२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पलेशाले बढाएको देशको गौरव

ADV
२०८१ भदौ २१ गते ०६:२०
पलेशाले बढाएको देशको गौरव

–डा शोभाकर पराजुली

फ्रान्सको पेरिसमा रहेको ग्रान्ड प्यालेसमा पलेशा गोवद्र्धन रिङमा भिड्दै गर्दा नेपाली गोलार्द्धतिर मध्यरात भइसकेको थियो । गत शनिवार बिहान मात्रै संसारभरि छरिएका नेपालीमा एउटा हर्षको सञ्चार भयो– पलेशाले कास्य पदक जितिन् । नेपालको खेल इतिहास अझ भनौं ओलम्पिक इतिहासमा पलेशाले ल्याएको यो ऐतिहासिक पदक हो । 

यसअघि यस्ता खेलमा नेपाली खेलाडीले पदकहरू जित्न सकेका छैनन् । ओलम्पिक यात्रा सुरुवातको २० वर्षपछि पहिलो पटक पदक ल्याउने खेलाडी बनेकी छिन् पलेशा । अपाङ्गता भएका खेलाडीलाई सहभागी गराउनका लागि सन् १९६० मा इटालीको रोमबाट सुरु भएको पारा ओलम्पिक यात्रालाई नेपालले सन् २००४ मा एथेन्स (ग्रीस)बाट पछ्याउन सुरु गरेको हो । त्यसको दुई दशकमा २१ वर्षीया पलेशाले ओलम्पिकमा नेपालको इतिहास रच्न सफल भइन् । पेरिसमा पलेशाले कास्य पदकका लागि भएको भिडन्तमा सर्बियाकी खेलाडी मारिजा मिकेभलाई १५–८ ले पराजित गर्दै नेपालका लागि कास्य पदक जितिन् । यो भनेको ५७ केजी तौल समूहका महिला खेलाडीको प्रतिस्पर्धा थियो । 

यसअघि पनि सन् २०१८ मा काठमाडौंमा भएको दोस्रो एउटा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । त्यही वर्ष भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले कास्य जितिन् । यो उनको अन्तर्राष्ट्रिय पदकको यात्रा थियो । त्यसको तीन वर्षपछि उनले बहराइनमा भएको एसियाली युथ पारा गेम्समा पनि स्वर्ण पदक जितेकी थिइन् । सन् २०१६ देखि पारा राष्ट्रिय टिममा जोडिएकी पलेशा सन् २०१७ मा दक्षिण कोरियामा भएको एसियाली पारा तेक्वान्दोमा पाँचौँ स्थानमा थिइन् । गत वर्षको अन्तिमतिर चीनमा भएको एसियाली छनोट चरण जित्दै पलेशाले पेरिस पारा ओलम्पिकको यात्रा तय गरिन् । 

दक्षिण एसियाली छनोट चरणमा अहिलेसम्म तीन जना मात्रै नेपाली खेलाडी ओलम्पिक खेलेका छन् । त्यसअघि सन् २००४ मा ग्रिस ओलम्पिकका लागि सङ्गीना वैद्य र सन् २०१० मा दीपक विष्टले त्यो चरण पार गर्न सकेका थिए । वाइल्ड कार्डमार्फत सन् २०२० मा पनि पारालिम्पिक खेलेकी पलेशा त्यो पनि पदक नजिकै पुगेकी थिइन् । तर त्यसपछिको अथक मेहनत र कडा परिश्रमले उनलाई यसपालि कास्य पदक दिलायो ।

काठमाडौं बागबजारकी पलेशा जन्मिँदै अपाङ्गता भएकी खेलाडी हुन् । उनको बाँया हात पूर्ण छैन । १० वर्षको उमेरदेखि नै तेक्वान्दो खेल्न थालेकी उनले २१ वर्षकै उमेरमा देशका लागि खेल इतिहासमा नयाँ पाना थपेकी छिन् । यति बेला सिङ्गो नेपाल हर्ष र खुसीले दङ्ग छ । संसारभरि छरिएका सारा नेपाली मख्ख छन् । संसारभरिबाट उनलाई अहिले बधाईको ओइरो आइरहेको छ । पुरस्कारका घोषणा भइरहेका छन् । देशका ऐतिहासिक पदक लिएर फर्किएकी पलेशालाई बुधवार विमानस्थलमै भव्य स्वागत भयो । उनका शुभेच्छुकहरूले खुसीयाली साट्दै नगर परिक्रमासमेत गराए । राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार उनले सरकारका तर्फबाट रु ६५ लाख पुरस्कारसमेत पाउनेछिन् । 

राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका सबै राजनीतिक दल तथा आम नागरिकले समेत उनलाई बधाई र आगामी यात्राका लागि शुभकामनासमेत दिइरहेका छन् । त्यो भव्य स्वागत र सम्मानपछि पलेशाले भनेकी थिइन्, ‘अब गर्वका साथ हामीले भन्न पाउनेछौँ, हामीसँग पनि पदक छ’ । यो पदकलाई उनले आफूभित्रको दरिलो साहस र बलियो आत्मविश्वासको परिणाम भनेकी छिन् र यो पदक उनले राष्ट्र अनि सारा नेपालीका लागि समर्पण पनि गरेकी छिन् । पलेशाले ल्याएको यो पदक मात्रै उनले आफूमा त्यो सफलतालाई सीमित गरेकी छैनन्, बरु राष्ट्र अनि आम नागरिकका लागि त्यो पदकलाई समर्पण गरेकी छिन् । यो भनेको एउटा खेलाडीमा भएको राष्ट्र प्रेम पनि हो । एउटा खेलाडी आफ्नो ज्यानको बाजी लगाएर मात्रै आफ्ना लागि खेल्दैन । ऊ राष्ट्रको नाममा खेलिरहेको हुन्छ । आफ्नो सारा सपना र चाहनाहरूलाई खेलमै समर्पित गरेर उसले राष्ट्रको ध्वजा अन्तर्राष्ट्रिय मञ्चमा फहराइरहेको हुन्छ । राष्ट्रलाई सारा संसारमाझ चिनाइरहेको हुन्छ । 

न यहाँ एउटा गतिलो रङ्गशाला छ अनि कुनै मैदान अनि न कुनै अभ्यास गर्ने स्तरीय कभर्ड हल । पलेशाजस्ता कैयौँ त्यस्ता खेलाडी छन्, जसले ऋण धन काढेर अनि आफ्नै बलबुतामा खेल अभ्यास गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाइरहेका छन् । त्यसकै परिणाम हो, राष्ट्रिय अनि अन्तर्राष्ट्रियरूपमै चिनिएका विभिन्न विधानका हाम्रा खेलाडी अहिले जीवन धान्नका लागि धमाधम विदेश पलायन भइसकेका छन् । हाम्रा नेताहरूले खेल र खेलाडीको विकास अनि उनीहरूको स्तरीय जीवनका लागि चुनावी घोषणा त गरिदिन्छन् तर नीति निर्णय गर्ने ठाउँमा पुगिसक्दा उनीहरूले नै खेल क्षेत्र भुलिसकेका हुन्छन् । खेल क्षेत्र हाम्रो राज्यको प्राथमिकतामा कहिल्यै पर्न सकेको छैन । यो यथार्थतालाई हाम्रा नीति निर्माताले हेक्का गर्नै पर्छ र आत्म समीक्षा अनि आगामी रणनीतिका बारेमा सोच्नैपर्छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise