नेकपा माओवादी केन्द्रको केन्द्रीय मूख्यालय पेरिसडाडाँमा नेताहरुको उपस्थिति बढेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाट हटेपछि पेरिसडाडाँमा माओवादी केन्द्रका अरु नेताहरु पनि जान थालेका हुन् । उनीहरुलाई पेरिसडाडाँ पुर्याउने परिस्थिति स्वयं अध्यक्ष प्रचण्डले नै तयार पारेका हुन् । प्रतिनिधि सभामा विश्वासको मत गुमाएर प्रधानमन्त्रीबाट हटेसँगै अध्यक्ष प्रचण्डले लगातार पार्टी कार्यक्रम राखिरहेका छन् । औपचारिक तथा अनौपचारिक सम्वाद समेत गरिरहेका छन् । शुक्रबारदेखि पदाधिकारीको बैठक चलाएका अध्यक्ष प्रचण्डले लगत्तै स्थायी कमिटी बैठक राख्ने तयारी गरेका छन् । प्रचण्ड आफै पेरिसडाँडा केन्द्रित गतिविधिमा संलग्न भएकाले माओवादीका अरु नेता तथा कार्यकर्ता पनि पार्टी केन्द्रीय कार्यालय जान थालेका हुन् ।
पेरिसडाडाँमा नेता तथा कार्यकर्ताको उपस्थिति देखिनु कुनै नौलो विषय नहुनु पर्ने हो । किनकि एउटा जीवन्त पार्टीमा मान्छेहरुको उपस्थिति हुन्छ, भीडभाड हुन्छ । तर माओवादी केन्द्रमा त्यस्तो देखिनथ्यो । लगातार ९ वर्षदेखि माओवादी सत्तामा थियो । माओवादी सत्तामा हुँदा केन्द्रीय मूख्यालय सधैं सुनसान जस्तै हुने गर्यो । प्रचण्ड प्रधानमन्त्री हुँदा नेताहरु पनि बालुवाटार र सिंहदरबार केन्द्रीत भए । नेताहरु मन्त्री हुँदा कार्यकर्ता अरुतिरै थुप्रिए । पार्टी कार्यक्रम नहुँदा नेताहरु पनि फुर्सदिला बने । जसले गर्दा माओवादीको आधार र आकर्षण कमजोर बन्दै गयो । कहिले नेकपा एमाले र कहिले नेपाली कांग्रेसका बीचमा खेल्ने भूमिकामा माओवादी नेताहरु रमाउन थाले । माओवादीको त्यस्तो भूमिकाको परिणाम भने राजनीतिक अस्थिरता जस्तो बन्न पुग्यो ।
तर निकै सानो शक्तिमा खुम्चिएपनि माओवादी नेतृत्वले संगठन सुदृढीकरण र प्रमुख प्रतिपक्षी भूमिका सशक्त बनाउने मनोविज्ञान बनाएको देखिन्छ । विशेषगरी जनताको एजेण्डा उठाएर पार्टीको पक्षमा जनमत सिर्जना गर्ने निष्कर्षमा नेताहरु पुगेको देखिन्छ । यो निष्कर्ष माओवादी र मुलुकका निम्ति उचित हो । किनकि मुलुकको संवैधानिक व्यवस्थाले पनि बलियो प्रतिपक्षी शक्तिको कल्पना गरेको छ । जसले आवश्यक पर्दा वैकल्पिक सत्ता दिने मात्र नभएर सत्तालाई संवैधानिक भूमिकामा सीमित राख्न पनि बलियो प्रतिपक्ष आवश्यक छ । त्यस्तो शक्ति जनतासँग जोडिएको हुनुपर्छ, जनताको समस्यासँग नजिक रहेको हुनुपर्छ । तसर्थ जनतासँग जोडिनेगरी पेरिसडाडाँमा तयारी हुनु राम्रो दृष्य हो । फुर्सदिला नेताहरु नेताहरुले समाजका बारेमा चिन्ता गर्ने परिस्थिति सिर्जना हुनु अझ राम्रो हो ।