२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

सामाजिक र राजनीतिक पुनर्जागरणको खाँचो

hardik ivf
२०८१ फागुन २६ गते ०६:१०
सामाजिक र राजनीतिक पुनर्जागरणको खाँचो

–लेखनाथ ढकाल

आधुनिक राष्ट्र र राज्य संयन्त्रको परिभाषालाई सन्दर्भ बनाएर नेपालको अवस्थालाई हेर्ने हो भने १८औं शताब्दीको चेतनाभन्दा निम्न स्तरको मान्नुपर्ने बुझाइ यथार्थपरक नै देखिन्छ । दास युगमा किनबेच हुने दासहरू जस्तै नेपाली नागरिकको अवस्था छ । सामाजिक विकास तथा परिवर्तनका लागि विद्यमान राज्य व्यवस्था, राजनीतिक पार्टीहरू, राज्यका संरचना तथा सरकारी एवं गैरसरकारी संगठनहरूबाट आशातीत परिणामको विश्वास गुमाउँदै गएको आजको नेपालको मूल समस्या मान्नुपर्ने भएको छ ।

सबैका अभिव्यक्तिहरू यस्तै पाइन्छन् । केही सत्ताको दोहनमा आफ्नो स्वार्थ पूरा गरिरहेका मानिसको भाषा अलि फरक छ, आमनागरिक निराशामा डुब्दै गएको भन्न सकिनेगरी अभिव्यक्तिहरू आइरहेका छन् । चलिआएका राजनीतिक तथा आर्थिक प्रणालीहरूले मानव सभ्यता र चेतनाअनुसारको सामाजिक विकासको अवस्था निर्माण गर्ने योग्यता नै नरहेको पहिचान बनाएर अवसानको ओरालो झरिरहेको अवस्था छ । 

आर्थिक असमानता, गरिबी, बेरोजगारी, विभेद, रूढीवादी, पछौटेपन आदि कुराबाट ग्रसित समाजलाई अझ यस्तै अवस्थामा रहिरहनेगरी मनोवैज्ञानिक ‘ब्ल्याकमेलिङ’ योजनाबद्ध हिसाबले भइरहेको छ । यसको प्रतिनिधि स्वयं राज्यको छत्र छहारीमा नेपाली समाजलाई कुरूप पार्ने खेलमा सक्रिय रहेका छन्, खुल्लेआम रूपमा जनविरोधी हर्कतमा लिप्त शक्ति राज्यलाई नै दुरुपयोगमा कार्य गरिरहेको सबैलाई थाहा छ । 

तथापि, अगुवा नागरिक, बुद्धिजीवी, पत्रकार, प्राध्यापक आदि सबै यो कुरामा संगठित आवाज बोलिरहेका छैनन् । कुशासन तथा जनविरोधी चरित्रको आर्थिक, सामाजिक, राजनीतिक गतिविधिहरू यसरी बढावा भए कि राष्ट्रको स्वाभिमानमा नै प्रश्न उठ्नेसम्मको अवस्थामा आइपुगेको छ । 

गौरवशाली इतिहास रहेको देशमा राजनीतिक प्रणाली, आर्थिक प्रणाली, राज्य संयन्त्र, शासन प्रशासन, न्याय प्रशासन आदि सबै जनविरोधी र अमानवीय चरित्रका बनाइएका छन् । स्रोत, साधन र प्राकृतिक सौन्दर्यको धनी देश आर्थिक रूपमा क्षतविक्षत हुने अवस्थामा पुग्दै छ भन्ने सम्प्रेषण जिम्मेवारी लिएका निकायहरूबाटै हुने गरेका छन् । यो विडम्बना हो ।

प्रतिभा, योग्यता, इमानदारी, जिम्मेवारीप्रतिको निष्ठा तथा बफादारी हराएको छ । फलस्वरूप आमनिराशा, प्रतिभा पलायन, सस्ता श्रमिक बेच्नुपर्ने, ऋणमा देश चलाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा तल्लो स्तरको देशका नागरिकका रूपमा रहनुपर्ने अवस्था आएको छ । नागरिकहरू सुशासन, यथार्थ सूचना र आधारभूत नागरिक हक अधिकारबाट सम्पन्न हुनुपर्नेमा निरीह पारिएका छन् । सम्भवतः टाढा छन्, असंगठित छन् । 

