२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

राजनीतिमा मौलाएको विकृत प्रवृत्ति

ADV
२०८१ साउन २९ गते ०६:२५
राजनीतिमा मौलाएको विकृत प्रवृत्ति

–युवराज संग्रौला

जो पार्टीको नेता छ, उहीँ सरकारमा जाने पितृवाद एउटा प्रवृत्ति हो, जो नेपालमा घनघोर मौलाएको छ । यस कथित लोकतन्त्रमा नेता प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा गर्छ, जन समृद्धिका उपाय रच्न होइन । काँग्रेस र कम्युनिस्टहरूमा जो पार्टीको अध्यक्ष छ, उही संसदीय दलको अध्यक्ष हुन्छ । बहुमत पाए, उही प्रधानमन्त्री हुन्छ । सबै पद एउटैमा हुन्छ र उ अपराजित हुन्छ । यो लोकतन्त्रको नामको ‘अधिनायकवाद’ हो र यस्तो राजनीतिक चलन नै ‘फ्लड वा कुरूप लोकतन्त्र हो ।’ यस कुरूप विशेषताकै कारण पार्टीमा नियन्त्रण गर्न गुटबन्दी, गुटबन्दी कायम राख्न सत्ताको पद (कमिसन र भ्रष्टाचारबाट धन कमाउन) र सत्ताको पद कायम राख्न विदेशीको अनुग्रह नेपाली राजनीतिको चरित्र बन्दै आएको छ । नेपाली राजनीतिमा आज यही कारणले ३०÷३५ वर्षदेखि एकै व्यक्ति राजनीतिक सत्तामा छन् । यो केन्द्रीय चरित्र माथिदेखि गाउँसम्म छ । मानिस निराश छन् र विकास जिरो छ । यही कुरूपताले राजनीतिमा अन्धभक्त पोषित ‘अफवाहवाद’ जन्मिएको छ ।

दोस्रो चरित्र अन्धभक्त, भक्तवाद, र चेतनाहीनता हो, जसलाई अफवाहवाद भनिन्छ । यसले व्यक्तिलाई हिरो, देवता वा महानायक बनाउँछ । अझ अहिले त तिजको गीत नै “..... सँग पोइल जान्थेँ” भन्ने भएछ । यो यति विषाक्त हुन्छ, जसले राजनीतिमा चेतनाहीन जत्थालाई निर्णायक बनाइदिन्छ । यस्तो ‘हुलवादी’ अन्धभक्त अन्ततः विसर्जन नै हुन्छ, तर त्यो विसर्जनले पनि राष्ट्रलाई ठुलो धोका दिन्छ । यसको प्रमाण फ्रेन्च रिभोलुसनमा ‘रोवेस्पियर’ र ‘मारा’ प्रतिको अन्धभक्त हो, जसले फ्रेन्च क्रान्तिलाई रक्तपातमा बदल्यो र मानिसको शीर छेदन गर्न मेसिन बनाउने आदेश दिने रोबेस्पियर आफैँ त्यही मेसिनबाट शिर छेदनका पात्र बन्यो । रोवेस्पियरको अत्याचारको स्रोत अल्प बुद्धि हुलवादीको अन्धभक्ति थियो । यस्तो अन्धभक्तिले इन्दिरा गान्धीको संकटकाल, पोलपोटको नरसंहार र हिटलरको नाजीवाद जन्मायो । नेपालमा नेताको देवत्वकरणले लोकतान्त्रिक पार्टीकोको मान सम्मान स्खलन र लोकतन्त्रलाई ‘कुरूपतन्त्र’मा रूपान्तरण गर्‍यो । 

नागरिक तन्त्रको रूपमा लोकतन्त्रको विकासको सबैभन्दा ठुलो अवरोध सदा सत्ता आसीन भोक र अन्धभक्त हो, जसले एकातिर देशको बौद्धिकता समाप्त पार्दछ, अर्कातिर राजनीति प्रतिनिधि वा नेतालाई निरकुंश÷अधिनायक बनाउँछ । अन्धभक्त बिकाऊ हुन्छ, फोहोरी हुन्छ र हिंस्रक हुन्छ । त्यो झुटो प्रचारको खेतीमा बाँचेको हुन्छ । फ्रेन्च क्रान्तिमा मारा हरेक मिनेट एउटा नयाँ अफवाह निर्माण गर्थ्यो र अन्धभक्तको दिमागलाई उत्तेजित बनाइ हिंसाप्रति प्रेरित गर्थ्यो । गोएबल्स हरेक मिनेट हिटलरलाई अलौकिक शक्तिका रूपमा प्रयोग गर्थ्यो । दादा इदि अमिनका अन्धभक्त पनि यस्तै अपराधी थिए । उनीहरू सबै समाचार सिर्जना गर्थे । आज त झन् सजिलो छ । एक दर्जन यूट्युबर राखे पुग्छ । २०१९ को निर्वाचनमा मोदीले यसै गरे । अन्धभक्तहरूले यतिसम्म गरे कि उनी आफूलाई अजैविक भन्न थाले ।

नेपाली राजनीतिमा एकातिर लोकतन्त्र नवसामन्तवाद वा पितृवादमा परिणत भएको छ भने अर्कोतिर अन्धभक्तको पूजामा मौलाएको हिरोवाद । अघिल्लो जीवनभर सत्ता आसीन हुन चाहन्छ र दोस्रो एकाएक उदय र प्रलयको सपनामा वितण्डा वा प्रचारमा बाँच्दछ । यी दुवै लोकतन्त्रलाई नागरिकीरण र सामाजिकीकरण गर्न नदिने अवरोधक हुन् । यी रही रहे, लोकतन्त्र जीवितै भइरहन मुस्किल पर्दछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise