
काठमाडौं : देशकै पहिलो विद्यालय दरबार हाइस्कुलले स्थापनाको १ सय ७२ वर्षपछि पहिलोपटक महिला प्रधानाध्यापक पाएको छ । हाल भानु माध्यमिक विद्यालयका रूपमा रहेको दरबार हाइस्कुल १९१० सालमा सञ्चालन भएको थियो । नेपालको शैक्षिक इतिहास बोकेको यस विद्यालयमा ४ मंसिरमा शारदाकुमारी पौडेल प्रधानाध्यापक नियुक्त भइन् । उनी सोही विद्यालयमा १३ वर्षदेखि कार्यवाहक प्रधानाध्यापक थिइन् ।
संयोग, मुलुकले इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री पाएका बेला काठमाडौंका आधा दर्जन धेरै ठुला सामुदायिक विद्यालयको नेतृत्वमा पनि महिला नै छन् । १ हजार ९५ विद्यार्थी अध्ययरत सबैभन्दा पुरानो दरबार हाइस्कुल मात्र होइन, ४ हजार ७ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत ज्ञानोदय माविको नेतृत्वमा पनि महिला छन् । विष्णु घिमिरे रिमाल दुई वर्षअघि ज्ञानोदयको प्रधानाध्यापक भएकी हुन् । त्यस्तै, ४ सय बढी विद्यार्थी शान्ति निकेतनमा रविना महर्जन प्रधानाध्यापक छिन् भने १ हजार धेरै विद्यार्थी अध्ययनरत निलबराही माविको नेतृत्वमा डा. जानुका नेपाल छिन् ।
दरबार हाइस्कुललाई महिला प्रधानाध्यापक पाउन किन यति धेरै समय लाग्यो ? प्रधानाध्यापक पौडेल भन्छिन्, ‘महिलालाई विश्वासै गरिँदैन । महिलाले सक्दैनन् भन्ने प्रवृत्ति रहेसम्म कहाँबाट आउँछ नेतृत्वको कन्फिडेन्ट ?’
पुरुषका तुलनामा महिलाले प्रत्येक पाइलामा आफूलाई सक्षम साबित गर्नुपर्ने उनको अनुभव छ । पहिले सामाजिक संरचनाले महिलालाई पारिवारिक कार्यहरूमा सीमित राख्यो । सोही कारण महिलाले पेसागत दक्षतामा पर्याप्त समय दिन नसक्ने अवस्था बनेको उल्लेख गर्दै पौडेल भन्छिन्, ‘तिनै कारणले अरू क्षेत्रहरूमा जस्तै दरबार हाइस्कुलमा पनि महिलालाई नेतृत्व तहमा पुग्न धेरै समय लाग्यो ।’
झट्ट हेर्दा सरल देखिए पनि महिला शिक्षकलाई नेतृत्वमा पुग्न सहज भने छैन । सरकारले प्रधानाध्यापकका रूपमा नियुक्ति दिएर पठाउँदासमेत नेतृत्व नदिइएका उदाहरण छन् । पद्योदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. शर्मिला पोख्रेलसँग कानुनी लडाइँ लडेर नेतृत्वमा पुगेको तितो अनुभव छ । ‘महिलालाई नेतृत्व सहजै दिँदैनन् । मैले चार वर्ष कानुनी मुद्दा लडेर जिम्मेवारी पाएको हुँ,’ उनले भनिन्, ‘एउटा शिक्षिकाका रूपमा पढाउँदासम्म ठिकै थियो तर प्रधानाध्यापक भएर त्यही विद्यालयमा पढाउन थालेपछि अनेक बाधा अवरोध आउन थाले ।’ पितृसत्तात्मक सोचले अझै पनि जरा गाडेको उनी बताउँछिन् ।
पद्योदय माविमा १ हजार बढी विद्यार्थी अध्ययनरत छन् । पोखरेलले उनीहरूलाई पढाउने ८० धेरै शिक्षक र कर्मचारीसहित विद्यालयको नेतृत्व हाँकिरहेकी छन् । कानुनी लडाइँ लडेर पाएको जिम्मेवारी निभाउन उनी सदैव सचेत छिन् । विद्यालयको उत्कृष्ट व्यवस्थापनदेखि विद्यार्थीको सिकाइ योजना बनाउनैमा उनका दिन बितेका छन् ।
