२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

परीक्षामा नयाँ मतदाता

shivam cement
२०८२ पुष १३ गते ०६:१०
Shares
परीक्षामा नयाँ मतदाता

आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन केवल सत्ता परिवर्तनको औपचारिक प्रक्रिया मात्र होइन, यो नेपालको लोकतान्त्रिक अभ्यासको अर्को महत्वपूर्ण परीक्षा हो । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा पहिलोपटक सहभागी हुने मतदाताको संख्या ९ लाख १५ हजार ११९ छ । जो नेपालको आगामी राजनीतिक यात्रा कता लैजाने भनेर निर्णय गर्दैछन् । २०७९ को चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । यसपटक थपिएर मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ । पछिल्लो ३ वर्षमा ९ लाख बढी मतदाता थपिनु सामान्य जनसांख्यिकीय वृद्धिको परिणाम मात्र होइन, यो संख्या आफैंमा एउटा राजनीतिक सन्देश हो । 

नयाँ मतदाता थपिनुका पछाडि पृष्ठभूमि र कारणहरू छन् । सामान्यतया युवाको उमेर समूह मतदानयोग्य भएको देखिन्छ । जो डिजिटल युगमा जन्मिएर डिजिटल प्लेटफर्ममार्फत समाज हेर्दै हुर्किएका छन् । अब उनीहरू कस्तो नीति र नेतृत्व चाहन्छन् भन्ने मतपरिणामले देखाउनेछ । जेनजी मतदाता छुट्लान भनेर अध्यादेश नै ल्याएर सरकारले सहजीकरण गरिदिएको थियो ।  यसकारण पछिल्लो समयमा देखिएका राजनीतिक असन्तुष्टि र सचेतनाका बीचमा युवाले कस्तो राजनीति चाहेका छन् भन्ने थाहा पाउन मतपरिणाम कुर्नुपर्छ । स्मरणीय छ– नेपालको पछिल्लो परिवर्तनका बाहक जेनजी हुन् । जसको प्रतिनिधित्व थपिएका ९ लाख मतदाताले गर्दैछन् । यसकारण नयाँ मतदाता कुनै अमूर्त तथ्यांक होइनन् । उनीहरू परिवर्तनको अपेक्षा बोकेका नागरिक हुन् । रोजगारी, शिक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण र अवसरको समान पहुँच लगायतका मुद्दा नयाँ मतदताको मतदानको निर्णयसँग गाँसिनेछ । ‘राजनीति फोहोरी खेल हो’ भन्दै राजनीतिक गतिविधिबाट टाढा बसेकाहरू समेत यसपटक मतदान केन्द्रसम्म पुग्दैछन् । यसकारण २१ फागुनको चुनाव थप अर्थपूर्ण छ ।

पहिलोपटक मतदान गर्ने नागरिकहरू सामान्यतया आशावादी तर आलोचनात्मक हुन्छन् । उनीहरू बाचा सुन्न चाहन्छन्, तर त्यसभन्दा बढी बाचा पूरा गर्ने क्षमताको प्रमाण खोज्छन् । यसकारण अब पुराना नारा र अनुहार मात्रले काम गर्दैछ । चुनाव जितेपछि के कसो गर्ने हो त्यसको कार्ययोजना, विश्वास र परिणाम देखाउन सक्ने आधार राजनीतिक दल र उम्मेदवारले दिनुपर्ने हुन्छ । जसलाई हेरेर ककनयाँ मतदाताले गर्ने मतदानले आगामी संसदको संरचना, दलहरूको शक्ति सन्तुलन र नीति प्राथमिकतामा ठूलो प्रभाव पार्न सक्दछ । नयाँ मतदाताले पक्कै ख्याल गर्नेछन्– लोकतन्त्र मत हाल्ने अधिकारमा मात्र सीमित हुनु हुँदैन, यो जवाफदेहिताको संस्कार हो । नयाँ मतदाताले दिएको मतले यदि पुरानै अभ्यास दोहोरियो भने निराशा बढ्न सक्छ । उनीहरूको मतले नीति, नेतृत्व र शासनशैलीमा सुधार ल्याउन सक्यो भने यही जेनजी पुस्ता लोकतन्त्रको बलियो आधार बन्नेछ । 

सम्बन्धित खबर