
मच्छिन्द्रनाथ सहकालका देवता हुन् । चैत्र शुक्ल अष्टमीदेखि काठमाडौंमा यिनको जात्रा सुरु हुन्छ । यस वर्ष चैत्र १२ गतेदेखि आरम्भ भई चैत्र पूर्णिमा अर्थात् १९ गते समापन हुन्छ । पाटनमा भने सहकालकै देवता रातो मच्छिन्द्रनाथ छन्, जुन भोटो जात्रासँग पनि सम्बद्ध छ ।
ललितपुर र काठमाडौंमा गरी दुई मच्छिन्द्रनाथ रहेका छन् । काठमाडौंको मच्छेन्द्रबहालमा रहने सेतो मच्छिन्द्रनाथ हुन् भने पाटनका मच्छिन्द्रनाथलाई रातो मच्छिन्द्रनाथ भनिन्छ । वर्षमा दुईपटक गरिने यी जात्रा पौष शुक्ल अष्टमी र चैत्र शुक्ल अष्टमीदेखि आरम्भ हुन्छ । हिन्दु अनुयायीहरूले यी देवतालाई भगवान् भोलेबाबाको रूप मानी पूजा गर्छन् भने बौद्धमार्गीहरूले यिनलाई आर्यावलोकितेश्वर, करुणामय करुणासागर अर्थात् सम्पूर्ण जीवात्माका रक्षकका रूपमा लिन्छन् ।
काठमाडौंको मुटु असन–इन्द्रचोकको बीचमा रहेको कलात्मक मन्दिरमा भगवान्को करिब तीन हात अग्लो मूर्ति रहेको छ । उक्त मन्दिर पित्तल धातुले बनेको दुईतले र निकै फराकिलो छ, जुन अन्य मन्दिरभन्दा विशिष्ट स्वरूपको छ । मन्दिरको पूर्वतिर कलात्मक डबली रहेको छ ।
चैत्र शुक्ल अष्टमीका दिन त्यहाँका पुजारीले भगवान्का पुराना वस्त्र फुकालेर महास्नान गराउँछन् । त्यसपछि बाजागाजासहित धूमधामपूर्वक नयाँ पहिरन र गहना लगाइन्छ । मूर्तिलाई बाहिर डबलीमा राखी विशेष आराधना गरिन्छ । शृंगारसहितका मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ ।
पूर्णकदका भगवान् मच्छिन्द्रनाथसँगै रहेका हरिततारा र श्वेतताराको पनि पूजा–दर्शन गर्ने चलन छ । एक सातासम्म भगवान्लाई बजार परिक्रमा गराउने क्रममा जमलअगाडि तीनधारा सडकमा रथ तयार गरिन्छ । खटमा राखी भक्तजनसहित देवतालाई जमल पुर्याइन्छ । त्यहाँ रथारोहण गराई असन, इन्द्रचोक, लगन, मच्छेन्द्रबहाल र हनुमानढोका क्षेत्रमा परिक्रमा गराइन्छ ।
काठमाडौंका नेवार समुदायले भगवान्लाई साँझपख योमरी अर्पण गर्ने चलन छ । साथै आफन्त तथा इष्टमित्रलाई निम्ता दिएर भोज गर्ने परम्परा पनि रहेको छ । भगवान्लाई जति धेरै प्रसाद अर्पण गरिन्छ, त्यति नै आशीर्वाद पाइन्छ भन्ने विश्वास छ । भक्तहरूले ध्वजापताका साथै शृंगारसामग्री पनि अर्पण गर्दछन् ।
सेतो मच्छिन्द्रनाथलाई ‘जमलेश्वर’का रूपमा पनि चिनिन्छ । करिब दुई हजार वर्षअघि जमलमा रहेको एक पोखरीमा सेतो मूर्ति फेला परेको र सोबारे तत्कालीन राजालाई जानकारी गराइएपछि राजाले विशेष पूजा गर्न आदेश दिएका थिए । त्यहीँबाट यसको पूजा–जात्राको परम्परा सुरु भएको मानिन्छ । जनश्रुतिअनुसार राजालाई सपनामा ‘सेतो मच्छिन्द्रनाथ’ नामकरण गर्न भनिएको थियो ।