केही दशकअघिसम्म विद्यालय नगण्य मात्र शिक्षिका देखिन्थे । तर अहिले प्रि–स्कुलदेखि प्राथमिक तहसम्म शिक्षिकाकै बाहुल्यता छ । माध्यमिक तहमा पनि महिला शिक्षकको संख्या बढ्दै गएको छ । शिक्षक हुनुजति सजिलो भने प्रधानाध्यापक हुनुमा देखिँदैन । नियुक्ति पाउँदासमेत जिम्मेवारी सम्हाल्न नदिने र नेतृत्व हस्तान्तरण नगर्ने प्रवृत्तिबाट महिला प्रधानाध्यापक भुक्तभोगी छन् । शिक्षिकाबाट प्रधानाध्यापक हुँदै शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघको समेत नेतृत्वमा पुगेकी कमला तुलाधर भन्छिन्, ‘संघर्ष गरेरै नेतृत्वमा पुगे पनि महिलाले गर्व गर्नलायक काम गरेका छन् । महिलाले सम्हालेका विद्यालय उत्कृष्ट भएका छन् ।’
प्राथमिक तहको तुलनामा माध्यमिक तहमा महिला शिक्षकको अनुपात तुलनात्मक रूपमा थोरै छ । आधारभूत तह (कक्षा १–५) मा कुल शिक्षकमध्ये महिला शिक्षकको अनुपात शैक्षिक सत्र २०७९ मा ४७ दशमलव २ प्रतिशत रहेकामा शैक्षिक सत्र २०८० मा ५४ दशमलव १ प्रतिशत पुगेको छ ।
संविधानले नै राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेकाले पनि विद्यालय तहमा महिला शिक्षकको संख्या वृद्धि भएको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन् । शिक्षण महिलाका लागि आकर्षक रोजगारी मानिन्छ । शिक्षा संकायमा महिलाको बढी रुचि देखिनुले पनि त्यसको पुष्टि हुन्छ । विद्यालयमा शिक्षिकाहरूको संख्या बढ्नुको एउटा कारण त्यसैलाई मान्छन्, कोइराला । ‘पुरुषहरू वैदेशिक तथा अन्य बढी आय आर्जन गर्ने रोजगारीतर्फ लाग्न थालेपछि पुरुष शिक्षकको संख्या घट्दै गयो,’ उनी भन्छन्, ‘यसो भनिरहँदा कम आर्जन शिक्षामा हुन्छ भन्न खोजिएको होइन ।’
शिक्षा सेवा आयोगका अनुसार, शिक्षा नियमावलीले प्राथमिक तहमा तीन शिक्षक दरबन्दी भएकोमा एक महिला अनिवार्य गरेको छ । त्यस्तै, सात शिक्षक दरबन्दी भएकोमा दुई महिला र सातभन्दा बढी दरबन्दी भएमा तीन महिला शिक्षक अनिवार्य राख्नैपर्ने व्यवस्थाले पनि महिला शिक्षकको संख्या क्रमशः वृद्धि हुँदै गएको हो । सोही कारण १५ देखि २८ वर्षका महिलाको रोजगारीको पहिलो रोजाइ शिक्षण पेसा बनेको छ ।
सुरुका दिनमा महिला शिक्षक विद्यालयमा पाउनै मुस्किल रहेको अवस्थामा कोटा प्रणालीले प्रोत्साहित भएर महिला शिक्षिकाहरूको संख्या ह्वात्तै बढ्दै गएको देखिन्छ । शिक्षण पेसामा महिलाको उल्लेखनीय सहभागिता भए पनि विद्यालय नेतृत्वमा उनीहरूको उपस्थिति अझै सीमित देखिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा प्रधानाध्यापक पदमा पुरुषको वर्चस्व कायमै रहँदा महिला प्रधानाध्यापक अपवादजस्तै बनेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालय तथा शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार आधारभूत र माध्यमिक तहमा कार्यरत शिक्षकमध्ये ठुलो हिस्सा महिला भए पनि प्रधानाध्यापक पदमा पुग्ने महिलाको संख्या तुलनात्मक रूपमा निकै कम छ । विशेषगरी माध्यमिक तहका विद्यालयमा महिला प्रधानाध्यापकको उपस्थिति झन् न्यून देखिन्छ । यहीबेला काठमाडौंका धेरै विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयको नेतृत्वमा देखिनेगरी महिला पुगेका छन् । ‘महिला शिक्षकले विद्यार्थीलाई राम्ररी बुझाउन सक्छन्,’ शिक्षाविद् कोइराला भन्छन्, ‘महिलाले नेतृत्व गरेका विद्यालय तुलनात्मक रूपमा राम्रा पनि छन् । त्यसका पछाडि महिला शिक्षक÷प्राध्यानाध्यापकको मिहेनत, इमानदारिता र उदारता मुख्य कारण हुन सक्छ ।’
