
काठमाडौं : नेल्सन मण्डेलाले भनेका थिए, ‘खेलकुदसँग संसार बदल्ने शक्ति हुन्छ । यसले प्रेरणा दिन्छ, आशा जगाउँछ, मान्छेलाई एकतामा बाँध्छ । दक्षिण अफ्रिकामा रंगभेदको घाउ निको पार्न संसारकै लोकप्रियमध्येको खेल रग्वीको भूमिका गर्विलो पाठ बनेको छ ।
जेनजी विद्रोह (२३–२४ भदौ)पछि नेपालमा अन्योल, अस्थिरता र निराशा फैलाएका बेला मंसिर पहिलो साता सुरु भई करिब तीन सातासम्म कीर्तिपुर मैदानमा क्रिकेट उत्सव चल्यो । एनपिएलको दोस्रो संस्करणको भव्य आयोजनाले आम नेपालीमा उही लयकै आशा र उत्साह फर्काइदियो । यसले आमनेपालीमा आशाको नयाँ दियो बालिदियो ।
नेपाल क्रिकेट संघको महत्वाकांक्षी कार्यक्रम नेपाल प्रिमियर लिग सिजन २ सिंगो नेपाली समाजलाई जोड्ने माध्यम बन्नुको पुष्ट्याइँ कीर्तिपुर मैदानले गरिदियो । लुम्बिनी र सुदूरपश्चिमको अन्तिम स्पर्धामा लुम्बिनीले बाजी मार्यो । त्यसक्रममा आआफ्नो टिमको समर्थनमा पनि एकताबद्ध हुने लहर चल्यो । आआफ्ना टिमका लागि एकताबद्ध हुनु भनेकै समाज एकता हुनु हो । आफ्ना आस्था र विचार बिर्सिएर खेलको एउटा टिमको पक्षमा उभिनु सामान्य कुरा होइन । खेलकुदको सामथ्र्य भनेकै यही हो ।
‘आठ टिममध्ये एकले जित्छ, सातले हार्छ भन्ने बुझ्नुपर्छ । खेलकुद हो, प्रोसेस फलो गर्नुपर्छ, राम्रो गर्ने प्रयास गरिरहनुपर्छ, सबैले बुझ्न जरुरी छ,’ रोहित पौडेलले एउटा पडकास्टमा भनेका छन् –‘सोच सकारात्मक राख्नुपर्छ, नतिजा आउँछ ।’
नेपालमा सर्वाधिक आशा जगाएको खेलमध्ये क्रिकेट पनि हो । राष्ट्रिय टिमको संरचनागत बनोट पनि निकै लोभलाग्दो छ । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेष, भीम सार्की, सन्दीप जोरा, सोमपाल कामी, देव खनाल, गुल्सन झा, विवेक यादव, बसिर अहमद, अनिलकुमार साह, ललित राजवंशी, सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ, कुशल मल्ल जनजिब्रोमा झुन्डिएका नाम हुन् । यी नामले नै समग्र देश बोेकेको आभास दिलाउँछ ।
प्रतिभा, निष्पक्षता र क्षमता देखाउने थलो पनि खेल मैदान नै हो । आफ्ना गल्ती कमजोरी आत्मसात् गर्दै सच्याउन सिकाउने पाठशाला पनि खेलकुद हो । नेपाली क्रिकेट टिममा पौडेल, सार्की, शेष, कामी, झा, यादव, राजवंशी, सर्राफ, मल्ल, तामाङ पुग्नुमा उनीहरूका अरू कुनै कारण छैन, उनीहरूका क्षमता र प्रतिभाले नै त्यहाँ पुर्याएको हो । तसर्थ भनिन्छ, खेलकुद निष्पक्षताको प्रतीक हो । नेपाली क्रिकेट टिममा सिंगो देशको समिश्रण देखिनुको कारण पनि यही हो । बहुल जात, बहुभाषिक र बहुधार्मिक नेपाली समाजलाई एकढिक्का बनेको सन्देश यो टिमले दिइरहेको छ ।