गणतन्त्र, लोकतन्त्र र कथित चुनावका नाममा सोझा तर स्वाभिमानी नेपाली नागरिकहरू निरीह बनाइएका छन् । नागरिकहरूलाई ‘ब्ल्याकमेलिङ’ गरिएको छ । सामाजिक सोच, संस्कार र शिक्षा नै कुरूप बनेको छ । नवउदारवादी विश्व अर्थ प्रणालीले अमानवीय हर्कतलाई बढावा गरिरहेको छ, स्वार्थी तत्त्वले विश्वयुद्ध गराउने र वातावरण विनाश भइरहेको छ । सामाजिक सद्भाव र सामाजिक प्रचलनहरू योजनाबद्ध रूपमा बिगार्ने कामले बढावा पाएको छ । 

प्राकृतिक वातावरणको क्षयीकरण तीव्र गतिमा भइरहेको छ । स्वार्थी समूहको अनियन्त्रित प्राकृतिक दोहन र विकासको नाममा मनपरी काम भएका कारण प्राकृतिक विपत्तिको अवस्था बर्सेनि भोग्नुपरेको छ । लोकतन्त्र, गणतन्त्र, संघीयताका नाममा विद्यमान राजनीतिक पार्टी र नेताबाट तल्लो स्तरको चरित्र रहेको शासन सत्ता चलाइरहेका छन् । यसको परिणाम सामाजिक, आर्थिक र राजनीतिक विग्रहको दिशातिर समाजलाई जबरजस्ती धकेल्ने काम भइरहेको छ । 

मुलुकको अहिलेको अवस्थामा सचेत, अगुवा र जिम्मेवार नागरिकहरूले सामाजिक तथा राजनीतिक पुनर्जागरणको अभियानका लागि संगठित पहल गर्न आवश्यक छ । यस्तो अभियानमा देशका सबै स्वाभिमानी नागरिकहरूको बृहत् सहभागिता स्थापित हुन आवश्यक छ । मुलुकको राजनीतिक तथा आर्थिक प्रणालीलाई सुशासनयुक्त, स्वाभिमानी, आत्मनिर्भर, सबै नागरिकले कुनै भेदभावरहित रूपमा आत्मसम्मानपूर्वक मुलुकको विकासमा सक्रिय रहन सक्ने वातावरण बनाउन उन्नत स्तरको वैकल्पिक नागरिक शक्तिको माग आज नेपाली समाजको टड्कारो मुद्दा हो । 

सामाजिक व्यवस्थापनको अगुवा तथा नागरिकको राजनीतिक प्रतिनिधिमूलक शक्तिका रूपमा भूमिका खेल्ने वैकल्पिक राजनीतिक संगठनका लागि ठाउँ खाली रहेको छ । राष्ट्र, जनता र मानवीय मूल्य, मान्यताको सामाजिक व्यवस्थाको पक्षमा सामाजिक, आर्थिक र राजनीतिक नेतृत्व असल तथा जिम्मेवार नागरिकको संगठनले गर्नुपर्छ । 

नेपालाई सभ्य, समृद्ध, विकसित र शक्तिशाली राष्ट्र बनाउने राजनीतिको मूल उद्देश्य र सो प्राप्त गर्ने कर्म हुनुपर्ने हो । देशमा सबै नागरिकले कुनै पनि प्रकारका विभेदरहित, आत्मसम्मान–स्वाभिमान–आत्मनिर्भर–समृद्ध र शक्तिशाली राष्ट्रको नागरिक भएको आत्मगौरव गर्ने अवस्था बनाउने राजनीति र शासन सत्ताको जिम्मेवारी हुनुपर्ने हो । प्राकृतिक स्रोत र मानवीय स्रोतको विकास, सामाजिक न्यायका आधारमा वितरण प्रणाली भएको आर्थिक प्रणालीको चरित्र हुनुपर्ने हो । 

तर, केही बिचौलिया र रातारात पैसा कमाउने मानिसको नोकरझैं राजनीतिक क्षेत्रले काम गरिरहेको कुरा देखिन्छ । यस्तो कुराले समृद्ध समाज बन्ला ? मानवीय सोच, संस्कार र संस्कृति भएको सभ्य सामाजिक विकास अब साहित्यमा मात्र पढिने विषय बनाइएको छ । लोककल्याणकारी शासन प्रणाली पनि अब पुस्तकमा लेखिने, विश्वविद्यालयका कक्षा कोठामा पढाइने विषय हुने भएको मान्नुपर्ने भएको छ । सार्वभौम अधिकार नागरिकमा रहेको जनपक्षीय लोककल्याणकारी सत्ता स्थापित गर्ने काममा आवश्यक परे फेरि नेपालमा आन्दोलन हुनुपर्ने छ । 

