२०८२ चैत १६ गते सोमवार / Mar 30 , 2026 , Monday
२०८२ चैत १६ गते सोमवार
Ads

विश्वविद्यालयको प्राज्ञिक प्रतिष्ठाको प्रश्न

himalayanlife
डा. देवीप्रसाद आचार्य
२०८२ चैत १६ गते ०६:०५
Shares
विश्वविद्यालयको प्राज्ञिक प्रतिष्ठाको प्रश्न

अहिले नेपालमा १९ वटा विश्वविद्यालय सञ्चालनमा छन् । समाज निर्माणमा यी विश्वविद्यालयहरूको आ–आफ्नो गरिमा छ, भूमिका छ । देशमा दक्ष जनशक्ति उत्पादन गर्नमा यिनीहरूको अमूल्य योगदान छ । तथापि हाम्रा विश्वविद्यालयहरू अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा अब्बल बन्न नसकेको अवस्था छ । विश्वविद्यालयको प्राज्ञिक सवालमा यक्ष प्रश्न उठेका छन् । विश्वविद्यालय स्वतन्त्र प्राज्ञिक केन्द्र हुन सकेका छैनन् । यी शैक्षिक संस्था आधारभूत व्यवस्थापन, राजनीतिक हस्तक्षेप, समसामयिक पाठ्यक्रम तथा गुणस्तरीय शिक्षणको अभावसँग जुधिरहेका छन् ।

विश्वविद्यालयहरूको लक्ष्य डिग्री हस्तान्तरण गर्नु मात्र हुनुहुँदैन । विश्वविद्यालय यस्तो प्राज्ञिक थलो हो, जहाँ नागरिकलाई शिक्षित मात्र गरिँदैन, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा प्रशिक्षित पनि गरिन्छ । बेलायती दार्शनिक जोन हेनरी न्युम्यानको चर्चित कृति ‘द आइडिया अफ अ युनिभर्सिटी’मा विश्वविद्यालयको उद्देश्य केवल पेसामुखी शिक्षा होइन, बरु समग्र ज्ञान, बौद्धिक विकास र मानवीय मूल्यको विकास गराउनु हो भन्ने उल्लेख छ । हेनरीको उक्त भनाइलाई आधार मानेर हेर्दा हाम्रा विश्वविद्यालयहरू यस आदर्शबाट निर्देशित भएको पाइँदैन । न त विश्वविद्यालयहरू पेसामुखी छन्, न त नवप्रवर्तनका केन्द्र । विश्वविद्यालयहरूमा ज्ञान संकलन गर्ने, पुस्तकहरू रटान गर्ने र परीक्षा उत्तीर्ण गर्ने अभ्यास हाबी भएको अवस्था छ ।

आजको एक्काइसौं शताब्दीमा हाम्रा विश्वविद्यालयहरू समयसापेक्ष हुनुपर्दछ भन्नेमा राज्य तथा विज्ञहरूको भनाइ रहेको पाइन्छ । तर समयसापेक्ष विश्वविद्यालयहरू कस्ता हुनुपर्दछ ? यिनीहरूले प्राज्ञिक क्षेत्रमा के–कस्तो कार्य गर्नुपर्दछ भन्ने सन्दर्भमा निर्धारित मानक स्थापित भएको पाइँदैन । एकातिर विश्वविद्यालयहरूले व्यक्ति, समाज र सिंगो मुलुकको आवश्यकतालाई सम्बोधन गर्न सकेका छैनन् भने अर्कोतिर नयाँ खोज, अनुसन्धान, आविष्कार, मौलिक चिन्तन तथा नवप्रवर्तनमा उल्लेख्य भूमिका निर्वाह गर्न नसकेको विषय सर्वस्वीकार्य छ ।

अमेरिकी भाषाविद् तथा दार्शनिक नोम चोम्स्कीका अनुसार शिक्षाको उद्देश्य केवल जानकारी भरिदिनु होइन, बरु स्वतन्त्र तथा आलोचनात्मक सोचको विकास गराउनु हो । चोम्स्कीको भनाइलाई बल पुग्ने गरी विश्वप्रख्यात भौतिकशास्त्री तथा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विश्वविद्यालय केवल पेसा सिकाउने ठाउँ मात्र होइन, यो स्वतन्त्र चिन्तन र सत्यको खोजी गर्ने स्थल हो भनेका छन् । यस कोणबाट हेर्दा हाम्रा विश्वविद्यालयहरू न त रोजगारमैत्री छन्, न त अनुसन्धानमैत्री । बरु विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई पाठ्यक्रमभित्र बाँध्ने र प्रमाणपत्र हस्तान्तरण गर्ने शैक्षिक केन्द्रको रूपमा काम गर्दै आएका छन् ।