क्रिकेटमै महिला टिमले पनि देश जोडेको पुष्टि गर्छ । सुरुवाती चरणको दुई दशकमै नेपाली महिला क्रिकेटले महिला सशक्तीकरणको सवालदेखि देश जोड्ने विषयमा आफूलाई अब्बल मात्र देखाएन, सम्भावनाका बाटो पनि देखायो ।
एक समय नेपालको राष्टिय क्रिकेट टिममा पूर्वकी रुबिना क्षेत्री, मध्यकी निरा राजोपाध्याय, मध्यपश्चिमकी नेरी थापा मगर र सुदूरपश्चिमकी रितु कनोजिया सँगै खेले । समयान्तरमा उनीहरू चारै जनाले नेपालको नेतृत्व गर्ने अवसर पनि प्राप्त गरे । सम्भवतः सीमित स्रोतसाधन, सेवा र सुविधाबीच पहिलो पुस्ताको महिला क्रिकेटले नेपाली खेलकुद इतिहासमा स्वर्णिम अक्षरले नाम लेखाउन सफल भयो । कालान्तरसम्म योगदान देखिइनेगरी पहिलो पुस्ताले भूमिका निर्वाह गर्न सफल भयो । अहिले पनि नेपाली क्रिकेट टिमलाई इन्दु बर्मा र पूजा महतोले अघि बढाइरहेका छन्, कप्तान र उपकप्तानका रूपमा । इन्दु र पूजा दुवै मधेस प्रदेशबाट प्रतिनिधित्व गर्छन् । त्यसअर्थमा पनि यो महिला सशक्तीकरणको अर्को उदाहरण हो ।
मैदानमा उत्रिँदा कोही हिमाल पहाडबाट आएको हुन्छ, कोही तराईबाट । कोही सहरमा हुर्किएका छन् त कोही गाउँमा । तर खेल सुरु हुनेबित्तिकै सबै चिनारी हराउँछन् । त्यहाँ बाँकी रहन्छ टिम, नियम, लक्ष्य र देश । यही नै खेलकुदको ठुलो विशेषता हो । जहाँ राजनीति, विचारधारा र विभाजन असफल हुन्छन्, खेलकुदले त्यहीबाट एकताको पुल बनाउँछ । ‘साम्बाले युरोपियन लिग खेलिरहँदा विश्वले नेपाल चिन्छ । सायद देश जोड्ने भनेकै यही हो,’ वल्र्ड एथ्लेटिक्स लेवल टु लेक्चरर एवं मध्य तथा लामो दूरीका वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणा भन्छन्, ‘खेलाडीसँग जति देश जोड्ने सामथ्र्य अरू कसैसँग हुँदैन ।’
‘विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्ने र देश चिनाउने, कल्चर देखाउने, आपसी भाइचारा बढाउने भएकाले खेलकुद हरेक देशको प्राथमिकतामा पर्ने गरेको हो,’ नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट भन्छन्, ‘समाजलाई एकताबद्ध गराउने सिप र कला खेलकुदमा जस्तो अन्यत्र छैन तसर्थ ओलम्पिकजस्तो शक्तिशाली साझा मञ्च संसारमा अर्को छैन ।’
सुदूरपश्चिममा जन्मिएका दीपक दक्षिण एसियाली खेलकुद(साग)मा चारपटक स्वर्णपदक, एसियाली खेलकुदमा दुईपटक कांस्यपदक जित्ने र ओलम्पिकमा छनोट चरण पार गरेर भाग लिने दोस्रो नेपाली खेलाडी हुन् ।
खेलकुद त्यही शक्ति हो, जसले भाषा, जात, भूगोल र विचारको भिन्नतालाई पन्छाएर मानिसलाई एउटै भावनामा बाँध्छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले भनेका थिए, ‘खेलकुदले हामीलाई फरकफरक पृष्ठभूमिबाट आए पनि एउटै टिममा उभिन सिकाउँछ ।’
आजको विश्वमा खेलकुदले देश जोड्छ भन्ने वाक्यांश कुनै नारा मात्र नभई, यो व्यवहारमा पुष्टि भइसकेको तथ्य हो । साम्बा, अन्जिला, प्रीति, रेखा सबैले विदेशी भूमिमा नेपालको नाम चिनाइरहेका छन् । इन्डोनेसियामा लामो समय व्यावसायिक फुटबल खेलेका रोहित चन्दको नाम त्यहाँ गर्वसँग लिइँदा नेपालीको शीर उँचो हुने हो । शक्ति गौचनको नाम आइपिएलजस्तो वल्र्ड क्लास इभेन्टसँग जोडिँदा मात्र पनि सिंगो नेपाली समाज गौरवान्वित हुने अवस्था थियो । पछिल्लो समय सन्दीप लामिछाने विश्व मञ्चमा छाउँदा यस्तै अनुभूति भयो ।
नेपाली खेलकुदमा गोल्डेन गर्लका नामले चिनिने सन्तोषी श्रेष्ठले भर्खरै विश्वको प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा पुगेर राष्ट्रिय कीर्तिमान बनाइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भ्यालेन्सियामा नौवटा राष्ट्रिय कीर्तिमान बन्दा सन्तोषी श्रेष्ठ नेपाल भनेर उल्लेख गरेका थिए । ‘समाजलाई एकताबद्ध बनाउने सवालमा म्याराथन अझ प्रभावकारी बन्दै गएको छ । सन्तोषीले वल्र्ड क्लास म्याराथनमा दौडिरहेका बेला नेपाल देखिन्छ, यो नै गर्वको विषय हो,’ वरिष्ठ खेलकर्मी रघु वन्त भन्छन्, ‘रोड रेसको प्रवर्धन गर्न सकियो भने समाज एकढिक्का भइहाल्छ ।’
बिहानी दौड आममान्छेको दैनिकीको पर्याय हो । हरेक बिहानी सामूहिक दौडबाट सुरुवात हुने भएकाले एकता, सद्भाव र भाइचारा यसले समग्र समाजलाई सिकाउँछ । त्यसैले सबै उमेर समूह, लिंग, हरेक जात र धर्म, पेसा र व्यवसाय, सबैले एकैपटक एउटै भूमिकामा रहनसक्ने विधा भनेकै म्याराथन हो । सचेत र सभ्य समाजको पर्याय म्याराथन हो ।
नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसाम्प्रदायिक तथा भौगोलिक रूपमै विविधता भएको देशका लागि खेलकुद केवल मनोरञ्जन होइन, यो राष्ट्रिय एकताको माध्यम हो । जब राष्टिय टिम खेल्छ, जब म्याराथनको स्टार्ट लाइनमा हजारौं धावक उभिन्छन्, सिंगो समाज एकताको सूत्रमा बाँधिन्छ । खेलकुदले मानिसलाई मबाट हामीतर्फ लैजान्छ । विशेषगरी दौडले यो भावना झन् प्रस्ट पार्छ । दौडमा न जात सोधिन्छ न त पद । म्याराथनमा अन्तर्राष्ट्रिय धावक र विद्यार्थी, स्थानीय किसान र वरिष्ठ नागरिक सँगसँगै दौडिरहेका हुन्छन् । यही दृश्यले देखाउँछ, देश जोडिन सजिलो छ, यदि माध्यम सही छ भने । हरेक सहरलाई दौडाउन सकियो भने समाज एकताबद्ध हुँदै जानेछ । नेपालगन्ज म्याराथन, काठमाडौं म्याराथन, पोखरा म्याराथन, काठमाडौं २५के हेरिटेज रेसलगायतले सहरलाई जगाउन खोजिरहेका छन् ।