अग्लो रथारोहण गराउँदै भगवान्लाई पहिलो दिन असन, दोस्रो दिन हनुमानढोका, तेस्रो दिन लगनटोल र चौथो दिन जनबहाल पु¥याइन्छ । त्यसपछि पुजारीहरूले बोकेर मच्छेन्द्रबहाल ल्याउँछन् । यसरी एक सातामा जात्रा सम्पन्न हुन्छ ।
नेपाल हिन्दुहरूको बाहुल्य भएको देश भए पनि बौद्धमार्गीहरूको लागि पनि महत्वपूर्ण केन्द्र हो । पशुपतिनाथको पूजा गर्दा बुद्धसँग सम्बन्धित मुकुट लगाउने चलन छ । काठमाडौं उपत्यकामा स्वयम्भू स्तूप र बौद्धनाथ स्तूप प्रसिद्ध छन् । अशोकसँग सम्बन्धित चारुमती चाबहिल क्षेत्रमा पनि विशेष बौद्ध स्तूप रहेको छ ।
बौद्ध संस्कृतिमा विभिन्न पर्वहरू छन्, जसमा दानलाई विशेष महत्व दिइन्छ । बौद्धमार्गीहरूका लागि ‘पञ्चदान’ महत्वपूर्ण मानिन्छ भने सबैभन्दा ठूलो दान ‘सम्यक् महादान’ हो । काठमाडौंमा यस्तो महादान प्रत्येक १२ वर्षमा, पाटनमा प्रत्येक ५ वर्षमा र भक्तपुरमा प्रत्येक वर्ष आयोजना गरिन्छ । पाटनमा यो दानपर्व फाल्गुन शुक्ल चतुर्थीमा मनाइन्छ । सम्यक् दान दाताको इच्छामा निर्भर हुने भएकाले निश्चित स्थान तोकिएको हुँदैन ।
पहिले काठमाडौंका वटु र इटुम्बहालका स्थानीयहरूले आलोपालो गरी खर्च जुटाएर यो परम्परा धान्थे । पछि यसलाई निरन्तरता दिन कठिन भएपछि १२ वर्षमा एकपटक गर्ने चलन बसेको हो ।
सम्यक् परम्परा बुद्धका बालसखा, आफूभन्दा पाँच वर्ष कान्छा बिम्बिसारले सुरु गरेको मानिन्छ । बौद्ध परम्परामा भिक्षुहरूलाई आमन्त्रण गरी भोजन गराउने कार्यलाई सम्यक् दान भनिन्छ । यसको सुरुवात ईशापूर्व छैटौं शताब्दीमा भएको अनुमान गरिन्छ । सम्यक् महादानका लागि प्रसिद्ध स्थान स्वयम्भू स्तूप तलको भुइँखेल हो । साथै इटुम्बहाल, ओटु, ललितपुरको लगनखेल र भक्तपुर पनि यसका प्रमुख स्थान हुन् ।
सम्यक् महादानमा आदि बुद्ध, भगवान् बुद्ध, दीपंकर, बोधिसत्व, आर्यतारा, श्रामणेर, बज्रार्य, भिक्षु आदि सयौं देवदेवीलाई निमन्त्रणा गरी दान, दक्षिणा र भोजन गराइन्छ । यस अवसरमा करिब पाँच फिट अग्ला पूर्णकदका मूर्तिहरू लहरै सजाइन्छ, जुन विशाल खुला संग्रहालयजस्तै देखिन्छ ।
संसारमा दुई प्रकारका वस्तु हुन्छन् –प्राकृतिक र संस्कृत । जस्तो छ, त्यो प्राकृतिक हो; त्यसलाई परिस्कृत गरिँदा संस्कृत बन्छ । सम्पूर्ण विश्वको रचना गर्ने शक्ति प्रकृतिभित्रै निहित छ, जसलाई ‘माया’ भनिन्छ । मानिस यही मायाभित्र रहेर आफ्ना कर्महरू सम्पन्न गर्दछ । काठमाडौं देशको मुटु भएकाले यहाँको समृद्धि देशभरि फैलिने विश्वास छ । अन्न र सहकाल राम्रो भए देशभरि शुभ हुन्छ भन्ने मान्यतासहित धर्म र संस्कृतिलाई जीवन्त राख्न पुर्खाले यस्ता परम्पराहरू चलाएका हुन् ।