अहिलेको अवस्थामा संख्यात्मक रूपमा देशलाई पुग्ने विश्वविद्यालयहरू स्थापना भएको स्थिति छ । तर विडम्बना के छ भने यी प्राज्ञिक संस्थाबाट स्वतन्त्र चिन्तक, दार्शनिक तथा वैज्ञानिकको उत्पादन नगन्य छ । अमेरिकी शिक्षाविद् उड्रो विल्सनले ‘विश्वविद्यालय राष्ट्रको बौद्धिक आत्मा हो, जहाँबाट समाजको दिशा निर्धारण हुन्छ’ भनेका छन् । त्यसो त विश्वविद्यालयहरूबाट बौद्धिक जनशक्ति उत्पादन नै भएका छैनन् भन्नु विवेकसम्मत हुँदैन । तर देश विकास, समृद्धि र सुशासनको मार्गमा दिशानिर्देश गर्न बौद्धिकहरूको भूमिका कमजोर रहेको देखिन्छ । देशले बौद्धिकहरूको भूमिका खोजिरहेको छ ।

हाम्रा विश्वविद्यालयहरू नवप्रवर्तनका प्राज्ञिक केन्द्र बन्न नसक्नुको पछाडिको प्रमुख कारण सिद्धान्तले भरिएका पाठ्यक्रम तथा पाठ्यपुस्तकको अध्यापन गराइनु हो । शास्त्रहरूको व्याख्यान गर्ने परम्परागत शिक्षण विधिबाट विश्वविद्यालयहरू माथि उठ्न सकेका छैनन् । विद्यार्थीलाई पुराना सिद्धान्त घोकाइन्छ, रटाइन्छ । चाहे भौतिकशास्त्र होस् या अर्थशास्त्र, शिक्षाशास्त्र होस् कि समाजशास्त्र— न्युटन, आइन्स्टाइन, मार्सल, रुसो, डार्विन, सेक्सपियरलगायत विभिन्न क्षेत्रका व्यक्ति एवं व्यक्तित्वहरूको आविष्कार र योगदानको प्रशंसागान गर्ने पाठ्यपुस्तकहरू अध्यापन गराइन्छ । शास्त्रार्थको क्षेत्र कमजोर छ । सिद्धान्त र सिद्धान्तकारबारे पढाउने र परीक्षामा उनीहरूले गरेको योगदानलाई लेखाउने अनि ग्रेड निर्धारण गर्ने मूल्यांकन प्रणाली छ । यस्तो शिक्षा पद्धतिले विद्यार्थीको मौलिकपन हराउँछ । खोज, अनुसन्धान तथा सिर्जनशीलता फस्टाउँदैन । वैज्ञानिक चिन्तनको विकास हुँदैन ।

हाम्रो देश प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ । भू–गर्भमा पर्याप्त प्राकृतिक खानी र खजाना छन् । विश्वविद्यालयबाट अध्ययन सकेका जनशक्तिमा यिनीहरूको खोज, अनुसन्धान, उत्खनन तथा उपयोग गर्न सक्ने ज्ञान र सीपको अभाव छ । हाम्रा भिर, पाखा, पखेराहरूमा अमूल्य जडीबुटी छन् । विश्वविद्यालयहरूले औषधिजन्य जडीबुटीको अध्ययन, खोज, अनुसन्धान तथा उपयोग गर्ने ज्ञान र सीप सिकाउन सकेको अवस्था छैन । यो मुलुकमा सुन, चाँदी, तामा, पित्तल, कोइला, पेट्रोलियम पदार्थ, युरेनियमलगायत अमूल्य खनिज सम्पदा भूगर्भमा रहेको सूचनात्मक ज्ञानको संकलन गरिन्छ । तर शिक्षित जनशक्तिमा उल्लेखित क्षेत्रको उत्खनन गरी उपयोग गर्ने क्षमताको अभाव छ । हाम्रा विश्वविद्यालय वैज्ञानिक तथा अनुसन्धानका प्राज्ञिक थलोको रूपमा कहिले विकास हुने ?

विश्वविद्यालय केवल ज्ञान दिने संस्था मात्र होइनन्, राष्ट्रको बौद्धिक मेरुदण्ड हुन् । दक्ष जनशक्ति उत्पादन गर्न, अनुसन्धानमार्फत नवीनता ल्याउन, नवप्रवर्तन गर्न, समाजलाई सही दिशा प्रदान गर्न विश्वविद्यालयको भूमिका प्रभावकारी हुन्छ । आजका विकसित देशहरूले आर्थिक, सामाजिक, बौद्धिक, विज्ञान तथा प्रविधिको विकास गर्नुको पछाडि त्यहाँका विश्वविद्यालयहरूको प्राज्ञिक सफलताले ठूलो भूमिका खेलेको छ । सन् २०२५का उत्कृष्ट विश्वविद्यालयहरू विकसित देशहरूमा छन्— म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (अमेरिका), हार्वर्ड युनिभर्सिटी (अमेरिका), इम्पेरियल कलेज लन्डन, क्याम्ब्रिज तथा अक्सफोर्ड युनिभर्सिटी (बेलायत) । यसैगरी विश्व जगत्का विकसित देशहरूमा अब्बल स्तरका विश्वविद्यालयको कमी छैन ।

शैक्षिक संस्थाहरू गुणस्तरीय नहुँदासम्म देशका हरेक क्षेत्र कमजोर हुन्छन् । अमेरिकी प्रसिद्ध शिक्षाविद् डेरेक बोकले ‘यदि विश्वविद्यालय कमजोर भयो भने राष्ट्रको भविष्य पनि कमजोर हुन्छ’ भनेझैं दिगो विकासको अवधारणालाई व्यवहारमा लागू गर्न विश्वविद्यालयहरूको प्राज्ञिक क्षमता उकास्नु अनिवार्य सर्त हुन आउँछ । त्यसो त देशका सबै विश्वविद्यालयहरूलाई विश्व स्तरको बनाउन राज्य तथा समाजले निकै मिहिनेत र लगानी गर्नुपर्दछ । यस सन्दर्भमा पहिलो चरणमा देशको सबैभन्दा जेठो विश्वविद्यालय त्रिविलाई विश्व स्तरको विश्वविद्यालयको रूपमा स्थापित गर्न राज्यले ठोस कार्य योजना, रणनीति, लगानी तथा भीष्म प्रतिज्ञाका साथ काम गर्न आवश्यक ठानिन्छ ।

विश्वस्तरको उचाइमा विश्वविद्यालयहरूलाई उठाउनका लागि यी शैक्षिक संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराई प्राज्ञिक स्वतन्त्रता प्रदान गर्नुपर्दछ । विश्वजगत्का अब्बल विश्वविद्यालयहरूसँग सहकार्य विस्तार गर्नुपर्दछ । आधुनिक तथा व्यावहारिक पाठ्यक्रम, पाठ्यपुस्तक, अनुसन्धानमैत्री शिक्षण विधि, भौतिक सुविधामा वृद्धि, मेरिटोक्रेसीमा आधारित प्राध्यापक तथा शैक्षिक प्रशासनको व्यवस्थापनलगायत आवश्यक क्षेत्रमा राज्यले नवीन सोचका साथ काम गर्न आवश्यक ठानिन्छ ।

आइन्स्टाइनले ‘शिक्षा केवल तथ्य सिकाउन मात्र नभई सोच्ने तरिका सिकाउनु हो’ भनेझैं विश्वविद्यालयहरूलाई सूचनाको वर्णन तथा सिद्धान्तको व्याख्यात्मक शैलीमा क्रमभंग गरी सिर्जनशील, अनुसन्धानमुखी तथा नवप्रवर्तनको मार्गमा हिँडाउनुपर्दछ । राज्यले विश्वविद्यालयलाई नयाँ खोज, अनुसन्धान, आविष्कार तथा नवनिर्माणका प्राज्ञिक केन्द्रका रूपमा स्थापित गर्न विलम्ब गर्नुहुँदैन । यसो गर्दा देशका थिंकट्यांकसँग सहकार्य गर्ने संस्कृतिको विकास गर्नुपर्दछ ।

सम्बन्धित खबर