बालविकास विशेषज्ञ डा. मिनाक्षी दाहाल विद्यालयमा विद्यार्थीलाई महिला शिक्षकले राम्रो हेरचाह गर्छन् भन्ने आमविश्वास बन्दै गएको बताउँछन् । सोही कारण सामुदायिक र निजी विद्यालयमा महिला शिक्षकको माग बढेको उल्लेख गर्दै उनी भन्छिन्, ‘विद्यालयमा ससाना बालबालिकालाई हेरचाह धेरै चाहिन्छ । त्यो महिलाले नै सक्छन् भन्ने विश्वास छ । सोही कारण तल्लो तहको विद्यालयमा महिला शिक्षक अनिवार्यजस्तै भएको छ ।’ साना बालबालिकालाई महिलाले मात्र पढाउनुपर्छ भन्ने मान्यता विभेदजस्तो बन्न भने नहुने दाहाल बताउँछिन् ।
महिला प्रधानाध्यापक बढ्नुको कारण विद्यालयमा शिक्षिकाको संख्या बढ्नु रहेको बताउँछन्, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी । ‘विद्यालयहरूमा शिक्षिकाको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ,’ उनले भने ‘त्यसकारण पनि महिला प्रधानध्यापक भएर आउनु स्वाभाविक नै हो ।’
महिलाहरू कोटा तथा खुला दुवैबाट प्रतिस्पर्धा गर्न सक्ने भएकाले शिक्षण पेसामा प्रवेशको अवसर फराकिलो बनेको उनी बताउँछन् । यसको धेरै सकारात्मक प्रभाव देखिएको अध्यक्ष सुवेदी स्विकार्छन् । शिक्षिका तथा महिला प्रधानाध्यापकहरूले सञ्चालन गरेको विद्यालयहरूमा एकदमै पारदर्शिता, नतिजामा सुधार देखिएको उल्लेख गर्दै भन्छन्,‘ महिला प्रधानाध्यापक रहेका विद्यालयमा सुधार देखिएपछि नेतृत्वमा रोकतोक घटेको देखिन्छ ।’
शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अनुसार, नेपालमा कक्षा एक देखि कक्षा पाँचसम्म पढाउनेमा पुरुषभन्दा महिला धेरै छन् । सो तहमा महिला शिक्षकको संख्या ८४ हजार ३ सय ८७ रहेकामा पुरुष शिक्षक ६९ हजार ८ सय ४८ छन् । माथिल्ला कक्षामा भने महिला शिक्षकको संख्या घट्दै गएको छ । कक्षा ६ देखि आठसम्म महिलाभन्दा पुरुष झन्डै दोब्बर धेरै छन् । ती कक्षा पढाउने महिला शिक्षक २३ हजार ७ सय २७ रहेकामा पुरुष शिक्षकको संख्या ४१ हजार २ सय ३१ रहेको छ । त्यस्तै, कक्षा ९ र १० मा पुरुष शिक्षक ९ हजार ४ सय ९० रहेकामा महिला संख्या ३९ हजार ५ सय ३६ रहेको छ । ११ र १२ पढाउने शिक्षकमा भने महिला संख्या निकै कम छ । सो तहमा १ हजार ६ सय ९ महिला र ९ हजार ७ सय ५७ पुरुष शिक्षकले अध्यापन गरिरहेका छन् । सामुदायिक र निजी विद्यालयको समग्रमा महिला शिक्षकको संख्या १ लाख १७ हजार ६ सय ४ छ भने पुरुष शिक्षक १ लाख ६० लाख ३ सय ७२ जना रहेको केन्द्रले जनाएको छ ।
यो पनि पढ्नुहोस्ः
मर्ज हुन लागेको नीलबाराहीलाई नमुना बनाएकी डा. जानुका
विभेद चिर्दै नेतृत्वमा पुगेकी डा. शर्मिला
असमानताको पर्खाल तोड्ने प्रधानाध्यापक
४ हजार ७ सय विद्यार्थी पढ्ने ज्ञानोदय हाँकिरहेकी विष्णु
आदर्श माविले ७१ वर्षपछि पाएको करुणा
सक्षमता देखाउँदै शिखर चुमेकी शारदा