ओलम्पिक, विश्वकप, सिटी म्याराथनलगायत सबैले राष्ट्रहरूलाई प्रतिस्पर्धासँगै सम्मान र मित्रतामा बाँधेका छन् ।
नेपालमा पछिल्ला वर्षहरूमा बढ्दो म्याराथन संस्कृतिले खेलकुदलाई अभियानका रूपमा अगाडि बढाइरहेका छन् । यी इभेन्टहरू केवल पदक वितरणका कार्यक्रम होइनन्, यी त स्वास्थ्य, पर्यटन, युवाशक्ति, महिला सहभागिता र राष्ट्रिय पहिचानसँग जोडिएका अभियान हुन् । ‘एउटा म्याराथनले स्थानीय अर्थतन्त्र चलायमान बनाउँछ, सहर चिनाउँछ, देशको सकारात्मक कथा विश्वमा पुर्याउँछ,’ नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया भन्छन्, ‘खेलकुदको अर्को ठुलो शक्ति भनेको युवालाई सकारात्मक दिशामा डोर्याउनु हो । जब युवाले खेलमार्फत अवसर देख्छन्, उनीहरू हिंसा, नशा र निराशाबाट टाढा रहन्छन् ।’ खेलकुदले अनुशासन सिकाउँछ, हार स्वीकार्न र जितलाई नम्रतासाथ आत्मसात् गर्न सिकाउँछ । यही गुण मिलेर जिम्मेवार नागरिक तयार हुन्छन् । र जिम्मेवार नागरिकले नै देश जोड्छन् ।
महिला सहभागिताको सवालमा पनि खेलकुद परिवर्तनको माध्यम बनेको छ । दौडिरहेका महिला धावकहरू केवल रेस जितिरहेका हुँदैनन्, उनीहरू सामाजिक सोच तोडिरहेका हुन्छन् । जब छोरीहरूले खेलकुदमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्छन्, त्यो क्षण देश अझ बलियो बन्छ ।
‘म तेक्वान्दोतर्फ आकर्षित नहुँदो हुँ त अहिले चुलो चौका र घाँस दाउरामै हुन्थें’ तेक्वान्दो क्विन संगीना वैद्यले भनेकी छन्, ‘तेक्वान्दोले मलाई आत्मबल दियो, पहिचान दियो, सबल बनाइदियो ।’ संगीना छनोट चरण पूरा गरेर ओलम्पिक जाने पहिलो नेपाली खेलाडी हुन् भने दक्षिण एसियाबाट पहिलो तेक्वान्दो खेलाडी हुन् । संगीनाजस्तै कथा छ, पलेसा गोवर्धनको । पलेसाको एउटा हात सग्लो छैन । बुबाआमाले दुई छोरीमध्ये पलेसाकै बढी चिन्ता गर्थे । विकलांग छोरीको करिअर र जीवनबारे उनीहरू चिन्तित थिए । जब पलेसा तेक्वान्दोमा प्रवेश गरिन् । उनी आत्मविश्वासको सिढी चढ्दै गइन् । अन्ततः ओलम्पिकमा नेपालले पहिलोपटक पदक लेखायो पलेसामार्फत । पेरिस ओलम्पिकमा पारातर्फ कांस्यपदक नेपालको पहिलो अफिसियल ठुलो पदक हो । यसले पलेसालाई सिंगो नेपालकै छोरी बनाइदियो । पढाइमा पनि उत्तिकै अब्बल पलेसा यतिबेला छोरीहरूका लागि रोलमोडल हुन् । अनि करातेकी एरिका गुरुङ नेपाली महिलाहरू माझ अर्को लोभलाग्दो नाम हो । हाङ्झाव एसियाड (२०२२ चीन)मा नेपालका लागि पदक शून्यजस्तो भई निराशा छाइरहेका बेला एरिकाले रजत पदक जितेर देखाइन् । बैंकक एसियाड (१९९८ थाइल्यान्ड)मा तेक्वान्दोकी