षित एवं दक्ष जनशक्तिलाई स्वदेशमै रोक्नु ठुलो चुनौती बनेको छ । बाध्यता, लहर र रहरले हरेक दिनजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शिक्षा र रोजगारीको खोजी गर्दै बिदेसिने युवाको संख्या बढ्दै गएको छ । यसलाई रोक्न पनि राज्यले प्रस्ट नीति ल्याउनुपर्छ । 

त्रिविबाट दीक्षित युुवा देशमै बसेर योगदान दिन तयार छन् । मात्र राज्यले उनीहरूको क्षमताको सही उपयोग गर्ने नीति लिनुपर्छ । त्यसो गर्न सके शिक्षा र अनुसन्धानको गुणस्तर मात्र बढ्दैन, राष्ट्रिय प्रगतिसँगै नवीनता पनि तीव्र वृद्धि हुनेछ । खाडीका मुलुकदेखि युरोप अमेरिका पुगेर आफ्नो क्षमता देखाउन सक्ने नेपाली युवाले उपयुक्त वातावरण पाए स्वदेशमै आफ्नो पौरख देखाउन सक्छन् । त्यसका लागि उनीहरूको ज्ञान र अनुसन्धानलाई नीति, योजना र परियोजनासँग जोड्ने जिम्मेवारी सरकारकै हो । शिक्षा हासिल गरेर बिदेसिने प्रवृत्ति रोक्न राज्यले अवसर, मार्गदर्शन र स्वदेशमै सम्भव छ भन्ने भरोसा युवालाई दिलाउन सक्नुपर्छ । दीक्षित युवाको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने स्थिति आएमा त्यसले समग्र समाज र अर्थतन्त्रमा दीर्घकालीन लाभ पुर्‍याउनेछ । किनभने शिक्षा व्यक्तिगत सफलताको विषय मात्र होइन, यो देशको समृद्धि र नवप्रवर्तनको आधार बन्न सक्छ । योग्य र प्रतिबद्ध युवालाई देशमै राखेर उपयोग गर्नु राज्यको मुख्य प्राथमिकता बन्नुपर्छ । 

सम्बन्धित खबर