समुदाय र नागरिकको स्वामित्व, नेतृत्व र सहभागिताको साझा आर्थिक प्रणाली र लोककल्याणकारी शासन प्रणाली एकअर्काका पूरक हुनेगरी मौलिक सैद्धान्तिक पक्ष र यसका लागि व्यावहारिक प्रविधिको विकास र उपयोग गर्ने बृहत् शक्तिशाली वैकल्पिक राजनीतिक शक्तिको स्थापना अनिवार्य छ ।

विद्यमानमा देखिएका राजनीतिक शक्तिहरू यो भूमिका पूरा गर्न सक्नेगरी रूपान्तरण होलान् ? नेपालीलाई औसत आर्थिक अवस्थामा ल्याउने, गरिबी उन्मूलन गर्ने, नागरिकलाई स्वतन्त्र र इच्छाअनुसारको व्यापार, व्यवसाय गर्न प्रोत्साहन र सुरक्षा गर्ने, नागरिकको सम्पत्तिको डिजिटल अभिलेख राख्ने, कानुनअनुसार सम्पत्ति कमाउने स्वतन्त्रता नागरिकलाई रहने राजनीतिक सत्ता चाहिएको छ । अहिलेको राजनीतिक र आर्थिक प्रणालीको चरित्र यी कुराको परिणाम प्राप्त गर्ने दिशामा लाग्छ भनेर विश्वास गर्न सकिने छ ?

असल देश र जनताको जिम्मेवारीबोध गर्ने राज्यसत्ता विज्ञान, प्रविधि, आवश्यक सबै क्षेत्रमा निरन्तर अनुसन्धान, मानव संसाधनको योजनाबद्ध विकास, प्राकृतिक वातावरणमैत्री सामाजिक, सांस्कृतिक, वातावरणमैत्री आर्थिक विकास, सामाजिक न्यायका आधारमा वितरण प्रणाली साझा आर्थिक प्रणालीका आधार बनाउन प्रयत्नरत रहन्छ । के हाम्रो शासन सत्ताबाट यी कुराको आशा गर्ने ठाउँ छ ?

असल सामाजिक संस्कृतिका लागि अर्थशास्त्र, समाजशास्त्र, शिक्षा तथा सबै पक्षमा परिमार्जन, पुनर्जागरण अभियान आवश्यक छ । विश्वविद्यालयहरूलाई उच्च प्राज्ञिक क्षेत्र तथा अनुसन्धान निकाय बनाएर असल शासन सत्ता बनाउन जनताले फेरि प्रयत्न गर्न अनिवार्य देखिन्छ । 

सामाजिक चरित्र, वर्गहरूको स्थापना र सामाजिक द्वन्द्व आर्थिक वितरण र स्रोत, साधनमाथिको स्वामित्वको असमान वितरणको अवस्थालाई भरथेग गर्ने आर्थिक तथा राजनीतिक प्रणालीले निर्धारण गर्छ । गरिबी, बेरोजगारी, भ्रष्टाचारी, सामाजिक विभेद, जात, धर्म, संस्कृति, भाषा, क्षेत्र, लिंग आदि विभेदको मूल कारण देश, समाज र नागरिकप्रति गैरजिम्मेवार कुशासनयुक्त शासन प्रणालीले दिएका परिणाम हुन् । सामाजिक संरचना तथा सामाजिक संस्कृति, आर्थिक प्रणाली र प्रविधिको उपयोगबाट निर्धारण हुने गर्छ । दास युग, सामन्त युग, पुँजीवादी युग, समाजवादी युग यसैका आधारमा निर्धारण भएका हुन् । 

नेपालाई विकसित बनाउने र सबै नागरिकलाई आत्मसम्मानपूर्वक समृद्ध भएर बाँच्ने बनाउन यथार्थमा आधारित शिक्षा, समाजशास्त्र तथा राजनीतिशास्त्रका आधारभूत प्रस्तावनाका प्रकाशमा मौलिक अवस्थाका आधारमा अपनाइने असल लोककल्याणकारी शासन व्यवस्था र यसको परिपूरकका रूपमा रहने उपयुक्त आर्थिक प्रणालीलाई मार्गदर्शक सिद्धान्त बनाएर वैकल्पिक राजनीतिक शक्ति निर्माण हुन जरुरी छ ।

यो बृहत् सामाजिक अभियानका रूपमा स्थापित भएको राजनीतिक संगठन हुन सकेमा नेपालको भाग्य र भविष्यको आधार हुन सक्ने छ । सचेत र जिम्मेवार नागरिकहरू ढिलै भए पनि संगठित हुन बाध्य हुनुपर्ने समय आउने छ । समयले नेपालीलाई ब्युँझाउन किन ढिलो गर्‍यो ?

ADV

सम्बन्धित खबर

Advertise