सबिता राजभण्डारीपछि करिब अढाइ दशकको यात्रामा जितेको सर्वाधिक ठुलो एकल पदक एरिकाकै हो । वास्तविक नेपाली गोल्डेन गर्ल बन्ने लाइनमा एरिका छिन् । अध्ययन, खेलकला र वाककलामा पोख्त २१ वर्षीया एरिका देशविदेशका प्रतियोगितामा बिरलै स्वर्णपदक छुनबाट वञ्चित हुन्छिन् । एरिका र स्वर्णपदक आपसमा पर्यायवाची बन्न थालेको छ । पलेसा, एरिका, साम्बा, इन्दु आमनेपालीले गौरव गर्नलायक खेलाडी हुन् । यिनीहरूलाई त्यो गर्विलो पहिचान खेलकुदले नै दिएको हो । किनकि खेलकुदले युवालाई अनुशासन सिकाउँछ, समाजलाई आशा दिन्छ र राष्ट्रलाई गर्व दिन्छ । यही कारण खेलकुदमा लगानी गर्नु भनेको केवल खेलाडी उत्पादन गर्नु होइन, एकीकृत राष्ट्र निर्माण गर्नु हो ।
खेलकुदले देश जोड्नुको अर्थ केवल भौगोलिक एकता होइन, यो त भावनात्मक, सांस्कृतिक र मानवीय एकता हो । एउटै खेलमा रमाउँदा, एउटै टोलीका लागि ताली बजाउँदा, एउटै लक्ष्यका लागि दौडिँदा, हामी फरकफरक भएर पनि एउटै हुन सक्छौं भन्ने अनुभूति जागृत हुन्छ ।
अब आवश्यक छ, खेलकुदलाई प्राथमिकतामा राख्ने नीति, दीर्घकालीन सोच र सामूहिक प्रतिबद्धता । विद्यालयदेखि समुदायसम्म, स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म खेलकुदलाई जोड्न सकियो भने देश आफैं जोडिन्छ । किनभने खेलकुद केवल खेल होइन, यो राष्ट्र निर्माणको मौन तर शक्तिशाली भाषा हो ।
समय अब यही हो । खेलकुदलाई उत्सव बनाऔं, अभियान बनाऔं र देश जोड्ने साझा सूत्र बनाऔं । भोलि होइन, आजै । किनकि जब हामी सँगै दौड्छौं तब मात्रै साँचो अर्थमा सँगै देश जोड्छौं ।
जब राष्ट्रिय गान बज्छ र खेलाडीहरूले छातीमा हात राख्छन्, त्यो क्षण सम्पूर्ण देश एउटै हुन्छ । नेपाललाई जोड्ने थुप्रै माध्यम होलान् तर खेलकुदजस्तो निष्कलंक र समावेशी माध्यम कमै छन् । क्रिकेट, भलिबल, फुटबल र म्याराथन, यी सबैले फरकफरक ढंगले देश जोडिरहेका छन् । मैदान साझा मञ्च हो, खेलाडी साझा नायक हुन् र राष्ट्रिय झन्डा हाम्रो साझा पहिचान हो । अनि खेलकुद जित हारभन्दा माथि उठेर देश जोड्ने शक्ति हो ।
यो पनि पढ्नुहोस्–
सोमपाल कामी- विभेद चिरेर बनेका गहना
शेख दाजुभाइ- एउटै आँगनबाट विश्व मञ्चसम्म
दीपेन्द्रसिंह ऐरी- सुदूरपश्चिमबाट गर्जिएको बाघ
साम्बा- लमजुङबाट विश्व फुटबलसम्म
गुल्सन झा- सानो उमेर, ठुलो भरोसा
उषा भण्डारी- तनहुँबाट विश्व कोर्टम्मको यात्रा
पूजा महतो- मधेशबाट विश्व क्रिकेटसम्म
पलेशा गोवर्धन- आँटले पूरा गरेको नेपालको सपना
एरिका गुरुङ- करातेले विश्वमा उभ्याएको नेपाल
सन्तोषी श्रेष्ठ- नेपाल चिनाउने ‘गोल्डेन गर्ल’